गण्डकी


६४ वर्षअघि बीपी र चाउ एनलाइ सयर गरेको तालमा जब चिनियाँले डुंगा दौडाए

६४ वर्षअघि बीपी र चाउ एनलाइ सयर गरेको तालमा जब चिनियाँले डुंगा दौडाए

वाशुदेव मिश्र
पुस १४, २०८१ आइतबार १८:११, पोखरा

‘...मैले बोलाउँदा जब चू एनलाइ अतिथि भएर आएका थिए, उनलाई पोखरा लगेको थिएँ। पोखरामा सिमेन्टको बाँध बन्दै थियो। त्यो हेरेर चू एनलाइले के भन्यो भने ‘तपाईंहरूलाई सिमेन्ट बाहिरबाट मगाउनुपर्छ, यत्रो खर्च गरेर प्लेनबाट ल्याउनुपर्छ। ढुवानी गर्ने बाटो छैन। यसो गरेर किन बनाउनुहुन्छ? माटोले नै किन बनाउनुहुन्न? त्यसले बढ्ता समात्छ। पहाडमा माटोको बाँध बनाउँदा पहाडको माटोसँग मिल्ने किसिमको हुँदा त्यसको पकड ज्यादा हुन्छ। सिमेन्टको भयो भने ठूलो बाढी आयो भने टुट्छ।’ त्यो त प्रमाणित नै भयो ठूलो बाढी आयो र बाँध टुट्यो। यसको कुराले मलाई प्रभावित गर्‍यो, सिमेन्टको औचित्य कायम रहन सकेन।’

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेको प्रसंग हो, यो। र, यहाँ बीपीले चू एनलाइ भनेर सम्बोधन गरेका व्यक्ति चिनियाँ प्रधानमन्त्री चाउ एनलाइ हुन्। जसले बीपी कोइराला प्रधानमन्त्री भएको बेला २०१७ वैशाख १४ देखि १७ सम्म नेपालको राजकीय भ्रमण गरेका थिए। सोही क्रममा पोखरा आएर बीपीसँगै डुंगामा फेवाताल सयर गरेका थिए।

त्यसो त चाउले त्यसअघि नै २०१३ माघ १२ देखि १६ सम्म पनि नेपाल भ्रमण गरिसकेका थिए।

तर, २०१६ फागुन २३ गते नेपालबाट चीनको भ्रमणमा निस्केका तथा बर्मा हुँदै २७ गते चीन झरेका बीपी र चाउबीच बेइजिङमा खास आत्मीय सम्बन्ध गाँसिएको थियो। चैत १३ गतेसम्मको चीन बसाइमा चाउले बीपी र धर्मपत्नी सुशीलासँग लामो समय बिताएका थिए।

जगत नेपालद्वारा लिखित ‘पहिलो संसद् : बीपी–महेन्द्र टकराव’ पुस्तकमा त्यो आत्मियताको यसरी वर्णन गरिएको छः 

चिनियाँ प्रधानमन्त्रीकी श्रीमतीले सुशीलालाई ब्रेकफास्टका लागि डाकेकी थिइन्। सानी छोरी लिएर जाँदा अप्ठयारो। सुसारेको भरमा छोरीलाई एक्लै कसरी होटलमै छोड्ने? समस्या आइलाग्यो। कम्युनिस्ट पार्टीका नेताले अन्य मुलुकका नेतालाई हत्तपत्त घरमा बोलाउने चलन हँुदैन। त्यस्तो कार्यक्रम होटलमै राख्ने गरिन्छ। भ्रमण दलका सदस्य मन्त्री गणेशमान सिंहलाई बीपीको चाहना बुझ्न बोलिरहनु पर्दैनथ्यो, इसारै काफी हुन्थ्यो। ‘मेरो अन्यत्रै जानु छ’ भनेर सिंहले सुरुमै बाटो खोलिदिए। गृहमन्त्रीलाई के गर्ने? लगौँ पूरै वार्तालापको रिपोर्टिङ नेहरूसम्म पुग्ने डर, नलगौँ गृहमन्त्रीलाई कसरी रोक्ने?

सुशीलाले भनिन्, ‘बीपी, तपाईंहरू जानुस्। म छोरी हेरेर होटलमै बस्छु।’ अब सूर्यप्रसाद फसादमा परे। प्रधानमन्त्री पत्नीलाई बोलाइएको छ। उनलाई नलगेर बीपी जानुको के अर्थ? बीपीले जानेरै यस्तो योजना बनाएका थिए। पुख्र्यौली घरसँगै भएका बीपी र सूर्यप्रसादको नाता पनि थियो। सूर्यप्रसाद बीपीलाई मामा भन्थे।

उनले भने, ‘हैन माइजू, हजुर जानुस्। एकैछिनको कुरा न हो। म बसौँला होटलमा। चेतना खेलिहाल्छिन्।’

चाउ एनलाइकहाँ पुगेर बीपीले मध्यान्हतिर होटलमा फोन गरे। ‘सूर्यबाबु, फसाद भयो। यहाँ त लन्च नखाई जानै मिल्दैन भन्छन्। सुशीला आत्तिएकी छ। के गर्ने होला? चाउ एनलाइको प्रस्ताव छ– सुशीलाले नेपाली खाना बनाउने। उनीहरूले चाइनिज खाना बनाउने, रमाइलो गर्ने भनेर!’

‘म छु नि। लन्च खाएर आउनुस् न। माइजूलाई पनि नआत्तिन भन्नुहोला।’ सूर्यप्रसादले जवाफ दिए।

अपराह्न फेरि बीपीले होटलमा फोन गरे– ‘सूर्यबाबु, कस्तो आपत् आइलाग्यो भने डिनर नखाइ हुँदैन पो भन्न थालेका छन् त!’

‘हुन्छ। चेतना खेलिराखेकी छन्। किन आत्तिनु त!’ सूर्यबाबुले भनेछन्। 

अनि बीपी  र सुशीला चाउ एनलाइसँग डिनर गरेर फर्केछन्। सायद दिनभरको बसाइमा सुशीलाले नेपाली खाना पनि बनाइन् होला! 

यही पुसको पहिलो साता पोखरामा आयोजना भएको ‘फेवा डायलग’ बारे जानकारी दिने क्रममा सिचुआन युनिभर्सिटीअन्तर्गतको नेपाल अध्ययन  केन्द्रका उपनिर्देशक काओ लियाङले बीपी र चाउ एनलाइको त्यो मित्रताको स्मरण गरेका थिए। फेवातालमा आफ्नो देशका प्रधानमन्त्रीले धेरै अगाडि डुंगा सयर गरेकाले पनि फेवातालप्रति चिनियाँहरूको चासो र प्रेम रहेको उनको भनाइ थियो। 

पोखराप्रति चिनियाँको यति साह्रो चासोको गुह्य कारण चाहिँ यहाँ रहेका तिब्बती शरणार्थी र आफ्नो सुरक्षा चासो नै हो। त्यसैले उनीहरू यो वा त्यो बहानामा पोखरा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेका  भारतको जेपी जिन्दल ग्लोबल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनरत आरोग्यमोहन काफ्ले बताउँछन्। 

हो, पोखरामा ‘ड्रागन’का गतिविधि बढ्दो क्रममा छन्। तर, त्यो सम्बन्धको पहिलो कडी चाहिँ राजमार्ग नै हो। 

२०२२ सालमा निर्माण सुुरु भई २०३० सालमा सम्पन्न यो सडकसँगै पोखरा–बागलुङ राजमार्ग एवं पोखराको सेती जलविद्युत तथा सिँचाइ योजना पनि चिनियाँ सहयोगबाटै बनेको हो। राजमार्ग र नहर बन्ने बेला पोखरेलीहरूले चिनियाँहरूलाई नजिकबाट देखे। उनीहरूको परिश्रमी स्वभावको मुक्तकण्ठले प्रशंसा पनि गरियो। 

पछिल्लो समयमा चाहिँ पोखरा विमानस्थल निर्माणमा भएको सहयोगका कारण चीन पोखरामा चर्चित बन्यो। विमानस्थल बन्नुअघि नै चीनले पोखरा महानगरपालिकासँग आफ्ना विभिन्न नगरबीच भगिनी सम्बध गाँस्न सुरु गरिसकेको थियो। हाल पोखरा महानगरपालिकाको चीनका कुनमिङ, छेन्दु, ग्वान्जाओ, निनाङलगायतका नगरसँग भगिनी सबन्ध छ। 

यही सम्बन्धमा टेकेर पोखराका जनप्रतिनिधि, कलाकार र नागरिक समाजका व्यक्तिहरूले पनि पटक–पटक चीन भ्रमण गर्दै आएका छन्।

चीन खासगरी खेलकुदमार्फत् पोखरासँग जोडिने अभियानमा रहेको उसका गतिविधिहरूले देखाएका छन्। २०८० सालको असारको पहिलो साता फेवातालमा पहिलो पटक नेपाल–चाइना ड्रागन बोट फेस्टिभलको आयोजना भयो। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा भएको बोट रेस फेस्टिभलमा नेपालसहित चीन, सिंगापुरका गरी आठ टिमले भाग लिएका थिए। 

प्रतियोगिता गर्न चिनियाँ खेलाडीहरू चार्टर्ड विमानबाट पोखरा झरेका थिए। अजिङ्गरको टाउका (ड्रागन) हालिएको डुंगा पनि उनीहरूले चीनबाटै ल्याएका थिए। 

चिनियाँ चन्द्र पात्रोको पाँचौँ महिनाको पाँच गते चीनमा ड्रागन बोट फेस्टिभलको आयोजना गरिन्छ। चिनियाँहरू पात्रोको पाँचौँ महिनालाई प्रेतपिशाच महिना मान्छन्। चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यो चाड मनाइन्छ। ‘डुआन्वु जी’ को बेला सार्वजनिक बिदा दिइन्छ। युनेस्कोले सन् २००९ देखि यो पर्वलाई अमूर्त सांस्कृतिक सम्पदामा दर्ज गरेको छ। 

युनेस्कोको आधिकारिक वेबसाइटका अनुसार यो पर्वको इतिहास कवि छु युआनको आत्महत्यासँग जोडिएको छ। त्यो बेला हान वंशको शासन अत्यन्त कमजोर हुँदै गएको थियो। चीनका विभिन्न भागमा युद्धहरू भइरहेका थिए। कवि युआन युद्ध चाहँदैनथे। उनले शान्तिका लागि राजालाई आग्रह गरे तर राजाले मानेनन्, युद्धमा हार हात लाग्यो। निराश भएका कविले मिलो नदीमा हाम्फालेर ज्यान फाले। छु राज्यका जनताले उनको उद्धारको प्रयास गरे। उद्धारका लागि नदीमा डुंगा दौडाए। हल्ला गरे। उनलाई माछाले नखाओस् भनेर भातको डल्लो (चोङ च) बनाएर नदीमा फाले। 

कालान्तरमा कवि खोज्न गरिएको प्रयास नै ड्रागन बोट फेस्टिभल बन्यो। बाँस अथवा नर्कटको पातले बेरिएको, त्रिभुज आकार भएको तथा भातसँगै मासुका टुक्रा, बयर, अण्डाको पहेँलो, गेडागुडी मिसाइएको भातको डल्लो (चोङ च ) ड्रागन फेस्टिभलको परिकारमा दर्ज भयो। 

यो चिनियाँ पात्रोको पाँचौँ महिना त हैन, तर चीनले यसपटक अंग्रजी वर्षको बिदाइको बेला नै ड्रागन बोट फेस्टिभलको आयोजना गर्ने निर्णय गर्‍यो। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आइतबार सुरु भएको दौडको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे। 

गण्डकीका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, पोखराका मेयर धनराज आचार्य, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीलगायतले मन्तव्य राखेका थिए। बोट रेसको तयारीबारे चिनियाँ राजदूत छनले नै विशेष चासो राखेका थिए। 

सहभागी हुने चिनियाँ खेलाडी, प्राविधिक र पाहुनासहित १२९ जनालाई बोकेर सिचुवान एयरलाइन्सको चार्टर्ड विमान पोखरा आएको थियो। दुई दिन चल्ने प्रतियोगितामा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० समूह सहभागी छन्। २०० मिटर र ५०० मिटर दूरीमा हुने प्रतिस्पर्धामा विजेता समूहले समान ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने उपविजेताले २ हजार डलर र तेस्रोले १ हजार २०० डलर पुरस्कार प्राप्त गर्नेछन्। सहभागी समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ। प्रतियोगिताको समापन सोमबार हुनेछ। 

मंसिरमा चीनले यहाँ अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री दौडको आयोजना गरेको थियो। चिनियाँ दूतावास मुख्य आयोजक रहेको यो प्रतियोगितामा चिनियाँ खेलाडीहरू जहाज चार्टर्ड गरेर पोखरा झरे। त्यसयता लगातार दुईपटक पोखरामा क्रस कन्ट्री दौडको आयोजना भइसकेको छ। 

चीन पछिल्लो समय जनस्तरमा सम्बन्ध बिस्तारमा अग्रसर भएको रूपमा यी कार्यक्रमहरूलाई बुझ्नुपर्ने अन्तर्राष्ट्रिय आर्थिक र भूराजनीतिक सम्बन्धका जानकार तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको भनाइ छ। 

२०८० सालको असोजमा तत्कालीन प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच भएको आठ बुँदे सहमतिमा नै दुई देशबीच जनस्तरमा सम्बन्ध बिस्तार गर्ने बाटो खुल्यो। सोही भ्रमणको क्रममा भएको सहमति अनुसार चीनले पोखरामा पनि चिनियाँ भाषा शिक्षकहरू पठाउन थालेको छ। चिनियाँहरूले पोखरामा आएर खेतीपातीदेखि विभिन्न व्यवसाय गरिरहेका छन्। 

चीनसँग सम्बन्ध बिस्तारको लागि पोखराका मेयर धनराज आचार्य नै बढी क्रियाशील देखिएका छन्। अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी आरोग्यमोहन काफ्ले चाहिँ पोखरा र नेपालप्रति देखिएको चिनियाँ चासो सुरक्षा र भू–मार्गबाट दक्षिण एसियाली राष्ट्रसँग व्यापारको चाहनाले परिलक्षित भएको ठान्छन्। 

‘हालै प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा पनि त्यो चासो व्यक्त भएको छ। शक्तिराष्ट्रहरू आफ्नै स्वार्थबाट निर्देशित हुन्छन्, जहाँसम्म पोखराको कुरा छ, सम्बन्धहरू आफ्नो हितमा हुनुपर्छ। घुम्नकै लागि भगिनी सम्बन्ध स्थापना गर्ने र विदेशीलाई उनीहरूले भने अनुसारकै वातावरण मिलाउँदा भविष्यमा के हुन्छ भन्ने भुल्नुहुँदैन,’ उनी भन्छन्, ‘आज चीन आयो, भोलि अमेरिका वा भारत आउँछ। परराष्ट्र सम्बन्धहरू समानखाले र आफ्नो हित अनुकूल हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad