गण्डकी


गण्डकीमा बने १०४ सडक पुल र ८४ झोलुङ्गे पुल

गण्डकीमा बने १०४ सडक पुल र ८४ झोलुङ्गे पुल

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १७:३९, काठमाडौँ

गण्डकी प्रदेश सरकार बनेयता प्रदेशभित्र १०४ सडक पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। प्रदेश सरकारको लगानीमा ती पूर्वाधार आयोजना बनेका हुन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलका अनुसार सडक पुल र झोलुङ्गे पुल निर्माण प्रदेश सरकारको प्रमुख हस्तक्षेपकारी कार्यक्रम हो।

हाल ६५ वटा सडक पुल निर्माणाधीन अवस्थामा रहेको र २५ वटा सडक पुलको विस्तृत आयोजना प्रतिवेदनको तयारीको प्रक्रियामा रहेको मन्त्रालयको योजना अनुगमन, मूल्याङ्कन तथा अन्य पूर्वाधार महाशाखाका प्रमुख डा महेन्द्र बानियाँले जानकारी दिए। 

प्रदेशका विभिन्न स्थानमा गरी थप १७ वटा झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार तयारीको काम अगाडि बढेको उनले बताउनुभयो। प्रादेशिक सडक गुरुयोजना निर्माणमा जुटेको मन्त्रालायले सडक र पुल आयोजनामा लगानी बढाउँदै लगेको छ। प्रदेश सरकारले सबै स्थानीय तहसम्म सडक सञ्जाल पुर्‍याउने लक्ष्यका साथ सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको महाशाखा प्रमुख डा बानियाँले बताए।

‘एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम’अन्तर्गत ३६ सडक आयोजना सञ्चालनमा रहेको उनको भनाइ छ। ती आयोजनाको कूल लम्बाई ६७१ किमि रहेकामा हालसम्म २०० किमि सम्पन्न भएको र दुई सय ३१ किमि सडक स्तरोन्नतिका क्रममा रहेको जनाइएको छ। 

स्थानीय तहका केन्द्र जोड्ने कूल ६०७ किमि रहेकामा हालसम्म दुई सय १९ किमि सम्पन्न भई २१६ किमि सडक स्तरोन्नति भइरहेको छ। प्रदेश स्थापना भएयता सात वर्षमा कूल ९२३ किमि कालोपत्ररढलान र ७०० किमि सडक ग्राभेल भएको छ। सडक र पुल निर्माणले सहज आवातजावत, कृषि उपजको बजारीकरण, पर्यटन प्रवर्द्धन आदिका लागि मद्दत पुर्‍याएको छ।

मन्त्रालयले राष्ट्रिय राजमार्गका वैकल्पिक सडक, एक निर्वाचन क्षेत्र–एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडकलाई गौरवका आयोजनाका रुपमा अगाडि बढाएको छ। सडकको पहुँच पुगे पनि समयमा पुल निर्माण नहुँदा वर्षायाममा ग्रामीण भेगको यातायात सेवा प्रभावित हुँदै आएकामा पछिल्लो समय उक्त समस्या कम हुँदै गएको छ।

पुल निर्माणले गति लिन थालेपछि प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालनका लागि सहजता थपिएको हो। मन्त्रालयले पुलको ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई सचेत गराउन थालेपछि निर्माणको क्रममा रहेका पुलको कामले पनि गति लिएको छ। महाशाखा प्रमुख डा बानियाँले निर्माणाधीन अवस्थामा रहेकामध्ये ३५ सडक पुल बहुवर्षीयमा आयोजनामा समेटिएको जानकारी दिए।

जिल्लास्थित पूर्वाधार कार्यालयमार्फत सडक पुल र झोलुङ्गे पुलका आयोजना कार्यान्वयन हुँदै आएको उनको भनाइ छ। बहुवर्षीय आयोजनाअन्तर्गत गत आवदेखि कास्कीमा तीन, स्याङ्जा, तनहुँ, लमजुङ र बागलुङमा पाँचरपाँचवटा, गोरखामा चार, नवलपुर, पर्वत, म्याग्दी र नवलपुरमा दुई/दुईवटा र मनाङमा एक वटा सडक पुल निर्माण भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad