गण्डकी


घरपालुवा जनावरको हेरचाहको व्यावसायिक योजना उत्कृष्ट घोषित

घरपालुवा जनावरको हेरचाहको व्यावसायिक योजना उत्कृष्ट घोषित

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार २२:२, पोखरा

जनावरप्रतिको मान्छेले कहिलेदेखि प्रेम दर्शाउन थाल्यो? कहिलेदेखि केही जनावरलाई उसले घरपालुवा बनायो? प्रश्नमा घोत्लिने फुसर्द छैन।

तर, सहजै अनुमान लगाउन सकिन्छ, हात्ती–घोडालाई रत्याएर घरपालुवा बनाउने परम्परा सदियौँ पुरानो हो।

हात्ती–घोडा सबैले पाल्दैनन्, सानो क्षेत्रफलमा बनेको घरमा बस्ने सहरीयाको लागि त्यो व्यवहारिक पनि छैन। तर, कुकुर–बिरालाजस्ता जनावरप्रतिको माया भने ‘व्यस्त सहरीया’ले पनि छाड्न सकेका छैनन्। कतिले सुरक्षा र कतिले सोखले यी जनावर पालिरहेका छन्।

तर, हेरचाह नि? यो प्रश्नमा भने सहरीयाहरुले सोच्नुपर्ने भएको छ। कुकुर पाल्ने तर सार्वजनिक ठाउँ र सडकमा शौच गराउने,अर्कालाई दुःख दिने प्रवृत्तिबाट सहरीयाहरु मुक्त छैनन्।

आफैंले पालेका घरपालुवा जनावरलाई पनि उनीहरुले न्याय दिन सकेका छैनन्। दिनभर साँघुरो ठाउँमा थुनेर राख्ने, भनेको बेला खान नदिने अनि उचित स्याहार–सुसार नगर्ने प्रवृत्ति बढ्दो छ।

पशु अधिकारको पक्षमा भएका कानून कार्यान्वयनमा आउँदा त उनीहरुलाई आपत नै पर्ने सम्भावना पनि छ।

त्यसो भए गर्ने के त? उपायको पनि खोजी भएको छ। त्यस्ता पशुप्रेमीलाई सघाउने गरी युवाहरुको एक समूहले त्यो समस्या समाधान गरिदिने भएको छ।

नेपाल युवा उद्यमी मञ्च पोखराले आयोजनामा वैशाख १७ देखि २८ गतेसम्म चलेको ‘लिडर प्रोजेक्ट’ मा सहभागी युवाहरुले यस्तो नूतन व्यावसायिक विचार जन्माएका हुन्।

सो कार्यशालामा उनीहरुले घरपालुवा जनावरको हेरचाह र सुरक्षा कसरी गर्न सकिन्छ भन्ने योजनामात्र प्रस्तुत गरेनन्, त्यसलाई व्यावसायिक बनाउन सकिने तर्क पनि प्रस्तुत गरे।

त्यही योजना र तर्कलाई स्वीकार्दै युवा उद्यमी मञ्च पोखराले १० जनाको ‘पब्ज हेभन’ समूहलाई विजेता घोषणा गर्यो। उनीहरुलाई प्रोत्साहनस्वरुप ५० हजार रुपैयाँ नगदले सम्मान गरिएको युवा उद्यमी मञ्च पोखराका अध्यक्ष निरन केसीले जानकारी दिए।

उनका अनुसार ४० जना युवाहरु सहभागी सो कार्यशाला क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयसँगको सहकार्यमा आइभी बिजनेश स्कूलका विद्यार्थीद्वारा सञ्चालित थियो।

कार्यशालामा सहभागीहरुलाई विभिन्न १० समूहमा विभाजन गरी नूतन व्यावसायिक योजना बनाउन लगाइएको कार्यक्रम संयोजक तथा मञ्चका कार्यसमिती सदस्य निकेश द्वाले जानकारी दिए।

पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ, गोसेली समूहका निर्देशक सुनिलकुमार गोसेली र कर्माचार्य ग्रुपका निर्देशक विक्रम कर्माचार्य सम्मिलित निर्णायक समूहले प्रस्तुत योजनामध्ये उत्कृष्ट छनोट गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .