गण्डकी


रवि लामिछानेले जेलरसँग भने– ए, त्यहाँ पनि मेरो पेसी परेछ!

रवि लामिछानेले जेलरसँग भने– ए, त्यहाँ पनि मेरो पेसी परेछ!

फाइल फोटो


नेपालखबर
जेठ ४, २०८२ आइतबार २१:१०, पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उच्च अदालत पोखरामा आफूविरुद्ध परेको उजुरीबारे अनभिज्ञता प्रकट गरेका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरण, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको आरोप झेलिरहेका र ६५ लाख रुपैयाँ धरौटीमा कास्की कारागारबाट तारेखमा रिहा भएका रविले उच्च अदालत पोखराले पठाएको पेसीसम्बन्धी पत्र बुझ्न इन्कार गर्दै पेसीबारे नै अनभिज्ञता जनाएका हुन्। 

जबकि जिल्ला अदालत कास्कीले पुस २५ गते गरेको ६५ लाख धरौटी बुझाइ तारेखमा छाड्ने फैसलाविरुद्ध उनी स्वयं माघ १४ गते उच्च अदालत पोखरा पुगेका थिए। त्यसो त,उनीसहित सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा रिहा गर्ने निर्णयविरुद्ध पुस २९ गते नै जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि उच्च अदालत पोखरामा निवेदन दर्ता गराइसकेको थियो।

सोही निवेदनउपर ४ पटक पेसी सरेपछि जेठ १ गते बिहीबार बहस सुरु भएको थियो। तर, जेठ २ गतेको बहसको क्रममा रविपक्षीय वकिलले पेसीबारे प्रतिवादी अर्थात् रवि लामिछानेलाई जानकारी नै नदिएको भन्दै इजलासमै आपत्ति जनाएका थिए। सो आपत्तिपछि उच्च अदालतका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले पेसीबारे पूर्वडीआइजी छविलाल जोशी र रवि लामिछानेलाई जानकारी गराउन आदेश दिएको थियो।

सो आदेशपछि उच्च अदालत पोखराले जेठ ४ गते आइतबार रुपन्देही कारागारमा रहेका रवि र छविलाई पेसी चढेको जानकारीसहितको पत्र पठाएको थियो। पत्र लिएर रुपन्देही कारागारका प्रमुख सुरेश भण्डारी आफैं रवि र छविलाई थुनामा राखिएको ब्लकमा पुगेका थिए।

‘मैले उहाँहरूलाई बिहान १०:०५ बजेतिर उच अदालत पोखराबाट आएको पत्रबारे जानकारी दिएँ,’ कारागार प्रमुख भण्डारीले नेपालखबरसँग टेलिफोनमा भने,‘ उहाँ (रवि) ले ए त्यहाँ पनि मेरो पेसी परेछ ,ल म मेरो कानुन व्यवसायीसँग कुरा गर्छु भन्नुभयो।’

भण्डारीका अनुसार उनी पत्र बुझेको जवाफ आउला भनेर ११ बजे सम्म कुरेर बसे। तर, जवाफ आएन।

‘उहाँहरूले हस्ताक्षर गरेर नदिएपछि, कुनै जवाफ नदिएपछि मैले उच्च अदालतलाई लेखेर पठाएँ। त्यसपछि म उहाँको ब्लकमा गएको छैन।’

कारागार प्रमुख भण्डारीका अनुसार जेलमा रविको अधिकांश समय पढेर नै बित्ने गरेको छ।

‘उहाँले भलादमीपन नै देखाउनुभएको छ। उहाँले भन्दा पनि हामीले राम्रो व्यवहार गर्ने हो।  त्यस्तो केही छैन,’उनले भने,‘ उहाँहरू अधिकांश समय पढेर नै बिताउनुहुन्छ।’

रवि र छविले पत्रको जवाफ नदिएपछि  उच्च अदखालत पोखराको आइतबारको इजलासले पत्र बुझ्न इन्कार गरेको हो वा अन्य के कारणले हो रु भन्दै त्यसको जानकारी गराउन पनि आदेश दिएको छ।

आदेशमा भनिएको छ,‘२०८२। ०२। ०४ गते बिहान ११ बजेसम्म निज प्रतिवादीहरूको हस्ताक्षर नभएको भन्ने व्यहोरा उल्लेख भएको देखिँदा निज प्रतिवादीहरू (रवि लामिछाने र छविलाल जोशी)ले यस अदालतबाट पेसीको जानकारी गराइएको पत्र बुझ्न इन्कार गरेको कारण सो हस्ताक्षर नभएको होस् वा अन्य के व्यहोराबाट हस्ताक्षर नभएको हो? सोही व्यहोराको प्रतिवेदनसहितको जानकारी गराउनू र पेसीको जानकारी निज प्रतिवादीहरूले बुझेको भए भरपाइ पठाइदिनू भनी कारागार कार्यालय, रुपन्देहीमा लेखी पठाइ प्राप्त भएपछि मिसिल सामेल राख्नू।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad