गण्डकी


हिरासतमै तिहार बिताएका रविलाई आज अदालत लगिँदै

हिरासतमै तिहार बिताएका रविलाई आज अदालत लगिँदै

हिरासतमा रवि


वाशुदेव मिश्र
कात्तिक २०, २०८१ मंगलबार १०:२९, पोखरा

सहकारीको रकम अपचलन अभियोगमा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै छ। 

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यही कात्तिक २ गते पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले कात्तिक ८ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो। 

उक्त म्याद कात्तिक १४ गते नै सकिए पनि कात्तिक १५ देखि तिहार बिदा सुरु भएकाले उनी अहिलेसम्म हिरासतमै रहेका हुन्। 

आजबाट तिहार बिदा सकिएर अदालत खुल्ने भएकाले उनलाईअदालत उपस्थित गराइने भएको हो।

कारागारमै बित्यो यसपालिको तिहार

प्रहरीले रविलाई हिरासतभित्रै तिहारको टीका र तेल पुर्‍याइदिन सक्थे। तर, रविले टीका नलगाउने घोषणा गरे।

रास्वपा गण्डकीका सभापति राजन गौतमले पनि सभापति रवि पक्राउको विरोधमा पोखराको मानव अधिकार चोकमा भाइटीका लगाए।

रास्वपा नेता उत्तम पौडेलका अनुसार रविले मोहन मैनालीको मदन पुरस्कार प्राप्त ‘मुकाम रणमैदान’ पढेर तिहार मनाए।

उनले फेसबुकमा रविले हिरासतभित्रै त्यो पुस्तक पढ्दै गरेको तस्बिर राखेर लेखे- ’हिरासतमा मोहन मैनालीको “मुकाम रणमैदान” पढेर रवि दाइ राजनीतिक रणमैदानको योद्धा बन्ने तयारी गर्दै हुनुहुन्छ। युगिन लडाइँका लागि तयार रहनुभएका रवि दाइको दृढ संकल्प “नीलोे क्रान्ति”को सुरुवात पनि हो।’

उनको भनाइलाई कास्की प्रहरीले पनि पुष्टि गरेको छ। 

रविविरुद्ध रुपन्देही बुटवलको सुप्रिम सहकारी ठगीमा पनि पक्राउ पुर्जी जारी गरिएको छ।

संगठित अपराधको कसुरमा पक्राउ गरिएका उनीसँगै अहिले सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाल कास्की प्रहरी हिरासतमा छन्। 

संगठित अपराधको आरोपमा प्रहरीले लामो समयसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। ९० दिनसम्मम हिरासतमा राख्न पाउने यो अवस्थालाई हेर्ने हो भने रवि अझै हिरासतमै रहन सक्छन् ।

यही आरोपमा असोज ६ गते पक्राउ परेका छविको पक्राउलाई आधार बनाउँदा पनि रवि अझै केही दिन हिरासतमा बस्ने एक अधिवक्ताले बताए।

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत पेस गरिने भएपछि रास्वपा फेरि सडकमा निस्कँदै छ।

रास्वपा गण्डकी सभापति राजन गौतमका अनुसार यतिबेला पोखराको जिरोकिलोमिटरमा रहेको रास्वपा कार्यालयमा नेता कार्यकर्ता जम्मा भइसकेका छन्।

त्यहाँबाट जुलुससहित अदालत र जिल्ला प्रशासन कार्यालय नजिकै रहेको वाइचोक पुगेर धर्ना दिने कार्यक्रम रहेको उनले बताए।

वाइचोकभन्दा तल अदालत क्षेत्रलाई कास्की प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad