गण्डकी


यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम

यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८२ बुधबार ११:५९, पोखरा

‘प्रिमनसुन’ अवधिमा भइरहेको वर्षाले यस वर्ष गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन्। गत वर्ष वैशाख तेस्रो सातासम्ममा यहाँका चार सय ६७ स्थानमा डढेलो लागेकामा यस वर्ष हाससम्म  एक सय ९६ स्थानमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ। निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाका अनुसार यस वर्ष झण्डै २३ सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। 

गत वर्ष डढेलोबाट आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो। डढेलोको उच्च जोखिम हुने समयमा वर्षा भएपछि डढेलो नियन्त्रण गर्न सहज भएको वन अधिकृत थापाले बताए। ‘सुख्खा याम लम्बिँदा डढेलोका घटना धेरै बढ्ने हुन्छ, यो वर्ष पानी परिरहेकाले त्यो अवस्था आएन, डढेलोबाट हुने क्षति कम भयो, प्रदुषण पनि व्यापक हुन पाएन,’ उनले भने। 

यो वर्ष सबैभन्दा बढी नवलपुरको ३७ स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिनुभयो । सबैभन्दा कम मुस्ताङ र मनाङका एक÷एक स्थानमा डढेलो लागेको हो। गोरखाका ३४, म्याग्दीका २८, कास्कीका २७, लमजुङका २१, स्याङ्जाका १७, तनहुँ र पर्वतका १२÷१२ र बागलुङका छ स्थानमा डढेलो लागेको हो। डढेलोबाट गौशला, घरगोठ, काठ र रूखबिरूवामा क्षति पुगेको वन निर्देशनालयले जनाएको छ। 

डढेलो लाग्दा वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आँकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए। ‘डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा धनजनकोसमेत क्षति हुने गरेको छ’, उनले भने। डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्याउने उनको भनाइ छ। 

फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको छ। गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो लाग्ने गरेको छ। हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको वन अधिकृत थापाले बताए।

मानवीय कारणले नै डढेलो लाग्ने गरेको उनको भनाइ छ। ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको उनले बताए। पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढ्ने गरेको बताइन्छ।आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको छ। डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा पनि भूमिका खेल्ने गरेको विज्ञहरू बताउँछन्।

डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको छ। डढेलोले भू–क्षय, बाढी जस्ता प्राकृतिक विपतका घटना पनि बढाउने गरेको छ। डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा तथा बुट्यान सखाप पार्ने गरेको छ। 

डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुनसक्ने कानुनी प्रबन्ध रहेको छ। डढेलो लगाउने व्यक्तिका बारेमा सूचना दिने व्यक्तिलाई उसले बुझाएको जरिवानाको १० प्रतिशत पुरस्कार पाउने व्यवस्था रहेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad