पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान अनिश्चित बनिरहेकै बेला भारतको नयाँदिल्लीबाट एउटा निजी जहाज पोखरामा अवतरण गरेको छ।
नागरिक उड्डयन प्राधिकरण पोखराकी उपनिर्देशक तथा विमानस्थल संचालन महाशाखा प्रमुख जसोदा सुवेदीका अनुसार बिहीबार साँझ ५ः५० बजे जेल एयरको विमान पोखरा आएको हो।
‘चालक दलसहित ४ जना यात्रु लिएर जेल एयरको सिंगल इञ्जिनको निजी विमान पोखरा आएको हो,विमान यो रात यहीँ रहन्छ र शुक्रबार बंगलादेशको लागि उड्छ,’उनले भनिन्,‘योसहित पोखरा विमानस्थलबाट ९ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। आउँदो २६ डिसेम्बरमा चीनको सिचुवान एयरलाइन्सको चार्टर्ड विमान पनि आउँदैछ । पोखरामा आयोजना हुने ड्रागन बोट फेस्टिभलमा भाग लिन आउने चिनियाँ लिएर विमान आउन लागेको हो।’
एयरपोर्टमा प्राविधिक समस्या छैन : प्राधिकरण
यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कुनै समस्या नभएको बताएका छन्। पोखराको नयाँ विमानस्थल साना विमान (न्यारो बडी)को उडान–अतवरण हुने खालको भएको बताउँदै उनीहरुले ठूला (वाइड बडी) जहाज भने यहाँ नआउने पनि प्रष्ट पारे। बोइङ ७३७ र एयरबस ३२० जस्ता न्यारो बडी विमानमा सामान्यतयाः १८० सिट हुन्छ।
उद्घाटन भएको लामो समयसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि त्यसको कारण खोज्न तथा उडान सुनिश्चितताका लागि पोखरा उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा एयरपोर्टकी उपनिर्देशक जसोदा सुवेदीले प्राविधिक कारणले नै यहाँबाट अन्तर्राष्ट्रिय उडान नभएको अफवाहलाई खारेज गरिन्।
‘एयरपोर्ट अत्याधुनिक छ, हामी सबै ढोका खोलेर बसेका छौँ,जतिबेला पनि यहाँबाट उडान हुनसक्छ,’उनले भनिन्। उनले शुक्रबारमात्र पनि भारतबाट जेल एयरको चार्टर्ड विमान आएको बताउँदै हालसम्म भएका ९ वटा अन्तर्राष्ट्रिय उडानले पनि यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा कुनै समस्या छैन भन्ने पुष्टि भएको उनको भनाइ थियो।
नागरिक उड्डयन प्राधिकरण पोखराका प्रबन्धक अनुप जोशीले पोखराको आकास साँघुरो भएको तथा वरपरका डाँडाहरुले केही समस्या पारे पनि अन्तर्राष्ट्रिय उडानको लागि कुनै अवरोध नभएको बताए। उनले विमानस्थल बने पनि त्यसलाई सघाउने खालका पूर्वाधार अझै बन्न नसकेको औंल्याउँदै विमान कम्पनीहरुलाई आकर्षित गर्न यात्रुको सुनिश्चिता पनि हुनुपर्ने बताए।
‘म आफै अहिलेसम्म एउटै बस चढेर एयरपोर्ट जान पाएको छैन, रातको समयमा यात्रुहरु अलपत्र परेको पनि सुनेका छौँ, कम्तिमा यात्रुलाई सुविधा दिने यस्ता कुरा त बन्नुपर्यो नि,’ उनले भने।
प्राधिकरणका उपप्रबन्धक इञ्जिनियर कृष्णप्रसाद पौडेलले जाजरकोट भूकम्पको बेला १७९ टन सामान बोकेर चिनियाँ जहाज पोखरा झरेको स्मरणमात्र गराएनन्, एयरपोर्ट न्यारो बडी विमानबाट अन्तर्राष्ट्रिय उडान भर्नसक्ने गरी बनाइएको दोहोर्याए। उनले एयरपोर्टको धावन मार्ग नै होचो बनाइएकाले ठूला जहाज नआएको, प्राविधिक रुपले समस्या रहेकाजस्ता कुराहरु हल्लामात्र भएको पनि जिकिर गरे।
नागरिक उड्डयन प्राधिकरणका पूर्व उपनिर्देशक ओम शर्माले जहाज चल्नको लागि यात्रु हुनुपर्ने तर्क गरे।
नेपाली कांग्रेस कास्कीका अध्यक्ष किशोरदत्त बरालले पोखरा एयरपोर्टको दिगो संचालन तथा अन्तर्राष्ट्रिय उडानको लागि कांग्रेस गम्भीर रहेको बताए।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा एयरपोर्टसँग पोखरा उद्योग वाणिज्य संघको भावनात्मक सम्बन्ध गाँसिएको बताउँदै यहाँबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको लागि संघले आवश्यक परे दबाबमूलक कार्यक्रमसमेत गर्ने घोषणा गरे।
Shares

प्रतिक्रिया