गण्डकी


मुख्यमन्त्रीले गीत गाए, विपक्षीले घोचपेच गरे

मुख्यमन्त्रीले गीत गाए, विपक्षीले घोचपेच गरे

नेपालखबर
फागुन २, २०८१ शुक्रबार २१:१५, पोखरा

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा गीत सुनाए। विपक्षीहरुले वर्तमान सरकारले काम गर्न नसकेको बताएपछि उनले सरकारको प्रतिरक्षामा फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने आनी छोइङको  गीतमात्र गाएनन्, अल्छीले सबैलाई अल्छी देख्ने, जाँगरिलोले सबैलाई जागरिलो देख्ने जिकिर पनि गरे। 

विपक्षीहरुले सरकारमा हुँदा केही काम नगरेको जिकिर गर्दै उनले भने, ‘जो मिहिनेत गर्छ, अरुले पनि मिहिनेत गरेको छ होला भन्ने सोच्छ र जो सुतेर बसेको छ। सबैजना सुतेकै होलान् भन्ने ठान्छ। त्यसकारण हामीले कसरी हेरेका छौँ हामीलाई रु अरुलाई पनि त्यसरी हेर्ने चलन र मानसिकता छ।’

उनले गण्डकी सरकार पूरा जाँगरका साथ जनताको काम गर्न लागेको जिकिर पनि गरे। अहिले अति निराश र अति उत्तेजित हुनुपर्ने आवश्यकता नरहेको पनि उनले बताए।  

‘हामीले संविधानमा जे कल्पना गरेर संघीयता ल्यायौँ,त्यो अनुसार कानून निर्माण नभएका कारणले गर्न नसकेको कतिपय कुराहरु, देशको आर्थिक परिस्थितिका कारणले चाहेजति हुन नसकेका कामहरु कसैबाट छिपेको छैन,’ प्रदेश सभाको शुक्रबारको बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले भने,‘हाम्रा साधन र स्रोत सीमित छन्। हाम्रा आवश्यकता र चाहना असीमित छन्। यही दुवै बीचमा तालमेल गर्ने कुरा त्यति सहज छैन। तथापि सरकारले आफ्नो काम पूरा जाँगरका साथमा गरिरहेको छ।’

जसले जे भने पनि ठूला दल मिलेर स्थिरता दिने कुरा सबैले पत्याएको पनि उनले जिकिर गरे।

‘आत्तिएरु भएन, मात्तिएर भएन, ८४ सालसम्म यही सरकार जान्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘नपत्याएर भ्रममा बस्नुभन्दा पत्याएर अब यही अघि बढ्छ भनेर सोच्न आग्रह गर्छु।’

विपक्षी नेताहरुलाई घोचपेच गर्न पनि भ्याए। यसअघि राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले संसदलाई लामो समयदेखि बन्धक बनाउँदा सांसदहरुलाई चिन्न पनि नसक्ने अवस्थामा पुगेको बताएका थिए। 

मुख्यमन्त्रीले उनलाई नै लक्षित गर्दै भने,‘एउटा चिन्ता के भयो भने मैले अलि इनर्जेटिक देखेको, अलिकति सोच्न पनि सक्ने गतिशिल देखिएको साथीको ४ महिनामा स्मरण शक्ति हराउन थालेछ, ४ महिनाअघि देखेको साथीलाई ४ महिनापछि बिर्सने रोग लागेछ।’ 

उनले थप्दै गए, ‘संविधानलाई क्रिटिकल्ली नमाने त ठिकै कुरो थियो। नियमावलीमा लेखेको कुरा यति छिट्टै बिर्सीदिने? साथीहरुको अनुहारै बिर्सने रुअसोजमा अन्त्य भएको प्रदेश सभाको बैठक माघमा सुरु भएको र गत वर्षकोभन्दा एक महिना अघिनै संसद सुरु भएकोमा सरकारलाई धन्यवाद दिनुपर्नेमा यसरी स्मरण शक्ति गुमाउनु भयो भने कसरी हामले कानून बनाउने?’

सरकारमा जाँगर नै छैन : माओवादी नेता चुमान
सदनमा बोल्दै विपक्षी दल तथा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले अहिलेको सरकारको कुनै जाँगर नदेखिएको आरोप लगाएका थिए।

‘जाँगर पनि कसरी होस्, म त्यही ठाउँमा भए पनि जाँगर हुने थिएन होला भन्ने लागेको छ किनकि केही हुनेवाला र बन्नेवाला छैन,’उनले भने,‘साँच्चै सुशासन, सामाजिक न्याय, समृद्धि, संविधानाले परिकल्पना गरेको समाजवादतर्फ डाहोेर्‍याउनेतर्फ यो सरकार बनेको हो र त्यो अपेक्षा गर्न सकिन्छ? ‘कुनैकुनै पंक्तिमा त्यो अपेक्षा थियो होला तर अहिले त्यो निख्रिँदै गएको देख्छु।’

संघमा साना दललाई थ्रेस होल्डको प्रतिशत बढाएर दुईदलीय तानशाही चलाउन खोजेको तथा संघीयता जोगाउने मुख्य जिम्मेवारी रहेको प्रदेश सभालाई पनि माथिकोजस्तो दुई दलीय तानाशाही तिर जाने हो कि भन्ने पीर लागेको उनले बताए।

औचित्य पुष्टि गनुपर्छ : एमाले प्रमुख सचेतक नेपाली
एमालेका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले प्रदेश सभाले बनाएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए।  

‘एउटा प्रश्न उठेको छ, कि प्रदेशसभाले बनाएको कानूनको कार्यान्वयनको प्रश्न। त्यसको प्रभावकारीताको प्रश्न। जुन सरोकारवालालाई बनाएको कानून बनाएका छौ त्यहा पुगेको छकीछैन भन्ने प्रश्नका विषय उठिरहेका छन्,’ नेपालीले भने, ‘त्यसकारण हामीले विधेयक र कानून निर्माण गरेर उम्कने ठाउँ छैन।’

राजनीतिक अस्थिरताको अन्त्य र शुसासनका लागि एमाले र कांग्रेस एकै ठाउँमा उभिएको चाहिँ उनले पनि जिकिर गरे। जनतामा संसद भनेको केवल ६/ ६ महिनामा र ९/९ महिनामा सरकार बनाउने र भत्काउने थलोमात्र होइन। यसले राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई पनि ध्यान दिन्छ भन्ने सन्देश दिनेगरी प्रदेशले काम गर्नुपर्ने उनको भनाइ थियो।  

‘दुई ठूला दल मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन। दुई ठूला दल संयुक्त रुपमा जाँदा धेरै प्रश्नहरु उठेका छन्, यसको औचित्यका बारेमा। यसको औचित्य जनताको बिचमा पुष्टि गर्नुपर्छ।’

खादा र माला लगाएका जनताले अर्कै व्यवहार गर्लान् : राप्रपा नेता गुरुङ
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पंचराम गुरुङले पहिलो र दोस्रो ठुलो दल मिलेर बनेको बलियो सरकारले पनि बलियो रुपमा काम गर्न नसकेको बताए। उनले काम गर्न नसक्ने सभासदलाई जनताले लखेट्ने अवस्था आउनसक्ने पनि बताए।

‘हामी जनताका कामदार हौँ, जनताका लागि आएका हौँ, नीति र सुशासन कायम गर्ने प्रतिवद्धतासहित आएका हौँ उनले भने, ‘अव बोलेर होइन,  व्यवहारमा काम गरेर देखाउने बेला आएको छ। थोरै बोलेर जनताको मन जित्न सकियो भने राजनीतिक पार्टी र नेता चाहिने रहेछ भन्ने हुन्छ। नभए खादा र माला लगाएका जनताले हामीलाई खादा र माला अर्कै रुपमा परिणत गर्लान्।’

यो सरकार गठन हुदै गर्दा प्रतिपक्षको बेन्चमा बसेर काम हेरेर बिरोध र समर्थन गर्ने भनेको स्मरण गर्दै गुरुङले सरकार अव अल्झिएर र भुलेर बस्ने छुट नभएको भन्दै ध्यानाकर्षण गराए।

‘हामीले २ वर्षको अन्तरालमा ४ पटकसम्म सरकार अदलीबदली गर्दा जनतामा निराश आएको थियो। जनतालाई आफ्नो ढंगले ब्याख्या गरेर बुझाइयो होला। तर कति बुझेबुझेनन भविष्यमा जनताले नै विश्लेषण गर्लान्’ गुरुङले भने, ‘गणितका हिसावले यति बलियो सरकार गठन भएको छ। तर ६/७ महिनाको कार्यकाल हेर्दा सरकारले आफ्नो कार्यक्षेत्रमा बलियो रुपमा काम गर्न नसकेको जननताले भन्न थालेका छन्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad