कास्कीको उत्तरपूर्वी गाउँ मौजाका केशबहादुुर विश्वकर्मा २०१५ सालतिर पोखरा १३, बाँझापाटनमा बसाइँ सरे। पिता दलबहादुर सातसाले कांग्रेस। राणाविरोधी आन्दोलनमा सरिक केशबहादुरको कांग्रेसका सवैजसो नेता तथा २००६ सालको ‘हलो क्रान्ति’ का नायकहरू पण्डित तोयानाथ पौडेल,शेषकान्त–श्रीकान्त अधिकारीहरूसँग पनि सगत थियो। सामाजिक जागरणका कुरा हुन्थे।
त्यो गुण छोरा केशबहादुरमा नसर्ने कुरै भएन। क्रान्तिको राप र तापमा हुर्केका उनीभित्र समाजका लागि केही गरौँ भन्ने भावना थियो।

कमलपोखरीमा हिउँद–बर्खा नै मुल सुक्दैनथ्यो। बर्खामा चाहिँ त्यहाँको पानी कुलो काटेर बाँझापाटन र पट्नेरीको फाँटसम्म पुर्याइन्यो। कतिसम्म भने त्यो पानी अहिले दुईकुलाको मुहान भनिने ठाउँबाट तल झारेर पोखरा १४ को काजीपोखरीसम्म पुग्थ्यो। अहिलेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पछाडि रहेको काजीपोखरी क्षेत्रमा पानीको दुःख थियो।

काजीपोखरी अहिले साँघुरिएको छ। बर्खामा काजीपोखरीमा जम्मा गरिएको पानी नै हिउँदमा सो क्षेत्रमा हुने विहेलगायतका कार्यमा भतेर पकाउन प्रयोग गरिन्थ्यो। काजीपोखरीमा भैंसी आहाल बस्न निषेध गरिएको थियो।
यो त, पानीको कुरा भयो।
‘त्यस्तो कलकल पानी आउने धारानेरको पोखरीमा चाहिँ कमलका फूल फुल्थे। मान्छेहरू नागपञ्चमीको दिन त्यहाँको कमलको पात टिप्न जान्थे। नागको पूजा पनि गर्थे। कमलको पात टिप्न जानेले पोखरीमा ५–१० पैसा फाल्थे,’केशबहादुरले भने,‘त्यहाँ कालीनाग बस्नुहुन्छ। मैले कतिपल्ट नाग देखेको छु। आजकल पनि जुठोपिठो भयो भने देखिन्छन्। पोखरीमा जाँदा केही दख्खल गर्नुभएको छैन।’

अहिले कमलपोखरी भनिने र विश्व रामसार सूचीमा सूचीकृत पोखरीलाई मान्छेहरू बुडुवा भन्थे। बर्खा सुरु हुनुअघि नै वरपरको क्षेत्रमा रोपाइँ हुन्थ्यो। केही पोडे थरका मान्छेहरू त्यहाँ माछा मार्थे। ‘भित्ते माछा’ पाइन्थ्यो।
केशबहादुरले सुने अनुसार काहुँका तत्कालीन मुखिया भीमप्रसाद आचार्यले गौंडाको मुखमा बस्ने मति पोडेलाई वार्षिक ३ रुपैयाँ एक मोहोर लिने गरी माछा मार्नको लागि भाडामा दिएका थिए रे १ मती पोेडेका छोरा गोथे पोडे र नाति इन्द्र पोडेहरू त्यहाँ माछा मार्थे। पछि मान्छेहरू थपिँदै गए। वरपरका मान्छेले पोखरी भएको ठाउँसम्मै धान रोप्न थाले।
पछि ठेकेदारी काम थालेका केशबहादुरलाई यो पोखरी त जोगाउनु पर्छ भन्ने लागेछ। उनले संरक्षणको अभियान थालेछन्।

‘म सी क्लासको ठेकेदार। भगवानले खान–लाउन पुर्याएकै थिए। बुबा समाजको लागि केही गरौँ भन्नुहुन्थ्यो,’उनले भने,‘कसैको आँखा नगरेको ठाउँलाई संरक्षण गर्नुपर्छ भनेर,म दलितको छोरो,दलितसँगै ५–५ रुपैयाँ चन्दा उठाएर संरक्षणको काम थालेँ।
उनले थपे,‘पोखरीको मुखमा पार्टी बनाएँ। त्यसमा पिताको नाममा लेखेको छु। अर्को पार्टीमा आमा पवित्रमाया विश्वकर्माको नाम छ । चौतारा बनाएको छु। यो व्यक्तिगत खर्च हो। पोखरी पुग्ने बाटो बनाएँ, ढलान गरेर। व्यक्तिगत खर्च हो। २५–३० लाख खर्च गरेँ। मेरो मनले जे भन्यो, त्यही गरेँ। पिता–माताको नाम किन लेखेको भने, भोलि म नहुँदा त्यो थोत्रो हुँदा छोरा–नातिले बनाउलान् भनेर।’

केशबहादुरको नेतृत्वका विश्वकर्मा समूहले संरक्षणको जिम्मा लिएपछि कमलपोखरीबारे चासो बढ्न थाल्यो। पहिले कमलपोखरी क्षेत्र १ सय ८६ रोपनी क्षेत्रफललाई नै कमलपोखरी भनिन्थ्यो। तर, व्यक्तिको नाममा रहेको जग्गा व्यक्तिकै हातमा गयो। कमलपोखरीकै नाममा चाहिँ ३८ रोपनी जति जग्गा आयो। अहिले आइपुग्दा चाहिँ कमलपोखरी ३२ रोपनीमा खुम्चिएको छ।
‘राष्ट्रिय सम्पदा हो, जोगाउनुपर्छ भनेर ३० वर्ष पहिला, ४५ सालदेखि नै काम थालेको हो। सुरुमा नगरपालिकासँग १ लाख रुपैयाँ मागेर मोटामोटी नक्सा छुट्याइयो,’केशबहादुर भन्छन्,‘तारबारभन्दा ६ मिटर बाहिर यसको क्षेत्रफल ठहर हुन्छ। नक्सा छुट्याउन धेरै दुःख भयो, किसानले हडप्ने कुरा गर्छन्। पर्यटन विकास होला भनेर नै मैले यो काममा हात हालेको हुँ।’

केशबहादुर ८२ वर्षका भए। जोस उस्तै छ। उनी अहिले पनि कमलपोखरी संरक्षण समितिका अध्यक्ष छन्।
‘यो नागको थान नै हो र कमल यो पोखरीको विशेषता हो,’उनले भने,‘ पछि यहाँको कमल मासिन थाल्यो। रुपातालबाट ल्याएर फेरि जमाएको हो। विश्वकर्मा समुदायले संरक्षण गरे पनि यहाँ हाम्रा कुल वा अन्य देवीदेवताको मूर्ति राखिएको छैन। आउने मान्छेले फूल चढाउन् भनेर मैले पटनाभन्दा अगाडि पर्ने आरा जिल्ला गएर कालिगढ खोजेर ल्याएँ। मेरै घरमा राखेर नाग, राधाकृष्ण र अन्य मूर्ति बनाएर प्राणप्रतिष्ठासहित स्थापना गरिएको हो।’

संरक्षणको लागि २०५१ सालदेखि नै आमा समूहसमेत सक्रिय छ। नित्य पूजाआजाको लागि विश्वकर्मा समुदायकै उज्ज्वल विक पुजारी छन्। २०७९ को चुनावताका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का केशबहादुरकहाँ बास बस्न पुगेका थिए। कांग्रेस कार्यकर्ताकहाँ रात बिताउने गरेका खड्का एक रात दुई दिन त्यहाँ बसेछन्। त्यो बेला केशबहादुरले कमलपोखरीको संरक्षणको कुरा उठाएका रहेछन्।
‘उहाँले नगरपालिकाको मेयरलाई भनेपछि १० लाख रुपैयाँ आएको थियो। गएसाल १८ लाख दिएको थियो। जमिनको लेबल माथिबाट आउने खहरेले खोल्छ भनेर कमलपोखरीको माथिनेर,पारिपट्टि पर्खाल लगाउने काम भयो,’उनले भने,‘वडाले पनि सहयोग गरेको छ।’

पोखरा १३ का वडाध्यक्ष किरण बरालका अनुसार कमलपोखरीलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन संरक्षण एवं विकासका योजनसहित बजेट विनियोजन गरिएको छ। पछिल्लो समय सो क्षेत्रमा बसेको बस्ति पानी पर्नासाथ डुवानमा पर्ने गरेको बताउँदै उनले डुवानको समस्या समाधानको लागि पनि काम भइरहेको जानकारी गराए।
त्यसको लागि बहुवर्षीय योजनाअन्तर्गत ८ करोड विनियोजन भएको उनको भनाइ छ।
कमलपोखरी संरक्षण समितिका सचिव तिलबहादुर सुनारका अनुसार कमलपोखरी खासमा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र हो। संरक्षणको जिम्मेवारी चाहिँ केशबहादुरको पहलमा विश्वकर्मा समूहले लिइरहेको छ।

संरक्षणको लागि चौकीदारको व्यवस्था पनि गरिएको छ। दैनिक पूजाको लागि १ लाखको अक्षयकोष स्थापना गरिएको छ।
सीमसार क्षेत्र भएकाले यहाँ घुमन्ते चराहरू पनि आउँछन्। नागपञ्चमीको दिनमा कमलको पात टिप्न आउने र पूजा गर्नेहरूको भीड लाग्छ। पोखरा सम्भवत सबैभन्दा धेरै नागको थान भएको सहर हो। यहाँ नागढुंगा भन्ने ठाउँ नै छ भने सहरका विभिन्न भाग र व्यक्तिगत जग्गामा पनि नागको थान बनाइएको छ।
कमलपोखरी चाहिँ पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा छ।
Shares

प्रतिक्रिया