पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ।
कास्की जिल्ला अदालतमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए। अब शुक्रबार प्रतिवादीहरूका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन्।
सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो। प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन्।
पीडित जाहेरवालाका कानुन व्यवसायीले लामिछानेलगायतका अभियुक्त थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका छन्।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो।
लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित थिए।
अन्य प्रतिवादीहरू भने फरार छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा विभिन्न संस्थासमेत ४४ प्रतिवादी छन्।
जसमध्ये ३१ प्रतिवादी सहकारी ठगीमा छन्। उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
प्रतिवादीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, रविसहित ४ जनालाई सम्पत्ति शुद्धीकरण पनि र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ।
सम्पत्ति जफतका लागि रविकी पत्नी निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।
Shares

प्रतिक्रिया