गण्डकी


कोटीहोमको नाममा विजय भण्डारीको अराजक खेल!

कोटीहोमको नाममा विजय भण्डारीको अराजक खेल!

वाशुदेव मिश्र
फागुन २३, २०८१ शुक्रबार २३:१०, पोखरा

बालेश्वर महाराज/विजय कृष्णमूर्तिका नामले चिनिने विजय भण्डारीको विगत राम्रो छैन। ठगीको आरोप प्रमाणित भएपछि कैद सजाय भोगेका र शंकास्पद रूपले पीडित पक्षलाई प्रभावमा पार्दै छुटकारा पाएका यी 'कथित धर्मगुरु'को चरित्र छर्लंगै छ।

केही समय अघिदेखि पोखरामा डेरा जमाएका उनले शुक्रबार जे गरे, त्यसलाई अराजकता, गुन्डागर्दी र अतिवादी सोचको पराकाष्ठा भएको उनका गतिविधिले पुष्टि हुँदै गएको छ।

घटना विवरणभन्दा पहिला उनको जीवनशैलीको कुरा गरौं। डरलाई जितेर आफैंमा मग्न हुनेलाई जोगी महाराज भनिन्छ। भेषचाहिँ यिनको साधुकै छ तर यी कथित महाराज पोखरा-९ को शिवचोकमा कडा सुरक्षा घेराभित्र बस्छन्।

बाहुबलीको घेराभित्र बस्ने उनलाई जोकोहीले भेट्न पाउने कुरै भएन। सञ्चार माध्यममा समाचार पठाउने, अन्तर्वार्ताको तारतम्य मिलाउने र विज्ञापनको माखेसाङ्लो निर्माण उनको सचिवालयले गर्छ।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा यी विजय नै हर्ताकर्ता रहेको मानवसेवा फाउन्डेसनले आगामी वैशाखको १७ देखि जेठ २६ गतेसम्म 'श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ' आयोजना गर्ने घोषणासहित पोखरा आएका विजयले केही अतिवादी/अवसरवादीलाई पनि हात लिएका छन्। त्यसमा विश्व हिन्दु महासंघका उपाध्यक्ष तथा राप्रपाका नेता शंकर खराल अग्रपंक्तिमा छन्।

पोखराको पालिखेचोकको पूजा सामग्री पसलबाट सुरु भएको सम्बन्धबाट खराल अहिले विजय भण्डारीको प्रवक्ताजस्तै देखिएका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्म पहुँ भएको दाबी गर्ने खरालले शुक्रबार पोखरा महानगरका प्रवक्ता मोतीराज तिम्सिनालाई 'उडाइदिने' धम्की दिएका छन्।

र, त्यो धम्की दिनुको पृष्ठभूमिमा उनै विजय भण्डारी छन्।

यसअघि गएको साउनमा पशुपतिमा विवादित कोटीहोम सम्पन्न गरेका विजय भण्डारीले धर्म बिक्ने पोखरामा आँखा लगाए। दैनिक हजारौं पर्यटक आउने बाराही मन्दिर अगाडिको घाटमा रहेको खाली जग्गामा धर्मको व्यापार' राम्रो चल्छ भन्ने बुझेका उनले नेपाल ट्रस्टसँग जग्गा भाडाको सम्झौता गरे।

४८ रोपनी जग्गाको ११ लाख ५९ हजार रुपैयाँ भाडा तिरे। रसिद लिए। पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखराले पनि किन्तु-परन्तु भनेन। कोटीहोम सञ्चालनको लागि सहमति प्रदान गर्‍यो।

कतिसम्म भने, धर्मको गुलियोमा भुलेर पोखरा महानगरपालिका वडा नं ६ कार्यालयले पनि मंसिर ९ गते कोटीहोमको लागि अनुमति  दियो। कागजले विजयलाई बलियो बनायो।

त्यसपछि चाहिँ उनको टोलीले 'कोटीहोमको समिदा' भन्दै पोखराका चौतारामा रहेका बरपिपल र समीको रुखमा बन्चरो चलायो। गुँड बनाउन तम्सिएका चराहरूको चिल्लीबिल्ली भयो। वातावरणवादीको मन कुँडियो। बेपर्वाह महानगर बल्ल जाग्यो।

स्रोतका अनुसार, मेयर धनराज आचार्य कोटीहोम आयोजनाप्रति सकरात्मक नै थिए। महानगरले घोषणाको तयारी गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सघाउने भन्दै विजय भण्डारीले मेयरलाई मनाएका थिए। तर, चैतारा काटिएपछि चाहिँ उनी कडा सुनिए। माघ २० को कार्यपालिका बैठकबाट बाराही घाटमा महायज्ञ गर्न नै नदिने निर्णय मात्र गराएनन्, काटिएका सबै दाउरा जफत गरे।

नेपाल ट्रस्टलाई कोटीहोमको लागि जग्गा भाडामा नदिन पत्रसमेत काटे। तर, ट्रस्टले आफ्नो स्वामित्वमा रहेको जग्गा भाडामा दिन महानगरलाई सोध्न नपर्ने उत्तर दियो।

मानव सेवा फाउन्डेसनले अदालत गुहार्‍यो। कोटीहोमको तयारी भइसकेको भन्दै नेपाल ट्रस्टको पत्र अदालत पेस गर्‍यो। उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलाशले फागुन १ गते विपक्षी पोखरा महानगरका नाममा अन्तरिम आदेश जारी गर्दै कोटीहोम नरोक्न भन्यो।

कोटीहोम रोक्न माग गर्दै अधिवक्ता भगवती पराजुलीसहितले फागुन २ गते उच्च अदालत गुहारे। र, यहीबीच उच्चको आदेशमा असहमति जनाउँदै महानगरले भ्याकेट निवेदन पनि दियो। त्यसपछि सुनुवाइ भएका इजलासले पुरानै आदेशमा सहमति जनाए, अन्यथा गरिरहनु नपर्ने भन्दै। 

उच्च अदालतका न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र रमेश कोइरालाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो।

हुन त यस विषयलाई अग्राधिकार दिएर सुनुवाइका लागि पेस गर्न पनि उक्त इजलासले भनेको छ। तर, फागुन १९ गतेको आदेशपछि विजय भण्डारी झनै उत्साहित छन्। र, बिहीबार अर्को घोषणा गरेका छन्- शुक्रबार कोटीहोम स्थलको भूमिपूजा गर्ने!

विजय भण्डारी उपद्रो र अराजकता चाहन्छन् भन्ने  त उनको 'धर्मको नाममा अधर्म गर्न पछि नपर्ने' अभिव्यक्तिले नै छनक दिएको थियो। तर, यति उत्ताउलो र अराजक बन्लान् भन्नेचाहिँ थिएन। उनले शुक्रबार गर्नु नगर्नु गरे।

कोटीहोमको आयोजना र ठाउँको विवाद अदालत पुगेको छ। अदालतले महानगरको भ्याकेट निवेदनले मागेअनुरुप रोक्ने आदेश नदिएको हो तर  फैसला नै गरेको हैन। अग्राधिकार दिँदै 'छिटो टुंग्याउनुपर्ने' भन्नुको मतलब मुद्दा विचाराधीन छ र यसमा उठाइएको विषय गम्भीर छ भनेको हो। अदालतमा विचाराधीन मुद्दालाई नजरअन्दाज गर्नु र त्यसलाई प्रभावित पार्न खोज्नु अदालतको अवहेलना अनि प्रचलित कानुनको खिलाफ हो। कानुनविद्हरू यसै भन्छन्।

फागुन २६ मा यस मुद्दाको पेसी तोकिएको छ। तर मुद्दाको फैसला नहुँदै उनले नेपाल पञ्चांग निर्णायक समितिले दिएको साइत भन्दै हतियारधारी जत्थासहित भूमिपूजनको नाटक मञ्चन किन गरे? किनकि, उनी कानुन मान्दैनन्। अराजकता चाहन्छन्।

विजय भण्डारीले भूमिपूजनअघि नै हतियार नचाए। हतियार प्रदर्शन गरेर उनको झुन्डले सुरक्षा व्यवस्थामाथि नै धावा बोल्यो। 

फलामको रडदेखि बेतको लौरो, ढुंगा, चक्कुसम्म नचाइयो। ८ जना नगर प्रहरी बेस्सरी कुटिए। मानव सेवा फाउन्डेसनतर्फका पनि केही घाइते भए। हतियारसहितको भीड जम्मा गरेर बितन्डा मच्चाएपछि विजयले हिन्दु अतिवादीलाई उचाले। उनकै इशारामा शनिबार पत्रकार सम्मेलन आयोजना हुँदै छ। विजयको अभियानमा केही पर्यटन व्यवसायी पनि सामेल छन्।

कता छन् सद्भावीहरू?
विजय भण्डारीले पोखरामा धर्मको नाममा अराजकता मच्चाइरहँदा हिन्द्सँगै जोडिएका धार्मिक संघ/संस्था र धर्मगुरुहरू मौन छन्।

कतिसम्म भने आफूलाई कृष्णमूर्ति बताउने विजयसँग सोधिएको छैन- श्रीमद्भागवत् गीताको ११ औं अध्यायको २६औं श्लोकमा श्रीकृष्णले 'वृक्षहरूमा म पिपल हुँ' भनेका छन् तर किन पिपल काटेको?

प्रशासनको आँखैमुनि अराजकता
कास्कीमा बसेर विजयले जे गर्दै छन्, यहाँको प्रशासन र सुरक्षा निकायलाई थाहा छ। तर, त्यो संयन्त्र रमितेजस्तो बनेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले महानगरले स्वीकृति नदिएको ठाउँमा कोटीहोम हुँदैन भन्ने सार्वजनिक अभिव्यक्ति दिएका त छ्न् तर उनी पनि अदालतको फैसला कुर्दैछन्।

प्रजिअले चाहेमा विजयमाथि शुक्रबारकै घटनालाई आधार बनाएर कारबाही गर्न सकिन्छ। तर धर्मको आड लाग्ने नेता र उच्चपदस्थहरू विजयकै पक्षमा छन्।

विजयले साम, दाम, दण्ड, भेद सबै अस्त्र प्रयोग गर्न सक्छन्। त्यो कुरा उनले व्यवहारबाटै पुष्टि गरेका छन्। नत्र अरू भए सार्वजनिक ठाउँमा हतियार देखाउँदा के हुन्थ्यो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad