ad ad

गण्डकी


सर्वोच्चको परमादेशपछि मुख्यमन्त्रीको शपथ लिन काठमाडौँबाट पोखरा फर्किँदै पाण्डे

राप्रपाले सघाउने, कांग्रेस संसदीय दलको बैठक बस्दै
सर्वोच्चको परमादेशपछि मुख्यमन्त्रीको शपथ लिन काठमाडौँबाट पोखरा फर्किँदै पाण्डे

फाइल तस्बिर : सुरेन्द्र पाण्डे


वाशुदेव मिश्र
जेठ १५, २०८१ मंगलबार ९:४९, पोखरा

सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेसँगै नेपाली कांग्रेस रणनीति निर्माणमा जुटेको छ। 

यसैका लागि आज दिउँसो ३ बजेका लागि कांग्रेस संसदीय दलको बैठक बोलाइएको दलका उपनेता विन्दुकुमार थापाले जानकारी दिए।

सोही बैठकले आगामी रणनीतिदेखि मन्त्री चयनसम्मका विषय टुंग्याउने उनले बताए। 

साँझसम्म मुख्यमन्त्रीका रूपमा शपथ लिने तयारीका साथ काठमाडौँमा रहेका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पोखरा आउँदै छन्।

नीति तथा कार्यक्रम अनि बजेट बनाउनुपर्ने भएकाले सुरेन्द्रसामु तत्काल अर्थमन्त्री नियुक्त गर्नुपर्ने बाध्यता छ।

तर, त्यसभन्दा पनि आउँदा दिनमा कसरी अगाडि बढ्ने भन्ने रणनीति उनका लागि झन् महत्त्वपूर्ण छ।

किनकि, संविधानको धारा १६८ को उपधारा ३ अर्थात् ठूलो दलको हैसियतले मुख्यमन्त्री बने पनि एक महिनाभित्र बहुमत जुटाउन कांग्रेसलाई सकस छ।

कांग्रेससँग २७ जना सांसद मात्र छन्। ६० सदस्यीय संसद्‌मा बहुमत जुटाउन उसलाई थप ४ सांसदको समर्थन चाहिन्छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग २ जना सांसद छन् । स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गर्दा पनि ३१ पुग्दैन। त्यस्तोमा माओवादी केन्द्रबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाको समर्थन कांग्रेसलाई अपरिहार्य छ।

कांग्रेस अहिले त्यसैको तयारीमा लागेको छ।

स्रोतका अनुसार सुरेन्द्रराज आज नै राप्रपाका संसदीय दलका नेता पञ्चराम गुरुङ तथा दीपक मनाङेलाई मन्त्रीका रूपमा शपथ गराउन चाहन्छन्।

राप्रपाले भने तत्काल सरकारमा जाने मन बनाएको छैन। तर, राप्रपा यसपटक कांग्रेसलाई सघाउन तयार देखिएको छ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले फेरिएको परिस्थितिमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने बताए।

‘हामी तत्काल सरकारमा त जाँदैनौँ तर समर्थन भने रहन्छ, हाम्रो लाइन यही हुन्छ ,’गृह जिल्ला गोरखामा रहेका श्रेष्ठले टेलिफोनमा नेपालखबरसँग भने,‘ यति भनेपछि तपाईंले बुझ्नुभयो नि!’

उनको संकेत तत्काल सुरेन्द्रराज नेतृत्वको सरकारलाई समर्थन दिएर सजिलो बनाइदिने र बहुमतको ग्यारेन्टी भएपछि मात्र सरकारमा जाने थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .