गण्डकी


२८ वर्षमै मिर्गौला फेल भएकी सोबितालाई सहयोग गर्दा श्रीमती सम्झेर भावुक भए चन्द्रकृष्ण

२८ वर्षमै मिर्गौला फेल भएकी सोबितालाई सहयोग गर्दा श्रीमती सम्झेर भावुक भए चन्द्रकृष्ण

स्व. लक्ष्मीसुन्दरी कर्माचार्य मिर्गौलापीडित सहयोग कोषका तर्फबाट गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सहयोग रकम हस्तान्तरण गर्दा भक्कानिएकी सोबिता परियार, दायाँ छेउमा चन्द्रकृष्ण कर्माचार्य।


वाशुदेव मिश्र
फागुन ४, २०८१ आइतबार ९:३९, पोखरा

चन्द्रकृष्ण कमाचार्य। पोखराका सफल उद्योगी। कर्मचार्य हाउसका अध्यक्ष चन्द्रकृष्णसँग अहिले आफैँले सिर्जेको कोसेली तेल, बिस्कुट,चकलेट, आइसक्रिम, दूधदेखि चामलसम्मका उत्पादन छन्।

‘ब्रान्ड’ बनेका ती उत्पादनले उनलाई नाम र दाम दुवै दिएका छन्। भक्तपुरमा जन्मेर पोखरालाई कर्मथलो बनाएका चन्द्रकृष्णले यो यात्रा तय गर्न बेस्सरी पसिना बगाएका छन्। कैयौँको हेय भाव र धोका सहेका छन्। सबैभन्दा बेसीचाहिँ परिवारबाटै मनग्ये सहयोग पाएका छन्।

सहयोगको कुरा पछि गरौँला। एकछिन पुर्खाको पौरखको कुरा गरौँ न!

पितापुर्खाको पुरोत्याइँले घर-व्यवहार नधानिएपछि पिता जगतकृष्णले बिस्कुट पोल्ने पेसा रोजे। उनी बिस्कुट बेच्न भक्तपुरबाट पनौतीसम्म पुग्थे रे। बिस्कुटको व्यापार धादिङ,गोर्खातिर हुन्छ भन्ने साथीको भनाइ मान्दै बिस्कुटको भारीसहित चारभन्ज्याङ् कटेका जगतकृष्ण धादिङ-गोर्खा-लमजुङ हुँदै पोखरा छिरेछन्।

नालामुखमा बिस्कुट पोल्दापोल्दै रानीपौवामा किराना पसल खोल्न पुगेका जगतकृष्णले आमा र श्रीमतीसँगै भक्तपुरमै रहेका जेठा छोरा चन्द्रकृष्णलाई पनि पोखरा बोलाए। चन्द्रकृष्णको पालो आयो। उनले पसल धाने। कलेज पढे। कलेज पढ्दपढ्दै मास्टरी पनि गर्न भ्याए।

कालान्तरमा व्यापार र उद्योग नै रोजे र सफल बने। पढेलेखेका चन्द्रकृष्णलाई सफल बनाउन भाइहरूले त सघाए नै, सबैभन्दा बढी धर्मपत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको हात रह्यो।

ठिमीको बालकुमारीमा २००८ जेठ १४ गते जन्मेकी लक्ष्मीसुन्दरीसँग चन्द्रकृष्णको प्रेम अंकुरायो। २०२५ सालको असारमा त चन्द्रकृष्णले लक्ष्मीसुन्दरीलाई डकोटा विमान चढाएर पोखरा ल्याए। रानीपौवामा रहेको निवासमा भित्र्याए। संघर्षका दिन थिए। पिताले महेन्द्रपुलमा छोराको लागि जुत्ता पसल खोलिदिए। चन्द्रकृष्ण दिनभर पसल हेर्थे। लक्ष्मीसुन्दरी उनलाई सघाउँथिन्।

व्यापार फस्टाउँदै गयो। डेराबाट छुट्टी लिएर पोखराको नयाँबजारमा आङ लुकाउने घर बन्यो। घर बनाउँदा पनि चन्द्रलक्ष्मीले कम्ता मिहिनेत गरिनन्! बुबाले किनेको घडेरी हो। २०२६ सालको अन्त्यतिर सो जग्गामा घर बनाउन थालियो। 

‘त्यतिबेला उनी सात/आठ महिनाकी गर्भिणी (छोरा माइकल पेटमा) थिइन्’, चन्द्रकृष्ण ती दिन सम्झँदै भन्छन्,‘तर पनि उनी घरको जग खन्ने, जगको माटो उठाएर बाहिर ओसार्ने काम गर्थिन । घर निर्माण सम्पन नभएसम्म सो कार्यमा निरन्तर लागि परिन्।’

चन्द्रकृष्णका अनुसार लक्ष्मीसुन्दरीले घरगृहस्थीका सबैजसो काम गरिन्। कपडा सिलाइन्, तरकारी उब्जाइन्। समग्रमा चन्द्रकृष्ण र परिवार सम्हालिन्। चन्द्रकृष्णका लागि आफूभन्दा एक वर्ष कान्छी लक्ष्मीसुन्दरी सबैथोक थिइन्। मनमा अगाध प्रेम र श्रद्धा थियो। दुर्भाग्य! सबैभन्दा मन पराएको मान्छेलाई अकस्मात् रोगले समात्यो।

चन्द्रकृष्णका अनुसार ४५ वर्षको उमेरतिर लक्ष्मीसुन्दरीमा पाठेघरको समस्या देखियो। डाक्टरकै सल्लाहमा औषधि खुवाइयो। पछि शल्यक्रिया गरी पाठेघर नै फालियो। तर पनि रोगले छाडेन। बरु, मिर्गौलातिर सर्‍यो।

धनसम्पत्तिको कमी थिएन। उनले सक्दो गरे । देश-विदेशका महँगा अस्पताल पुर्‍याए। मै हुँ भन्ने डाक्टरमार्फत उपचार गराए। अहँ! रोगले छाड्न मानेन। खानपानमा सुधार, व्यायाम र बिहानको हिँडाइले केही त भयो तर भनेजस्तो के हुन्थ्यो र?

‘२०८० असोज महिनादेखि हेमोडायलासिस गर्नुपर्‍यो। डायलासिसका क्रममा खुट्टाको पिँडौलाको मासु फर्कने, टाउको तथा पेट दुख्ने र ज्वरो आउने हुनाले उनलाई सहन गाह्रो भयो’, चन्द्रकृष्णले पीडाका दिन सम्झँदै भने, ‘सन् २०२३ मा थप उपचारका लागि इटरनल हस्पिटल,जयपुर पुग्यौँ। २६ डिसेम्बर, २०२३ मा अपरेसन भयो तर अत्यन्तै दुर्भाग्यको कुरा अपरेसन सफल भए पनि रक्तश्राव रोकिएन। ८ जनवरी, २०२४ मा मेदान्ता हस्पिटल, गुरुगाउँमा थप उपचारको लागि ल्यायौँ। अपशोच! जनवरी ९, २०२४ साँझ ५.४५ बजे मेरी श्रीमतीले प्राण त्याग गरिन्। हाम्रो आशा र भरोसा सबै माटोमा मिल्यो।’

२०८० सालको पुस २४ गते। चन्द्रकृष्णमाथि बज्रपात भयो। ऐठन भए पनि सहनु नै पर्थ्यो। सहे।

अलिकति अगाडि फर्कौँ न! लक्ष्मीसुन्दरीसँगै घरमा ‘सह’ पसेको थियो। नपुग्दो थिइन् तर राज्यले उनीहरूलाई पनि वृद्धभत्ता दिन थाल्यो। चन्द्रकृष्ण लिने कि नलिने भन्ने द्विविधामा परे।

‘निर्णय गर्न सकिएन। एकदिन मेरी श्रीमती र म घर बाहिर टहलिन निस्केका थियौँ। बाटोमा एकजना वृद्ध महिला माग्दै हिँडेको देख्यौँ। श्रीमतीले तुरन्तै भत्ता लिएर अशक्त ज्येष्ठ नागरिकलाई सहयोग गरौँ भनिन्’, चन्द्रकृष्णले भने, ‘तत्कालै हामीले वृद्ध भत्ताको सदुपयोग गर्ने निर्णय गर्‍यौँ।’

चन्द्रकृष्ण दम्पत्तिले वृद्धभत्ताबापत प्राप्त रकमबाटै ज्येष्ठ नागरिकको हितमा काम गर्ने व्यक्ति वा संस्थालाई हरेक वर्ष १ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरे। चन्द्रलक्ष्मी कर्माचार्य ज्येष्ठ नागरिक पुरस्कारको लागि उनले कोषको व्यवस्था गरिसकेका छन्। २०७८ सालबाट यो पुरस्कार निरन्तर प्रदान भइरहेको छ।

धार्मिक स्वभावकी लक्ष्मीसुन्दरीले चन्द्रकृष्णलाई संस्कार पनि त सिकाइछन् नि! मिर्गौला बिग्रेकै कारण श्रीमतीको निधनले उनलाई पोलेकै थियो। त्यही पीडाका बीच उनको आत्मामा मिर्गौलापीडितलाई सहयोग गर्ने विचार पलायो। लक्ष्मीसुन्दरीको मायाले उनी साँच्चै बदलिए।

पीडा भुल्न पीडितहरूलाई मल्हम लगाउने निर्णयमा उनी पुगे।

‘पीडितसँगै परिवारलाई समेत ठूलो आर्थिक बोझ र मानसिक तनाव दिने यो रोगको उपचारका क्रममा आइपर्ने आर्थिक भारले गर्दा गरिबले त उपचार गर्न नै नसक्ने अवस्था हुन्छ। यो तीतो सत्य र दर्दनाक अवस्था हामीले धेरै ठाउँमा देख्यौँ’, चन्द्रकृष्णले भने, ‘त्यसैकारण हाम्रो परिवारले २५ लाख रुपैयाँको अक्षयकोषसहित स्व. लक्ष्मीसुन्दरी कर्माचार्य मिर्गौलापीडित सहयोग कोष स्थापना गर्‍यौँ र हरेक वर्ष एकजना विपन्न पीडितलाई १ लाख १ हजार रुपैयाँ दिने निधो गर्‍यौँ।

चन्द्रकृष्णका छोरा माइकलका अनुसार मिर्गौलापीडितलाई सहयोग प्रदान गर्न कार्यविधि बनेको छ। गरिबमा पनि अति विपन्नलाई यो सहयोग प्रदान गरिन्छ। अघिल्लो वर्ष लक्ष्मी विश्वकर्मालाई यो सहयोग प्रदान गरिएको थियो।

‘अस्पतालमा डायलासिस गराइरहेका र आर्थिक अभाव भएकाहरूलाई नै छानेर सहयोग दिइन्छ’, कोष सञ्चालक कर्माचार्य समाजका कल्याण कर्माचार्यले भने, ‘पोखरामा रहेका मिर्गौला उपचार हुने ६ वटा अस्पताल चहारेर, डाक्टरको सल्लाह लिएर मात्र निर्णय गरिन्छ।

२८ वर्षमै मिर्गौला फेल, पतिले पनि छाडे


कास्कीको माछापुच्छ्रे गाउँपालिका-३, घाचोककी सोबिता परियार बल्ल २८ वर्ष लागिन्। माइती सम्पन्न थिएनन्। बेलैमा कसैको जिम्मा लगाएपछि उसैले पाल्ला, सुख पाउली भनेर आमाबुबाले सानैमा छोरी अन्माइदिए। अहिले सोबिताका ११ वर्षीय छोरा छन्। तर, दुर्भाग्य१ तीन वर्षअघि उनलाई एक्कासि उच्च रक्तचापले हान्यो। उपचारका क्रममा मिर्गौलामा खराबी देखियो। त्यसपछि त के थियो! दुःखका दिन सुरु भए।

श्रीमान्‌ले छाडे। उनी बेसहारा बनिन्। गण्डकी मेडिकल कलेजका मिर्गौला रोग टेक्निसियन डा. राकेश झाका अनुसार सोबिता डायलासिस गराउन आउँदा पनि एक्लै आउँथिन्।

‘अर्को साथी ल्याउँदा बसभाडा, खाजा खर्च बेहोर्न पर्नेरहेछ, सोबितासँग त्यो पनि रहेनछ। कहिले दाजुभाइकहाँ, कहिले माइतमा बस्ने उनी बेसहरा हुन्’, उनले भने, ‘डायलासिस गर्दा खुट्टा बाउँडिने, थप रगत दिनुपर्ने र कहिलेकाहीँ अक्सिजनसमेत लगाउनुपर्ने हुन्छ। ४ घण्टासम्म एक्लै बस्न साह्रै गाह्रो हुन्छ तर उनले सब सहेकी छन्।’

सोबिताको दुःख देखेपछि लक्ष्मीसुन्दरी कर्माचार्य मिर्गौलापीडित सहयोग कोषले यो वर्ष उनैलाई सहयोग गर्ने निर्णय गर्‍यो।

शनिबार गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक र अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यसहितले १ लाख १ हजार सहयोग प्रदान गर्दा सोबिता भक्कानिइन्।

स्वागत मन्तव्यका क्रममा श्रीमतीको पीडा नजिकबाट देखेका चन्द्रकृष्ण पनि भावुक बने।

पुरानो तस्बिर: श्रीमतीका साथमा चन्द्रकृष्ण कर्माचार्य

डायलासिसका लागि बिरामीको लाइन 
स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार गण्डकी प्रदेशमा अहिले ९ सय १७ जना मिर्गौलापीडितहरू डायलासिस गराउनुपर्ने अवस्थामा छन्। तीमध्ये ८ सय १० जनाको डायलासिस भएको छ भने १०७ जना अझै पर्खाइमा छन्।

डायलासिस गर्ने उपकरण तथा जनशक्तिको कमीले यो अवस्था आएको हो। केही वर्षअघिसम्म अवस्था कति विकराल थियो भने एउटाले उपचार पाउन अर्कोको ज्यान जानुपर्थ्यो। अहिले गण्डकीमा १ सय ६८ वटा डायलासिस मेसिन तथा २ सय २४ जना डाक्टर र प्राविधिक रहेका मन्त्री पाठकले बताए।

देशभर ४ हजार जना मिर्गौलापीडित डायलासिस गर्नुपर्ने अवस्थामा छन् भने तीमध्ये ३ हजार जनाको मिर्गौला फेर्नुपर्ने अवस्था छ। सरकारले अहिले डायलासिस सेवा निःशुल्क गरेको छ। तर, मिर्गौला फेर्न भने ठूलो रकम लाग्छ। नेपालमा आफन्तबाहेक अरूलाई मिर्गौला दान गर्न पाइँदैन।

यही कानुनी अवरोधका कारण हुनेखानेहरूले भारत गएर मिर्गौला प्रत्यारोपण गर्ने गरेका छन्। गरिबहरू चाहिँ डाइलासिसकै भरमा रहेको मन्त्री पाठकले स्वीकारे। उनले कानुनमा सुृधार ल्याउन आफूले प्रधानमन्त्री र केन्द्रीय स्वास्थ्यमन्त्रीलाई भनेको पनि सुनाए।

डायलासिस हैन, प्रत्यारोपण
मिर्गौला रोग विशेषज्ञ डा. क्लाराका अनुसार डायलासिस भनेको रोगको निदान हैन, बिरामीको बाँच्ने दिन बढाउने काम मात्र हो।

‘यो दिन थप्ने काम हो। मिर्गौलाले शरीरको फोहोर सफा गर्ने हो। डायलासिसले त्यही फोहोर सफा गर्छ। सुधार गर्दैन। अर्को २-४ दिन बचाउँछ। ट्रान्सप्लान्ट गरे, शरीरले नयाँ मिर्गौला पाउँछ। तर, सबैमा नयाँले काम गर्दैन। कसैको एक वर्ष त कसैको ३० वर्ष पनि काम गर्छ। नयाँले काम गर्न पनि भाग्यमानी हुनुपर्छ। मिर्गौला रोग अरूजस्तो हैन। फोक्सोको रोग लागेमा स्याँस्याँ हुन्छ, जोर्नीको रोग लागे दुख्छ’, उनले भनिन्, ‘मिर्गौला रोगचाहिँ लुकेर बस्छ। बिग्रेपछि मात्र जानकारी हुन्छ। त्यो बेला केही गर्न सकिँदैन। उच्च रक्तचाप, मधुमेह, यो रोग हुने सम्भावना बढ्छ। रगत, पिसाब र भिडिओ एक्सरेबाट मात्र यो रोगबारे थाहा पाउन सकिन्छ। त्यसैले वर्षको एकपटक मिर्गौला जाँच गराउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad