गण्डकी


गाउँमा आएका अतिथिलाई चोयाको डोकोमा रायोको साग उपहार!

गाउँमा आएका अतिथिलाई चोयाको डोकोमा रायोको साग उपहार!

तस्बिर : रासस


रासस
पुस ९, २०८० सोमबार १३:११, काठमाडौँ

आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो। 

कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए। 

मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अतिथिलाई निगालोको सानो डोकोमा रायोको साग हालेर मायाको चिनो थमाए।
 
बागलुङबाट पुगेका धेरै अतिथिले अचम्म र अनौठो मानेर फोटो खिचाएनन् मात्रै सामाजिक सञ्जालमा स्थानीय उत्पादनको प्रवर्द्धन भएको भन्दै धेरेले प्रशंसासमेत गरेका छन्। 

मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री होला भन्ने धेरैले अड्कल गरे पनि स्थानीय उत्पादन रायोको सागले भरिएको सानो निगालोको चोयाका डोको उपहार पाउँदा अतिथि दङ्ग परेका बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठले बताए। 

'रायडाँडाको रायोको साग भनेपछि बजारमा खोजेरै खाइन्थो। औपचारिक कार्यक्रममा निगालोको सानो डोकोमै मायाको चिनो आउला भनेर कसैले सोचेनौँ', नगरप्रमुख श्रेष्ठले भने, 'स्थानीय निगालोबाट बनेको डोको र रायोको सागको प्रवर्द्धनका लागि यो निकै राम्रो काको सुरुआत भएको छ। कार्यक्रममा प्रयोग हुनुका साथै स्थानीय उत्पादनलाई मायाको चिनो दिने अभियान थालेका छौँ।' 

उनका अनुसार नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रुपमा रहेको वडा नं ११ रायडाँडा कृषिमा निकै सम्भावना भएको गाउँ हो। 

रायडाँडाको धारापानीका किसानले साग बिक्रीबाटै मनग्य आम्दानी गर्दै आएकाले थप प्रचारप्रसारका लागि मायाको चिनोका रुपमा चोयाबाट बनेको डोकोमा साग हालेर दिइएको बागलुङ–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए।

साग खाने र डोको सजाएर राख्न सकिने भन्दै यहाँको स्थानीय उत्पादनसँग वडा कार्यालय जोडिन खोजेको उनको भनाइ छ।

'यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट हुन्छ। स्थानीय बजारका साथै पोखरासम्म पुग्ने गरेको पाएका छौँ। सुरुमा सहकारीमार्फत सागको बजारीकरण गर्न बानी बसालेका थियौँ। अहिले कृषक आफैँ बजारमा साग पुर्‍याउनुहुन्छ,' गौतमले भने, 'बागलुङ नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, जिल्लाका क्रियाशील पत्रकारलाई मायाको चिनो दिँदा सागको माग बढ्ने र यहाँको उत्पादनले बजार पाउने अपेक्षासहित १३ जना अतिथिलाई डोकोमा राखिएको साग उपहार दिएका हौँ।'

रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मनिर्भर रहेको छ। यहाँका किसानले तीन महिनादेखि दैनिक एक जिपभरी सागमात्रै बागलुङ बजार पठाउँदै आएका स्थानीय हिराबहादुर थापाले बताए। 

यहाँका बालिका, रुद्रबहादुर, दलबहादुर, चन्द्रबहादुर, तिल माया र टीकाबहादुर थापाले वार्षिक दुई लाखसम्म सागबाटै कमाउने गरी पाखोबारीभरी खेती गर्दै आएका उनले बताए। 

रायडाँडा बसाइँ सराइको चपेटामा रहे पनि धारापानी भने बगर बस्ती भएकाले यहाँबाट कम बसाइँसराइ हुने गरेको छ। यहाँका स्थानीयले रायोको सागसँगै मूला, काउली र बन्दासमेत उत्पादन गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad