गण्डकी


डा. जगमान गुरुङ, जो आफ्नै समुदायबाट बहिष्करणमा पर्दा पनि दसैँप्रति प्रतिबद्ध छन्

हिन्दुधर्म प्रचारक भएकै कारण विश्व हिन्दु महासंघबाट पाए ‘नेपाल ऋषि’ उपाधि
डा. जगमान गुरुङ, जो आफ्नै समुदायबाट बहिष्करणमा पर्दा पनि दसैँप्रति प्रतिबद्ध छन्

दसैँमा धार्मिक कर्मकाण्ड गर्दै डा. जगमान गुरुङ


वाशुदेव मिश्र
असोज २७, २०८१ आइतबार १५:४८, पोखरा

२०८० भदौ १२ गते विश्व हिन्दु महासंघले संस्कृतिविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधि दियो। सामाजिक सद्‌भाव र धार्मिक सद्‌भाव विषयक कार्यक्रममा दिइएको उक्त सम्मानलाई डा. जगमानले ७७ वर्षपछिको न्वारानका रूपमा अर्थ्याए।

त्यसयता नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहेका जगमान स्वयं सामाजिक सञ्जाल (फेसबुक) मा ‘नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ’को नामबाट सक्रिय छन्।

डा. जगमान गुरुङ

कास्कीको मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटमा २००४ साउन १४ गते जन्मेका डा. जगमान संस्कृतिविद् हुन्। स्नातकोत्तर गर्दा प्रस्तुत ‘नेपालको एकीकरणमा गुरुङहरूको भूमिका’ विषयक शोधपत्रले उनलाई चर्चामा ल्यायो। २०३६ सालमा डा. हर्क गुरुङको मन्तव्यसहित बौद्ध अर्घौं सदन पोखराले सो शोधपत्रलाई पुस्तकका रूपमा छपायो। पारिवारिक विरासतबाट प्राप्त ज्योतिष विद्याप्रतिको रुचिलाई उनले अध्ययनमा बदले र कलकत्ताको विश्व ज्योतिष विद्यापीठबाट ज्योतिषशास्त्रमा विद्यावारिधि गरे।

उनको विद्यावारिधिको शोधपत्रको विषय ‘सिनो-तिब्बटेन एस्ट्रोलोजिकल सिस्टम एमोङ दि गुरुङ अफ गण्डकी रिजन’ थियो। उनी आफूलाई नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहलाई सघाउने १८ जनामध्ये एक गुरुङ खलकका सन्ततिका रूपमा चिनाउँछन्। राजाका प्रतिनिधि ‘मीर उमरा’का रूपमा २०३२ सालभन्दा अगाडि लमजुङमा पर्ने तथा ताङतिङ, घ्याम्राङ, याङ्जाकोट, भाचोक, नागिधार र पाख्रीकोट याङजाकोटको हर्ताकर्ता उनकै बाउबाजे थिए।

ती सबै क्षेत्र उनीहरूकै अम्बलभित्र पर्थे। राजाका प्रतिनिधि भएकाले गाउँमा हुने झैझडा मिलाउनेदेखि न्याय दिनेसम्मका काम पनि उनकै पितापुर्खाको जिम्मेवारीमा थियो। ज्योतिष विद्यामा उनका पुर्खा पहिल्यैदेखि संलग्न लागेका थिए। जगमानभन्दा ८ पुस्ताअघिका चामु क्ह्रोँगिलामा गुरुङले  १८५२ सालमै तन्त्रमन्त्रको संग्रह ‘जन्त्रवली’ लेखेर छाडेका थिए। जगमानमा जेठा बा हर्कजंगले ज्योतिष परम्परा धानेका थिए। पछि उनी आफैँ यो विद्या अध्ययनमा लागे। इतिहासविद् धनबज्र बज्राचार्यसँगको संगतले उनी अनुसन्धानमा तानिए। अहिले पनि उनी अनुसन्धानकै कर्ममा छन्। 

संस्कृतिविद डा. जगमान यत्तिमा मात्र सीमित छैनन्। पछिल्लो समय उनी नेपालभर घुमिरहेका छन्। प्रवचन दिन्छन्। गुरुङ समुदायका यी डाक्टरले हिन्दु धर्म र संस्कृतिबारे गर्ने टिप्पणीको प्रशंसा र आलोचना दुवै हुन्छ। कतिसम्म भने केही समयअघिसम्म गुरुङ समुदायबाटै यी डाक्टरले बहिष्कार र हेला भोग्नुपर्‍यो। यसको कारणचाहिँ उनले गुरुङहरू शक्तिका पुजारी र हिन्दु धर्मावलम्बी भएको भनेर दिने अभिव्यक्ति नै हो।

जातीय राज्यको आवाज उठेका बेला उनी यसको विपक्षमा देखिए। गुरुङहरूले नै ‘दसैँ-तिहार हाम्रो चाड हैन’ भन्दा उनी विपक्षमा उभिए। पछिल्लो समय गुरुङ समुदायले आफूलाई बौद्धमार्गीकै रूपमा चिनाइरहेको छ। जगमान भने खाँटी हिन्दुवादी देखिइरहेका छन्।

अर्कातर्फ गुरुङहरूको शक्तिशाली जातीय संस्था तमु धिँ नेपाल स्वयं पहिचानसहितको संघीयताका पक्षमा हुँदा जगमान विपक्षमा रहे। जसका कारण उनी आलोचनाको पात्र मात्र बनेनन्, बहिष्करणमै परे। तर, पछि तमु धिँले उनलाई स्वीकार्‍यो। देश जातीय पहिचानसहितको राज्यको मुद्दाभन्दा अगाडि बढिसकेको छ। तर, यो माग गर्नेहरू हराएका छैनन्। जगमान त्यो कुरा रुचाउन्नन्। हिन्दु धर्म र संस्कृति अनि इतिहासबारे कुरा गर्न पनि छाड्दैनन्। त्यसैले त उनले विश्व हिन्दु महासंघबाट ‘नेपाल ऋषि’ सम्मान पाए। 

नेपालका गुरुङहरूको आफ्नै मौलिक परम्परा र पहिचान भएको कुरा जगमानसहित सबै गुरुङ अगुवालाई थाहा छ। आफ्नै जातीय संगठनले दसैँ-तिहार नमनाउने निर्णय गरे पनि जगमानसहित गुरुङको ठूलो पंंक्तिले कुलको परम्परा छाडेनन्। जसका कारण तमु धिँ नेपालले नै बाध्य भएर ‘तिहारमा भैलो नखेल्नू’ भन्ने विज्ञप्ति जारी गर्न छाड्यो।

राज्य स्वंयले सबैभन्दा लामो बिदा, कर्मचारीलाई दसैँभत्ता अनि जगमानले भनेजस्तै कोत र मन्दिरहरूमा बलिको व्यवस्था गरिदिने यो पर्वलाई राष्ट्रिय पर्व भन्दा अत्युक्ति हुँदैन। तर, पछिल्लो समय दसैँ र तिहार व्यवसायीको पर्व भएका छन्। वर्षभर हुने कूल कारोबारको झन्डै ८० प्रतिशत हिस्सा दसैँ र तिहारकै छेकोमा हुन्छ। त्यसैले यो पर्वको विरोधभन्दा पनि अवसरलाई सबैले उपयोग गरिरहेको देखिन्छ।

जगमानको हकमा भने यो पर्वसँग उनको पारिवारिक विरासत र आस्था जोडिएको छ। पछिल्लो समय हिन्दु धर्मका खरो प्रचारकजस्ता देखिएका जगमान राजाबाट कोत (तत्कालीन राजाहरूको सामरिक किल्ला) को रक्षकको उपाधि पाएको अनि राजाकै अगाडि मौलो वा दुर्गापूजाको शपथ खाएकाले गुरुङहरू नै बलि प्रथाको मतियार भएको जिकिर गर्छन्। 

डा. जगमान गुरुङ

उनी आफ्नो थातथलो याङ्जाकोटमा घटस्थापनाको दिनदेखि विजयादशमीसम्म पूजापाठ, कोतपूजा, मौलोपूजामा सामेल भएको जानकारी सामाजिक सञ्जालमार्फत दिइरहेका हुन्छन्। दसैँमा जनजातिले किन ‘सेतो टीका र जमरा’ लगाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा दिने उत्तरले मात्र होइन, पण्डितलाई नै माथ खुवाउने गरी गरेको कर्मकाण्डले पनि उनी चर्चित छन्।

दसैँको धार्मिक विधि गर्दै डा. जगमान गुरुङ

दसैँभर जगमानले के गरे? 
उनले दसैँ र गुरुङहरूबारे फेसबुकमै लामो लेख लेखे। जसमा उनले भनेका छन्-

याङ्जाकोटको कोटघरमा नगरापूजा
असोज १६ गते बुधबार, आश्विन कृष्ण औँशी-जमरेऔँशीको बिहान ६ गाउँको थुम याङजाकोटको क्वेंधीँ (कोटघर) मा अघि ६ गाउँ याङ्जाकोटका मीर उमरा कुग्याल्बु क्ह्रोँगी लामा गुरुङको पालादेखिको थिति परम्पराअनुसार नगरा पूजा सुसम्पन्न भयो। पुस्ताको हस्तान्तरण र दक्षताको हस्तान्तरण आजको आवश्कयता हो। कोटघरमा नगरापूजा गरेर नगरा लगाएपछि याङ्जाकोटाको दुर्गा मन्दिरमा नगरा लगाएर सेवा लगाउने र दुर्गा भवानीलाई बक्साउने काम गरिन्छ। त्यसपछि ६ बीस याङ्जाकोटको घरैपिच्छे नगरा लगाएर बडादसैँ आएको शुभ सन्देश दिइन्छ।

कोटलाई संस्कृतमा कोट्ट, नेपालीमा कोट, नेपाल भाषामा क्वाठ र गुरुङ भाषामा क्वे भनिन्छ। कोट एउटा सामरिक किल्ला र प्रशासनिक केन्द्र हो। नेपालीमा कोटको उमरा र घाटको माझी भन्ने उखान छ। किनभने कोटको मुख्य व्यक्तिलाई उमरा भन्दछ। ती उमराहरूमध्येका प्रमुख उमरालाई मीर उमरा भन्दछ। नेपाल भाषामा क्वाठ नायक प्रधान भन्दछ।

अघि राजतन्त्रात्मक राज्यकालमा राज्यमा राज्याधिकारी र धर्माधिकारी दुइटा पद थिए। बाइसे, चौबीसे राज्यकालमा राजालाई तखतमा चढेका राजा भन्दथे। कालान्तरमा गद्दासीन श्री ५ महाराजाधिराज भन्न थालियो। त्यस अवस्थामा तखतमा चढेका राजा अथवा श्री ५ महाराजाधिराजलाई राज्याधिकारी  र राजाका श्री ६ बडागुरुज्यूलाई धर्माधिकारी मानिन्थ्यो। राजा भएका दरबार र कोटहरूमा राज्याधिकारी राजाले पानी समाउने र राजाका गुरु पुरोहितले संकल्प वाक्य बोलेर दुर्गापूजा र मौलोपूजा गरिन्थ्यो। राजा नभएका कोटमा उमरा, मीर उमरा, तालुकदार, जिम्मावाल, मुखियाले राज्याधिकारी राजाको प्रतिनिधि भएर पानी समाउने र धर्माधिकारी श्री ६ बडागुरुज्यूको प्रतिनिधि ब्राह्मण पुरोहितले संकल्प वाक्य भनेर दुर्गापूजा र मौलोपूजा गरिन्थ्यो। कोट नभएका गाउँहरूमा मुखियाकै आँगनमा मौलो गाडेर मौलोपूजा गरिन्थ्यो।

गुरुङहरूमा आफ्नै थिति परम्पराअनुसार दसैँ मान्ने परम्परा थियो। लमजुङका राजा यशोब्रह्म शाहका पालादेखि गुरुङहरूमा हिन्दूविधिले दुर्गापूजा गरेर दसैँ मान्ने  परम्परा भित्रियो।  यशोब्रह्म शाहले गुरुङहरूलाई नमासिने चोखो मतवाली जात र क्षेत्री-ठकुरीसरह खुँडा हान्ने जातमा दराइदिए। खुँडा हान्ने जातमा दरिएपछि गुरुङहरूले गाउँका तालुकदार, जिम्मावाल, मुखिया; गढी गौँडाका द्वारे र कोटका उमरा र मीर उमरा भएर राज्यको शासनमा सहभागी हुन पाए। यशोब्रह्म शाहले लमजुङ चारनाल (मादी पूर्व र मर्स्याङ्दी पश्चिमको इलाका) र उँभो खोला (बाहुनडाँडादेखि उँभो र मनाङको सुकेखोलादेखि उँधोको इलाका) का घले, गुरुङ र लामालाई उमराली मानको पगरी दिएका थिए।

त्यस इलाकामा जग्गाको जाँच गरेर माना-मुठीको आधारमा तिरो उठाइने थिएन। उमराहरूले राजालाई सालबसाली रूपमा नगदी वा जिन्सी सिर्तो तिरेर शासन गर्दथे। वि. सं.१८६२ मा किल्ला काँगडातिरको युद्धको उद्योग चल्दा देवीदेवताको गुठी हरण भयो। ब्राह्मणको कुशबिर्ता हरण भयो तर लमजुङ चारनाल र उँभोखोला समेतमा गुरुङ उमराहरूको सिर्तोविर्ता यथावत् कायम थियो। 

लमजुङ, पुरानोकोटका मुखिया कोके गुरुङ थिए। अहिले पनि लमजुङ, पुरानोकोटको मौलोमा तीनै कोके मुखियाका सन्तान कोके गुरुङले कर्ता भएर पूजा गर्दछन्। लमजुङ, पुरानोकोटको चण्डी मन्दिरमा कोके गुरुङले शाह राजाहरूको पुस्तावली फलाकेर पूजा गर्दछन्। लमजुङ, रागिनासकोटका द्वारे तुलाराम फिब्रोँ लामा गुरुङ थिए। तिनै द्वारे तुलाराम फिब्रोँ लामा गुरुङका वंशज रागिनासकोटका मुखिया थिए। द्रव्य शाहले लमजुङबाट गोरखा प्रवेश गर्दा उनलाई १८ जना गुरुङ उमराहरूले साथ दिएका थिए।

गोरखाको सिरानचोकलाई बाह्र थरी र सात वराहले घेरेर राखेको छ। गोरखाको सिरानचोक द्रव्य शाहको पालाका गणेश पाण्डे र किल्ला काँगडाका योद्धा बडाकाजी अमरसिंह थापाको थलो हो तर सिरानचोकका बाह्रथरी र सात वराहमध्ये सिरानचोकका महामुखियाचाहिँ सिरानचोक, थालाजुङ, रामचेका गोफ्ले साहिँला गोलबहादुर कोके गुरुङ हुनुहुन्थ्यो। उहाँलाई मैले भेटेको छु। यसैगरी सिरानचोकका द्वारे दर्लामी गुरुङ थिए।

सिरानचोक, तल्लो पामका द्वारे माहिला टंकमान दर्लामी गुरुङलाई पनि मैले भेटेको छु। गोरखा अजिरकोटका हजार कुरियाका मुखिया चैबर लामछाने गुरुङ थिए। गोरखा, आपुन थुम एघार गाउँ रैतीका जिम्मावाल डम्बरराज लामछाने गुरुङ हुनुहुन्थ्यो। वहाँलाई पनि मैले भेटेको छु। गोरखा, सिम्जुङका उमरा सै गुरुङ थिए। तिनै सिम्जुङे उमराकै गुरुङका सन्तान लामछाने गुरुङहरू सिम्जुङका मुखिया थिए। अमर घले र रघु घले गोरखा, बारपाकका उमरा थिए। तमु ह्युल छोजधिँका पूर्वकेन्द्रीय अध्यक्ष रेशम फेवाली प्हज्यू गुरुङका बाज्ये गोरखा, भुमलिचोकका जिम्मावाल थिए।

शंक गुरुङ, किसन गुरुङ र मधु गुरुङ चितवन, कविलासपुरगढीका उमरा थिए। तनहुँ, पुर्कोटका महामुखिया स्टाफ सार्जेन्ट दिलीपसिंह फेवाली फहज्यू  गुरुङ हुनुहुन्थ्यो। उहाँ मेरो मित्र हुनुहुन्छ। तमु ह्युल छोजधिँ केन्द्रीय समितिका निवर्तमान महासचिव धनमान फेवाली प्हज्यू गुरुङका पिता तनहूँ क्यामिनका मुखिया थिए। कास्कीको रुपाकोट, वरथोकमा लमजुङको भुजुङबाट आएका पोम गुरुङ मुखिया छन्।

अघि २००० ढोरका महामुखिया जसपुरका मनध्वज कोने लामछाने गुरुङ थिए। ढोर, लामागाउँका पैँडि खलकका ल्हवाँ गुरुङहरू आफ्नै घरको आगनमा मौलो गाडेर दसैँ मान्दछन्। स्याङ्जा, नुवाकोटका मुखिया नुवाकोट, देउरालीका घोताने गुरुङ थिए। कास्कीको भुम्दिकोटमा तगुह्रोँ घोताने गुरुङ मुखिया थिए। कास्कीको पाउँदुरकोटका मुखिया टुट लामछाने गुरुङ थिए। पर्वतको दुर्लुङकोटका मुखिया म्हिगिह्रोँ घोताने गुरुङ थिए।

अघि घान्द्रुङका पा प्ल्हन लामछाने गुरुङ र वीरवल प्ल्हन लामछाने गुरुङले पर्वतका राजा कीर्तिवम मल्ललाई रु.५००।- ले सहयोग गरी घान्द्रुङको आँडिखेत १०० मुरी र ६ वलक भोग गर्ने अख्तियार पाएका थिए। कास्कीको चौर निवासी सुब्बा प्रह्लाद ङेह्रोँ पैँगी लामा गुरुङले वि. सं.१८७२ वैशाख ६ गते राजगढको युद्धमा अंग्रेजका नायक अक्टरलोनीको तासकुचिनको झण्डा र तरवार खोसेर ल्याएका थिए।

उक्त झण्डा र तरवारको आजसम्म सरकारी गुठीबाट नित्य नैमित्य पूजा हुँदै छ। कास्कीको झुप्राङकोटमा गर्लाङका मुखिया घोताने गुरुङले कर्ता भएर पूजा गर्दछन्। अन्तिम समय ताका कास्कीको अर्मलाकोटका मुखिया केशर टुँ घ्याबुँ गुरुङ थिए। साविक लमजुङ हाल कास्की, ६ गाउँ, घ्याम्राङका तिरिजका धनी जिम्मावाल मुखिया सन्तवीर नम्जु क्रोम्छैँ गुरुङ थिए। ६ गाउँमा दसजना गुरुङ उमराहरू थिए। ती दस उमरामध्ये राज्याधिकारी राजाको प्रतिनिधि भएर ६ गाउँको थुम याङ्जाकोटको मौलोपूजा गर्ने उमराचाहिँ मीर उमरा कहलाउँदथ्यो।

कुग्याल्बु क्ह्रोँगि लामा गुरुङ, सान्के कामी र मान्के दमाईँले ६ गाउँ याङ्जाकोटको थुम जमाएका थिए। यी गुरुङ मुखिया, महामुखिया, द्वारे, उमरा र मीर उमराहरू केवल एउटा उदाहरण मात्र हो। यस्ता धेरै उदाहरण छन्, जसलाई यहाँ समेट्न सकिएको छैन।

गुरुङहरू अघि शाहकालमा खुँडाहान्ने जातमा दरिएका थिए। यसैगरी राणाकालमा दुवालवन्दी सिपाहीमा दरिएका थिए। नेपालमा खुँडा हान्ने जातमा दरिएका र दुवालबन्दी सिपाहीमा दरिएका जातलाई भारतमा गोरखा पल्टनमा भर्ती गर्दथे। त्यसकारण गुरुङले जात ढाँटेर गोरखा पल्टनमा भर्ती हुन परेन। अहिले दसैँ मान्नु/नमान्नु आफ्नो खुसी हो तर अघि गुरुङका पुर्खाले राजासँग बोल कबोल गरेर मौलो गाडेर दसैँ मानेर मान पदवी पाएको हुँदा अहिलेका गुरुङहरूले यो ऐश्वर्य बेहोर्न पाएको हो। यो कुरा हामी सबैले राम्ररी बुझ्न सक्नुपर्दछ।

मौलो पूजा 
२०८१ असोज २५ गते शुक्रबार। महानवमीको महान् अवसरमा साविक लमजुङ हाल कास्की ६ गाउँको थुम याङ्जाकोटमा विधिपूर्वक इष्टदेवी श्री ६ गाउँ याङ्जाकोटका दुर्गा भवानी र  मौलोपूजा सम्पन्न भयो। ६ गाउँ याङ्जाकोटका मीर उमरा कुग्याल्बु क्ह्रोँगि लामा गुरुङका वंशज मेरो कान्छा छोरा जगतजङ्ग क्ह्रोँगि लामा गुरुङले कर्ता भएर कर्म गरे। अघि कास्कीका राजा जगदी खान शाहीका पालामा तारकाङको लामछानेथोक कुशविर्ता पाएका धीरता पाध्या लामछानेका वंशज याङ्जाकोटका कुल पुरोहित गर्ग गोत्रीय उपाध्याय ब्राह्मण मुक्तिनाथ लामछानेले उप्रेतको काम गरे। सान्के कामीका सन्तान नन्दराम विकले खुँडामा बाड (सान) लगाए। मान्के दमाईंका सन्तान ठूलो टेकबहादुर नगर्ची (देउबहादुर माहिला) ले सहनाइमा रासको राग बजाए। सानो टेकबहादुर (नगर्ची-गोरे), तुलाराम नगर्ची, ज्वाइँ सन्तराम नगर्चीले नगरा लगाए। सुश्री हेमा क्ह्रोँगि लामा गुरुङको संयोजकत्वमा चेलीबेटीहरूले मालश्री गाए। यसरी याङ्जाकोटको दुर्गा भवानी र मौलोपूजा सुसम्पन्न भयो। 

बडादसैँको टीका सम्पन्न 
२०८१ असोज २६ गते, शनिबार। बडादसैँको टीकाका दिन याङ्जाकोटको कोटघरमा बडादसैँको टीका सम्पन्न भयो। देवीपूजा विसर्जन गरी देवी कलशलाई ढोग गरेर घटस्थापना गरेको झारी र अरु पञ्चकलशको जल अभिषेक गरियो। त्यसपछि सेतो , रातो धजा र सिन्दूरको टीका लगाइयो। त्यसपछि ११/३६ को शुभ साइतमा श्रीदुर्गा भवानी, कुलदेवता श्रीज्ञान चतुर्वाहु महाकाल  र तीनवटै कुलका पितृहरूलाई टीका र जमरा चढाइयो। त्यसपछि घरको मूल थाम र घरको मूलढोका माथि टीका र जमरा लगाइयो। त्यसपछि घरको मूल थाममा निधार जोरेर कुलदेवता र पितृबाट टीका थाप्ने कार्य सम्पन्न भयो। त्यसपछि अग्रज मान्यजनबाट टीका थाप्ने र अनुजहरूलाई टीका लगाइदिने कार्य सम्पन्न भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad