गण्डकी


आठौँ पोखरा स्पोर्ट्स अवार्ड : अर्जुन र सुस्मिता वर्ष उत्कृष्ट खेलाडी

आठौँ पोखरा स्पोर्ट्स अवार्ड : अर्जुन र सुस्मिता वर्ष उत्कृष्ट खेलाडी

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार २२:१०, पोखरा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले हात पारेका छन्। यो विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए।

वर्ष खेलाडी महिला विधाको अवार्ड आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले हात पारिन्। यो विधामा सुस्मितासँगै आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा परेका थिए।  

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्न सफल भए।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा भएको उदियमान खेलाडी विधाको अवार्ड व्याडमिन्टनकी दिलासा रानाको पोल्टामा पयो। राना सहित क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की यो विधाको मनोनयनमा परेका थिए।

वर्ष उत्कृष्ट प्रशिक्षक विधामा भलिबलका रमेश केसी अब्बल बने। केसी सहित टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजु  मनोनयनमा परेका थिए। वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे। उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अर्पण गरियो। मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो। वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरियो। वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरियो। 

वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड प्राप्त गरे।

यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान  गरियो।

अवार्ड बिजेता तथा मनोनयनमा पर्न सफल सबैजनालाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिलामन्त्री हरिबहादुर चुमान, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता सुन्दास, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललगायतले अवार्ड र मनोनयन ट्रफीसहितका पुरस्कार हस्तान्तरण गरे। अवार्ड वितरण गर्न रोहितराज पराजुलीको संयोजकत्वमा प्रतिभा छनोट समिति निर्माण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .