ad ad

गण्डकी


एमाले पोखराको नेतृत्वका लागि पृथ्वीसुब्बा र खगराजको समर्थनमा गुटगत प्रतिस्पर्धा

एमाले पोखराको नेतृत्वका लागि पृथ्वीसुब्बा र खगराजको समर्थनमा गुटगत प्रतिस्पर्धा

नेपालखबर
जेठ २०, २०८१ आइतबार २२:१२, पोखरा

एमाले पोखरा महानगरको नेतृत्वको लागि पूर्वअध्यक्ष दीपक पौडेल र वर्तमान सचिव जीवन आचार्य मैदानमा ओर्लेका छन्।

दीपक एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि बनेको पोखरा महानगर कमिटीको अध्यक्ष थिए। जीवन भने पहिलो अधिवेशनबाट सचिवमा आएका हुन्।

पोखराको पृथ्वीनारायण क्याम्पसको विद्यार्थी राजनीतिमा हुँदा नै चर्चित जीवन तथा शिक्षक संगठनको जिल्ला अध्यक्ष हुँदै लामो राजनीतिक यात्रा तय गरेका दीपकले अध्यक्षको आकांक्षा देखाइरहँदा उनीहरु एक्लै मैदानमा छैनन्। दुवैले गुट नै बनाएका छन्।

जीवन आचार्यको प्यानलबाट उपाध्यक्षमा नरेन्द्र ढुंगाना, सचिवमा सुशील बस्नेत र उपसचिवमा विष्णु गौतम अनि हरिमाया बिकले उम्मेदवारी दिएका छन्।

दीपक पौडेलको प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दीनेशबाबु खड्का र उपसचिवद्वयमा लालबहादुर राना र वडा किरण गौतम मैदानमा छन्। सदस्यहरुमा पनि ध्रुवीकरण उस्तै छ।

नेतृत्वको लागि सोमबार बिहान विद्युतीय मेसिनबाट मतदान हुँदैछ। सहमतिको प्रयास असफल भएपछि निर्वाचन कमिटीले दोस्रो अधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया अगाडि बढाएको हो।

पोखरा महानगरपालिकाको मेयरको टिकट घोषणा भए पनि अन्तिममा नाम काटिएका दीपक यसअघि एमाले कास्कीकै अध्यक्ष बन्न चाहन्थे तर उनको आकांक्षा पूरा भएन।

उनलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, निवर्तमान जिल्ला अध्यक्ष तथा संघीय सांसद मनबहादुर गुरुङ, केन्द्रीय सदस्य जगत विश्वकर्मालगायतको साथ रहेको छ। चुनावी कमाण्डर भने केन्द्रीय सदस्य जगत विश्वकर्मा छन्।

उता, जीवनलाई एमाले स्थायी कमिटी सदस्य तथा गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, केन्द्रीय सदस्य कृष्ण थापालगायतको साथ छ।

यसअघि गण्डकी प्रदेश नेतृत्व आफ्नो पक्षमा पारे पनि पृथ्वीसुब्बा समूह कास्कीमा कमजोर देखिएको छ। गएको चैतमा भएको जिल्ला अधिवेशनमा प्यानल नै जितेको खगराज समूह यतिबेला उत्साही मात्र छैन, इतर पक्षमा गएकाहरुलाई पनि आफ्नै पक्षमा ल्याउने अभियानमा देखिएको छ।

दीपक समूहले मिसन ८४ लाई सफल पार्न आफ्नो प्यानललाई मत दिन आग्रह गरेको छ भने जीवन समूहले युृवा नेतृत्वको नारा अगाडि सारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .