गण्डकी


देशकै ठूलो पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित, गेटमा ताला

देशकै ठूलो पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित, गेटमा ताला

नेपालखबर
चैत ५, २०८१ मंगलबार २०:५६, पोखरा

निर्वाचन समितिको सानो त्रुटिका कारण देशकै ठूलो पृथ्वीनारायण क्याम्पसको स्ववियू निर्वाचन अनिश्चिततातर्फ धकेलिएको छ। त्रुटि हुनुमा षड्यन्त्र भएको भन्दै अखिल (छैठौं)सहितका विद्यार्थी संगठनले क्याम्पस गेटमा तालाबन्दी गरेपछि निर्वाचन अनिश्चित बनेको हो।

निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले साँझ सूचना जारी गर्दै अखिल (छैठौं)ले साँझ ७ बजे क्याम्पस गेटमा तालाबन्दी गरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउन बाधा उत्पन्न भएकाले निर्वाचन प्रक्रिया रोकिएको जानकारी गराएका हुन्। 

निर्वाचन अधिकृत पोखरेलबाट जारी विज्ञप्तिमा सर्वपक्षीय छलफलपछि निर्वाचनको मिति तय गरिने उल्लेख छ ।

पीएनमा मंगलबार बिहानसम्म निर्वाचनकै माहोल थियो। विद्यार्थी संगठनहरू मत माग्न व्यस्त थिए भने विद्यार्थीहरू मतदानको लागि तम्तयार थिए। समानुपातिकतर्फको मतपत्रमा अखिल (छैठौं) को तर्फबाट अध्यक्षका उम्मेदवार मिलन सुनारको निम्ति मतदान गर्ने चिन्हको पछाडि  कोठा नै छुटेपछि मंगलबारको मतदान कार्यतालिकामा अवरोध भएको थियो।

बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका भए पनि त्रुटिकै कारण  मतदान सुरु नै  हुन सकेन। सर्वदलीय बैठकपछि नयाँ मतपत्र छपाइ गर्ने भनियो तर त्यसको लागि समय लाग्यो। निर्वाचन अधिकृत प्रडा रामचन्द्र पोखरेलले सूचना जारी गर्दै मतदान स्थगित भएको र बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने जानकारी गराएका थिए।

‘पृथ्वीनारायण क्याम्पस, पोखरा मतदान केन्द्रमा स्ववियुको निर्वाचन आज मिति २०८१।१२।०५ गते विहान ८ बजे मतदान सुरु गर्ने प्रक्रियामा प्रत्यक्षतर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैठौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्ववियु निर्वाचन समिति गम्भीर रुपले आत्मआलोचित भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारको प्रतिनिधिहरूको रायबमोजिम उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाइ गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएको हुँदा उक्त मतदान कार्य मिति २०८१ साल चैत्र ६ गते बुधबारका दिन विहान ८ बजेदेखि सुरु हुने जानकारी गराइएको छ।’

विज्ञप्तिमा मतदान गर्ने कार्यमा सहयोग गरिदिनु सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारहरु एवं विद्यार्थी मतदाताहरूलाई अनुरोध पनि गरिए पनि विरोधमा उत्रिएका विद्यार्थी संगठनले भने त्यसमा षड्यन्त्रको गन्ध भएको आरोप लगाए। अखिल (छैठौं)को नेतृत्वमा क्याम्पस गेट अगाडि टायर बालेर विरोध प्रदर्शनमात्र भएन, विज्ञप्तिमार्फत निर्वाचन समितिले राजीनामा दिनुपर्ने माग पनि गरियो।

साँझ त, निर्वाचनमा भाग लिएको संयुक्त प्यानलसहित अखिल (छैठौं), नयाँ शक्ति विद्यार्थी युनियनले क्याम्पसको गेटमा तालाबन्दी नै गरिदिए।

संयुक्त प्यानलले तालाबन्दीपछि निकालेको विज्ञप्तिमा ‘विद्यार्थी संगठनहरूको छलफल बिना नै एकाएक दिउँसो तीन बजे अप्रत्याशित ढंगले भोलि चैत ६ गते बिहान ८ बजेबाट सुचारु गरिनेछ भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण तथा केटाकेटीपना देखेर अचम्मित भएका छौँ’ भनिएको छ।

विज्ञप्तिमा मौन अवधि उल्लंघन गरेकालाई कारवाहीसहित निर्वाचनको नयाँ तालिका सार्वजनिक गर्न माग गरिएको छ भने दोषीमाथि कारबाही गर्न भनिएको छ ।

‘यस्तो अविश्वास, छलकपटपूर्ण र बारम्बार निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि मुकदर्शक बनेर बस्ने घटनाले थप षड्यन्त्रको गन्भ आएको प्रष्ट देखिन्छ। त्यसैले निर्वाचन समितिले शान्तिपूर्ण, भयरहित र प्रभावरहित, निष्पक्ष निर्वाचनको लागि जोडदार माग गर्दछौँ,’विज्ञप्तिमा भनिएको छ।

अहिलेको निर्वाचनमा कमल सुवेदी र विप्लपी न्यौपाने स्वतन्त्र उम्मेदवार बनेका छन् भने बाँकी ६ जना विद्यार्थी संगठनबाट उम्मेदवार छन्।

एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल (छैठौं)बाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन्। 

समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेकाबाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवार पनि चुनावी मैदानमा छन्। क्याम्पसमा ९ हजार २७० मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad