अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) को पोखराको लेकसाइडमा २५औँ संस्करणको सडक महोत्सवको तयारी पूरा भएको छ।
आज रेवानले पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको छ। पर्यटन प्रवर्द्धनका लागि कोशेढुङ्गा सावित हुँदै गएको सडक महोत्सव यही पुस १२ देखि १६ गतेसम्म (डिसेम्बर २८ देखि जनवरी १ तारिख) पाँच दिनसम्म हुँदैछ।
‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ महोत्सवलाई पर्यटकमुखी बनाउन विभिन्न सरोकारवालहरुसँग छलफल गरेर सोही अनुरुपका गतिविधि समेटिएको रेवानका प्रथम उपाध्यक्ष एवम महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिए।
महोत्सवमा मुख्य आर्कषकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता समेटिएको छ।
पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरुको विषयमा टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको पौडेलले जानकारी दिए।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ब्राण्ड बनेको सडक महोत्सवमा शान्ति सुरक्षा लगायतका विषयलाई पनि ध्यान दिएर विभिन्न उपसमिति बनाइएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए। उनका अनुसार महोत्सवमा बालबालिकाहरुका लागि चित्रकला र साहसिक खेलकुदहरुको वृत्त चित्र प्रर्दशनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन महोत्सव क्षेत्रभित्र विभिन्न तरिकाका सजावट गरिएको छ। करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सडक महोत्सवमा ३० प्रकारका स्थानीय खाना रहने छन्।
पोखराको पर्यटन प्रवर्द्धनमा सडक महोत्सवको भूमिका महत्वपूर्ण रहेको जनाउँदै आगामी दिनमा परिष्कृत र परिमार्जित गर्दै नवितम सोचका साथ महोत्सवलाई लैजानु पर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यलय प्रमुख नविन पोखेलले बताए। रासस
Shares

प्रतिक्रिया