ad ad

गण्डकी


मासियो पञ्चायती व्यवस्था, मासिएन पञ्चायत घर

मासियो पञ्चायती व्यवस्था, मासिएन पञ्चायत घर

बागलुङको तमानखोला गाउँपालिका-३, तमान गाउँमा रहेको पञ्चायत घर मर्मत गरिँदै।


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार ७:२, गलकोट (बागलुङ)

बागलुङको तमानखोला गाउँपालिका-३ तमान गाउँमा रहेको जीर्ण पञ्चायत घर गाउँपालिकाले संरक्षण थालेको छ।

गाउँपालिकाले पञ्चायत घरलाई पुनर्निर्माण गरी पाहुना घर र पुस्तकालय बनाउने योजनाका साथ भवन जीर्णोद्वारा गरिरहेको छ। नेपालमा २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भए पनि पञ्चायती व्यवस्था सञ्चालन भएको तमान गाउँको पञ्चायत घर हालसम्म जीवित छ।

उक्त ऐतिहासिक घरलाई गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेर जीर्णोद्वारको काम भइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए। 

इतिहासको संरक्षण गर्न पञ्चायतमा शासन चलाएको घरलाई संरक्षण गरिएको बताए। उक्त घरलाई आन्तरिक पर्यटकलाई बस्ने र पुस्तकालय बनाउने उदेश्यअनुरूप पुनर्निर्माण गरिएको हो। 

‘पञ्चायत ढले पनि घर ढलेको थिएन, गाउँपालिकाले ऐतिहासिक घरलाई संरक्षण गर्न थालेका छौँ, घर पुनर्निमाण गरेर मात्रै भएन, त्यसलाई प्रयोगमा ल्याउन पाहुना राख्ने घर बनाउने र तल्लो तलामा पुस्तकालय बनाउने गाउँपालिकाको योजना छ’, बुढाले भने, ‘निरकुंश पञ्चायती व्यवस्था ढलेर प्रजातन्त्रको पुनःबहाली भए पनि पञ्चायत भवन संरक्षित गर्न गाउँपालिकाले आवश्यक ठानेको छ।’

पञ्चायती व्यवस्थाको झलकका रूपमा रहेको भवनलाई संरक्षण गरेर पर्यटकलाई चिनाउने योजना गाउँपालिकाको छ। पञ्चायतकालमा प्रधान उपप्रधानले यही भवनमा कार्यालय स्थापना गरेर काम गर्ने गरेकोको स्थानीय ललितबहादुर घर्तीमगरले बताए। 

तमान गाउँमा रहेको पञ्चायत कार्यालयबाट वडा नं ५ खुङ्खानी, वडा नं ६ नर्जाखानी, वडा नं ४ लाम्मेला, वडा नं २ बोङ्गादोभानलगायतका स्थानका जनतालाई सेवा प्रदान गरिन्थ्यो। भवनलाई पुनर्निमाण गरी संरक्षण गनुपर्ने स्थानीयको मागलाई गाउँपालिकाले सम्बोधन गरेको भवन पुनर्निर्माण समितिका अध्यक्षसमेत रहेका स्थानीय घर्तीमगरले जानकारी दिए। 

‘यो भवन जीर्ण बनेको थियो, यसको संरक्षण र पुनःउपयोग गर्ने उद्देश्यले पुनर्निमाण गरिएको हो’, उनले भने, ‘भवनको पुनर्निर्माण गरिएसँगै गाउँमा हुने अन्य सामाजिक कामको लागि समेत सहयोग पुग्ने छ।’ भवन निर्माणको यकिन मिति नभए पनि पछिल्लो दशकदेखि भवन जीर्ण अवस्थामा थियो। 

पञ्चायत भवन साविक लुकुरवन, खुङ्गा, नर्जा, खुंखानी, तमान, लाममेला नागरिकले मिलेर निर्माण गरेका थिए। भवन पुनर्निर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भएको समितिका अध्यक्ष घर्तीमगरले बताए। तमानखोला-३ का वडाध्यक्ष झकबहादुर बुढाले भवन सम्पन्न भएपछि केही समय वडा कार्यालय राखिने र पछि पुस्तकालय बनाइने छ।

यहाँबाट गाउँमा केही बदमासी गर्ने, आपराधिक क्रियाकलाप गर्नेलाई सजायसमेत दिइन्थ्यो। तमान पञ्चायत क्षेत्रमा तत्कालीन अवस्थामा खप्रसाद बुढामगर लगायतले शासन गरेको स्थानीयको भनाइ छ। गाउँपालिकाले यसको इतिहास र ककसले शासन गरे भन्नेबारे गाउँपालिकाले खोजी गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .