गण्डकी


सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी

सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी

नेपालखबर
पुस २१, २०८१ आइतबार ९:२२, पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादीका तर्फबाट थुनछेक बहस जिल्ला अदालत कास्कीमा आज (आइतबार) पुन: सुरु हुनेछ।

शुक्रबार सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहसले हिजो शनिबार एकदिनको विश्रामपछि आजदेखि पुन: निरन्तरता पाउने भएको हो।

कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार शुक्रबार प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीले बहस गरेका थिए। पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएकाले आज पनि जारी रहने उनले बताएका छन्।

यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए। प्रतिवादीहरूको बयान सकिएपछि जिल्ला न्यायाधीश नितिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस जारी छ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको हो। 

रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी मुद्दामा पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतका विषयमा थुनछेक बहस भइरहेको हो।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

सभापति लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ। सभापति लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ। सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad