ad ad

गण्डकी


‘नेपालको अर्थतन्त्र लयमा छैन तर ल्याउन सकिन्छ’

रातो र कालो चामललाई विश्वबजारमा लैजानुपर्नेमा निर्वाणको जोड
‘नेपालको अर्थतन्त्र लयमा छैन तर ल्याउन सकिन्छ’

नेपालखबर
फागुन ६, २०८० आइतबार २०:३५, पोखरा

नेपाललाई आर्थिक समृद्धितर्फ कसरी लैजान सकिन्छ भन्ने विषयमा आइतबार पोखरामा छलफल भएको छ। लिटरेचर फेस्टिभलको चौथो दिन व्यवसायी निर्वाण चौधरी र अर्थशास्त्री समीर खतिवडासँग छलफल भएको हो, जसको सहजीकरण अर्का व्यवसायी निरञ्जन श्रेष्ठले गरेका थिए।

अर्थशास्त्री खतिवडाका अनुसार नेपालको अर्थतन्त्रमा दीर्घकालीन रुपमा दुई मुख्य ठूला समस्या रहेका छन्। जसमा आर्थिक वृद्धिदर कमजोर हुनु र रोजगारी सिर्जना गर्न नसक्नु हुन्। त्यस्तै निजी क्षेत्र र सरोकारवाला निकायबीच समन्वको अभाव, सही ठाउँमा लगानी हुन नसक्नु, अस्वस्थ कर्मचारीतन्त्र आदि अहिलेका समस्या रहेको उनले बताए।

हाल विद्यमान समस्याका बारेमा बोल्दै चौधरीले नेपालको परम्परागत कृषि पद्धति तथा पर्यटन व्यवसायमा परिवर्तन ल्याउनु पहिलो आवश्यकता रहेको जनाए। देश समृद्धितर्फ उन्मुख हुने सम्भावना अझ रहेको बताउँदै उनले भने, ‘भारतमा पनि १५/२० वर्ष अगाडि ब्रेन ड्रेनको समस्या थियो। बिस्तारै सही दिशामा जाँदैछ। भुटान, बंगलादेश, श्रीलंका पनि नेपालका लागि उदाहरण बनिसकेका छन्।’

‘भारतमा स्पेशल इकोनोमिक जोनमा उद्योग स्थापनाको लागि ठाउँको व्यवस्थापन, कर छुट तथा नीतिगत रुपमा विभिन्न सुविधा दिइएको हुन्छ। त्यसो गर्दा स्थानीयले रोजगारी पाउँछन्। यो त्यहाँ पछिल्लो १५ वर्षमा देखिएको परिवर्तन हो,’ उनले भने, ‘अहिले अस्तित्वमा रहेका प्रविधिको प्रयोग गर्न नसक्दा कृषिमा आधारित अर्थतन्त्र भएर पनि हामीले चामल मगाउनुपर्ने अवस्था छ।’

रातो चामल, कालो चामलजस्ता नेपालका विभिन्न ठाउँमा उत्पादन हुने मौलिक अन्नलाई विश्व बजारमा लैजान नसक्दा त्यसको फाइदा उठाउन नसकिएको उनले बताए।

त्यस्तै नीतिगत अस्थिरता नेपालको अर्को कमजोरी रहेको खतिवडाले बताए। निजी क्षेत्र असफल हुँदा देशको अर्थतन्त्रमा पनि धक्का लाग्ने जिकिर गर्दै उनले भने, ‘हाम्रोमा जस्तो करको दायरामा चलखेल अरु देशमा देखिँदैन। नीतिगत भ्रष्टाचारले गर्दा निजी क्षेत्र मारमा परेका छन्।’

नीति बनाउनमा निजी क्षेत्रको प्रत्यक्ष हात नभए पनि निजी क्षेत्रले गर्न सक्ने ठाउँ धेरै रहेको चौधरीले बताए। पछिल्लो पाँच वर्षमा खुलेका १५ चाउचाउ कम्पनी मध्ये १० कम्पनी बन्द भएको बताउँदै त्यसमा ती कम्पनीको बजार व्यवस्थापन तथा आन्तरिक रणनीति नै मुल कारक रहेको उनले जनाए। निजी क्षेत्रमै पनि पुरानोलाई बचाउन गाह्रो भइरहेका बेला नयाँमा कसरी लगानी गर्ने भन्ने मानसिकता रहेको उनको भनाइ थियो। साथै नीतिगत रुपमा स्थिरता आएपछि मात्रै आर्थिक समृद्धि हाँसिल हुनेमा उनले जोड दिए।

आर्थिक वृद्धिको चाहना गरेर जादुको अपेक्षा गर्ने र सिस्टम मै हेराफेरी गर्नु नेपालको अर्को ठूलो समस्या रहेको अर्थशास्त्री खतिवडाले बताए।

‘बिहार र युपीमा पनि औद्योगीकरण नभएसम्म वृद्धि हाँसिल गर्न सकिँदैन भन्ने बुझेर लगानी गरेका छन्,’ भारतका राज्यको उदाहरण दिँदै उनले भने, ‘त्यहाँ गारमेन्टमा काम गर्ने त्यसमा सिप भएका जनशक्ति धेरै छन्। जसलाई मध्यनजर गर्दै त्यहाँको सरोकारवाला निकायले जनतालाई घर मै बसेर काम गर्ने वातावरण बनाइदियो।’

साथै दक्ष जनशक्ति उत्पादनका लागि राज्यबाट लगानी हुनुपर्ने र त्यसले विदेशी कम्पनीलाई आकर्षित गर्न सक्ने उनले बताए।  

उनका अनुसार नेपालले अहिलेको अवस्थामा बंगलादेशको जस्तो अर्थतन्त्र बनाउनका लागि अझै दश वर्षसम्म ७ प्रतिशतका दरले र श्रीलंका जस्तो बन्नको लागि सोही दर २५ वर्षसम्म निरन्तर आर्थिक वृद्धि गर्नुपर्ने अवस्था छ।

नीति बनाउने काम गर्दा उक्त तथ्य सम्झिनुपर्ने र छिमेकी राष्ट्रहरुको सफलताका कथाबाट सिक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘बंगलादेशमा १५ वर्ष अगाडी मात्रै पनि गार्मेन्ट क्षेत्र एकदमै कम थियो। जुन क्षेत्र अहिले बंगलादेश इकोनोमीको एंकरको रुपमा रहेको छ।’

निजी क्षेत्र प्रतिको धारणा फेर्न र निर्यात कसरी बढाउने भन्नेमा गम्भिर भएर सोच्नुपर्ने उनले बताए।  

त्यस्तै चौधरीले नेपालको आर्थतन्त्र सबल बनाउनका लागि देशको भौगोलिक अवस्थिति तथा अन्तरराष्ट्रिय सम्बन्ध तथा यहाँका प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .