पोखराको लामाचौरस्थित इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन्।
मंगलबार सम्पन्न तथा बुधबार भएको गणनामामा मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी संगठनलाई पाखा लगाउँदै उनी अध्यक्षमा चुनिएका हुन्।
उनले ७ सय १६ मतसहित विजयी हासिल गरे। अनेरास्ववियुका अनुप न्यौपानेले ४ सय ४९, नेपाल विद्यार्थी संघका सौगात पण्डितले ३ सय ४६ र अखिल क्रान्तिकारीका आदर्श महत क्षेत्रीले १ सय ७८ मत प्राप्त गरे।
सचिवमा अखिल क्रान्तिकारीका हरिकृष्ण खड्का नौ सय २१ मतका साथ विजयी भए। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका विनायक भुवांजीले सात सय चार मत प्राप्त गरे। इन्जिनियरिङ क्याम्पसमा सचिव पदमा नेवि संघको मनोनयन थिएन।
उम्मेदवारी दर्ताका दिन नेवि संघको दुुई गुटका कारण सचिव पदमा प्रशान्त जोशीको मनोनयन भए पनि नेवि संघले मनोनयनपत्र च्यातिदिएपछि समस्या आइलागेको थियो। क्याम्पस इकाइ समितिले सचिवविनै निर्वाचनमा जाने भएपछि नेवि संघले अनसनसहित विरोध गरेको थियो।
मतदानको दिन क्याम्पसमा तालाबन्दी गरे पनि निर्वाचन कमिटीले मतदान जारी राखेको थियो। यस्तै स्ववियुको कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सशिष सापकोटा विजयी भए। उनले ६ सय ९९ मत प्राप्त गरे। अनेरास्ववियुका रोहितकुमारले पाँच सय ८७ र नेविसंघका रस्मिताकुमारी झाले तीन सय ६६ मत प्राप्त गरिन्।
सदस्यतर्फ अनेरास्ववियुका पाँच, नेवि संघ र क्रान्तिकारीका एक–एक जना निर्वाचित भए। अनेरास्ववियुका अश्रान्त महारी, पूर्णिमा अछामी, अंकित गैरे, अमृत बस्नेत र रुपेश पौडेल निर्वाचित भए भने नेविसंघका सक्षम भण्डारी र क्रान्तिकारीका निकिता पाठक विजयी भए।
अध्यक्षमा स्वतन्त्र विजयी भएपनि अन्य पदमा भने अनेरास्ववियुको बहुमत रहेको छ। कुल दुई हजार ४१ जना मतदाता रहेका थिए। अश्रान्त पहारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिट बक्स सुनाउने गायक हुन्।
Shares

प्रतिक्रिया