गण्डकी


गण्डकी प्रदेशसभाको आठौँ अधिवेशन सुरु

गण्डकी प्रदेशसभाको आठौँ अधिवेशन सुरु

नेपालखबर
जेठ ११, २०८२ आइतबार २०:२६, पोखरा (कास्की)

गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ।

बैठकको सुरुमा गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए।

यसपछि शून्य समयमा प्रदेशसभा सदस्यहरूले बर्सात् नजिकिँदै गर्दा सम्भाव्य प्राकृतिक प्रकोपबारे बेलैमा सचेततासँगै पूर्वतयारी गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।

प्रदेशसभा सदस्य टीकाकुमारी बस्यालले गण्डकीमा एउटा जिल्ला तराईबाहेक सबै पहाडी र हिमाली जिल्ला रहेकाले सम्भाव्य प्राकृतिक जोखिमका सम्बन्धमा बेलैमा सचेत हुनुपर्ने बताए। सदस्य डिल्लीराम सुवेदीले जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगत ३० वर्षभन्दा ठूलो परिणाममा वर्षा हुने भनेको सन्दर्भमा समयमा नै विपद् जोखिमबाट बच्ने गरी अतिरिक्त व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रदेशसभा सदस्य विकल शेरचनले पनि हिमाली जिल्लामा हुने जोखिमको पूर्वआकलन गर्न जरुरी भएको बताए। विगतमा कागबेनीमा आएको बाढी यसैको परिणाम भएको भन्दै उनले यसतर्फ सचेत बन्नुपर्ने धारणा राखे।

प्रदेशसभा सदस्य प्रकाश बरालले गत वर्ष फेवाफाँटको धानमा लागेको गबारोका कारण रु एक करोड २८ लाख बराबरको क्षति व्यहोरोका किसानहरू अझै पनि राहतको आशामा रहेकाले त्यसको सम्बोधन हुनुपर्नेमा जोड दिए। किसानले यस वर्ष बीउ राख्ने वा नराख्ने भन्दै उनले अन्योलमा रहेकाले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराए।

प्रदेशसभा सदस्य पञ्चारम गुरुङले हालै वर्षाका कारण स्याङ्जाको आँधी खोलास्थित जुग्लेबजारमा क्षति भएको उल्लेख गर्दै यहाँका १०-११ घर उच्च जोखिममा भएकाले बस्तीलाई जोखिमबाट जोगाउन ध्यानाकर्षण गराए।

शून्य समयमा प्रदेशसभा सदस्यहरू अशोककुमार श्रेष्ठ, देवका पहारी, नन्दकला दमै, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, भोजराज अर्याललगायतले विभिन्न समसामयिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad