गण्डकी


मनाङ छिर्ने ढोकैमा रिसोर्ट भएका पौडेललाई मनाङेले छाडेको वन मन्त्रालय

मनाङ छिर्ने ढोकैमा रिसोर्ट भएका पौडेललाई मनाङेले छाडेको वन मन्त्रालय

वाशुदेव मिश्र
कात्तिक ५, २०८१ सोमबार १८:२८, काठमाडौँ

गएको भदौ १७ गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरे। सत्ता साझेदार एमालेका चार जना मन्त्रीलाई सरकारमा भित्र्याउँदा स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालय एमालेलाई नै दिए।

एमाले र माओवादी केन्द्र मिल्दाको बेला सत्ता जोगाउन सहयोग गरेका मनाङेलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालय दिए। 

तर, मनाङेले सो मन्त्रालय स्वीकारेनन्।

उनले भनिदिए, ‘सबै अधिकार संघमा भएपछि यहाँ वनमारा र तीतेपाती मात्रै हेर्नलाई मन्त्री किन चाहियो? त्यो त रेन्जरले हेरे भइहाल्छ। म काम गर्न खोज्ने मान्छे हो, वन मन्त्रालयमा गएर मैले के गर्ने?’

उनले आफ्ना स्वकीय सचिव किरण अधिकारीमार्फत राजीनामा बुझाए। मुख्यमन्त्रीले स्वीकृत गरे। त्यसअघि उनले नेपाली कांग्रेसबाट टकराज अधिकारीलाई अर्थ र पोखराका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइसकेका थिए।

कांग्रेसको राजनीतिमा मुख्यमन्त्री पाण्डेसहित दुवै मन्त्री सभापति शेरबहादुर देउवानिकट हुन्। कांग्रेसभित्र सभापतिइतरको समूहलाई पनि मन्त्री दिनुपर्ने माग चर्को थियो। मुख्यमन्त्रीले सत्ता जोगाउन सघाएका मनाङे र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई आफ्नो कोटामा नै मन्त्री बनाउने भनेपछि उनीहरू तैँ चुप, मै चुप’ बने। 

जब मनाङले मन्त्री छाडे, तब कांग्रेसमा मन्त्री बन्ने दौड सुरु भयो। 

बाजीचाहिँ लमजुङका भेषबहादुर पौडेलले मारे, जसले लमजुङ ‘ख’ बाट एमाले अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई हराउँदै उनले प्रदेश सभामा प्रवेश पाएका थिए।

लमजुङ कांग्रेसका निवर्तमान सभापतिसमेत रहेका उनले अधिकारीलाई ७ सय ५४ मतान्तरले पराजित गरेका थिए।

पौडेलले १९ हजार ५५७ मत पाउँदा एमालेका अधिकारीले १८ हजार ८०४ मत प्राप्त गरेका थिए। भेषबहादुर पार्टीमा शेखर कोइराला र महामन्त्री गगन थापानिकट मानिन्छन्।

त्यही आधारमा एउटै जिल्लाका दुईजनालाई मन्त्री बनाउन मुख्यमन्त्री पाण्डे राजी बनेको कांग्रेसका एक सांसदले बताए।

संयोग कस्तो भने भेषबहादुर दीपक मनाङेको गृहजिल्ला मनाङको प्रवेशद्वार लमजुङ सदरमुकाम बेँसीसहरमा ‘गेटवे हिमालय रिसोर्ट’ चलाउँछन्। सांसद बनेपछि भने उनले त्यसलाई भाडामा लगाएका छन्। 

पोखराकै गण्डकी बोर्डिङ पढेका उनी शालीन स्वभावका छन्। उनलाई सोमबार नै गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad