नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले कास्कीको उत्तरपूर्वी पर्यटकीय गाउँ सिक्लेसको भ्रमण गरेका छन्।
राजदूत थम्पसन अनौपचारिक भ्रमणको क्रममा सिक्लेसमा रहेकी पिसकोर स्वयंसेवक क्याथलिनलाई भेट्न त्यहाँ पुगेका मादी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए।
क्याथलिन (काशी) विगत पाँच महिनायता सिक्लेसमा छन्। उनले पर्यटन प्रवर्द्धन र होमस्टे संचालनमा सघाउन स्थानीयलाई अंग्रेजी भाषा सिकाइरहेकी छन्।

राजदूत थम्पसनसँगै उनकी धर्मपत्नी जेनी थम्पसन, पिसकोरका नेपाल प्रमुख टोरी कोफ्रोथ तथा पिसकोरका साइट इन्चार्ज राजु कंडेल पनि सिक्लेस पुगेका थिए।
टोलीलाई सिक्लेसमा स्वागत गरे लगत्तै वडाध्यक्ष देवीजंग गुरुङ, सिक्लेस एक्याप प्रमुख संग्राम कार्की, सिक्लेस होम स्टेका अध्यक्ष टाइमाया गुरुङलगायतको टोलीले गाउँ घुमाएको थियो।
गाउँ घुमाउने क्रममा स्थानीयले बनाएका भाङ्ग्रा, बख्खु, कम्मल, डोको बुन्दै गरेको दृष्यलाई राजदूतले चाख मानेर हेरेका थिए। सिक्लेस गुरुङहरुको बाक्लो बस्ती भएको गाउँ हो।
Shares

प्रतिक्रिया