ad ad

गण्डकी


सुरक्षा खोज्दै डाक्टर, छानबिन माग्दै सडकमा मृतकका आफन्त (तस्बिरहरू)

सुरक्षा खोज्दै डाक्टर, छानबिन माग्दै सडकमा मृतकका आफन्त (तस्बिरहरू)

वाशुदेव मिश्र
असोज १०, २०८० बुधबार १६:९, पोखरा

पोखराको फूलबारीमा रहेको मणिपाल अस्पतालमा सोमबार लमजुङ सुन्दरबजार नगरपालिका ६ घर भएकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले  डाक्टरहरुबाट लापर्वाहीको आरोप लगाए।

मृतकका आफन्तहरु आन्दोलित हुँदा स्वास्थ्यकर्मीहरुसँग झडप भयो। अस्पतालका सिसाहरु फुटे। सोही उपक्रममा डाक्टरमाथि हातपात गरियो। डाक्टर दीनेशकुमार बिक सामान्य घाइते भए।

प्रहरीले हातपातमा संलग्न भएको आरोपमा मृतकका आफन्त पोखरा ५ मालेपाटन बस्ने ३४ वर्षीय विनय गुरुङसहित डाक्टर दीनेशकुमार बिकलाई पनि नियन्त्रणमा लियो। प्रहरीले डाक्टर बिकलाई आफन्तको जिम्मा लगाएको छ भने हातपातमा संलग्न स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा दिन सात ९७० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ।

सोही घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित बने। उनीहरु आकस्मिकबाहेकका सवै सेवा बन्द गरेर सडकमा आएका छन् भने मृतकका आफन्तहरुले पनि घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्। दुवै पक्षबीच मंगलबार दिनभर भएको सहमतिको प्रयास विफल भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले बताएका छन्।

विवादको निरुपण नहुँदा बुधबार स्वास्थ्यकर्मी र मृतकका आफन्त दुवै सडकमा आएका छन्। सडकमा निस्केका डाक्टरहरुले पोखराको सभागृह, सृजनाचोक, राष्ट्रबैंक चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की पुगेर सुरक्षाको माग गरेका छन्। डाक्टरमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ।

र्‍यालीमा निस्केका डाक्टरहरुले ‘स्वास्थ्यकर्मी सबै विदेश जाऊँ, देश धामी झाक्रीलाई छोडौं’, स्वास्थ्य संकटकाल घोषणा गर, सेतो कोटमा रातो दाग, सुरक्षित चिकित्सा हाम्रो माग, काँपेको हातले उपचार गर्न सक्दैन, लाचार भै बस्दैनौ अब भन्नेजस्ता प्लेकार्ड बोकेका थिए। डाक्टरहरुको आन्दोलनको कारण बुधबार पनि पोखरामा अस्पतालहरुमा आकस्मिकबाहेकको सेवा बन्द छ।

उता, मृतकका आफन्तहरुले पनि घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गर्दै पोखराको महेन्द्रपुलमा कोणसभा आयोजना गरे। कोणसभामा दुरा समाजका अगुवा,मृतककी छोरी तिला दुरासहित उनका शुभेच्छुकहरु उपस्थित थिए।

धर्नामा उपस्थित भएकी मृतककी छोरी तिलाले डाक्टरहरुले आमाको मृत्युको कारण बताउन नखोजेको र कारण सोध्दा आफूसहित दिदीकी ९ महिने शिशुलाई पनि ८ घण्टासम्म बन्धक बनाइएको आरोप लगाइन्।

‘सामान्य बिरामी भएपछि आमालाई हामीले मणिपाल ल्याएका हौं, पछि मृत्यु भयो भनियो, कारण सोध्दा डाक्टरहरु हुल बाँधेर आए, कसैको हातमा सलाइनको डण्डी,कसैको हातमा चक्कु थियो, उनीहरुले हामीमाथि अभद्र व्यहार गरे,’उनले रुँदै भनिन्,‘हामी  भिक्टिम हौं,उल्टै हामीमाथि आरोप लगाइको छ। हामीले पनि यति धेरै पैसा तिरेका छौं, कुन औषधि चलाइयो, कसले हेरेको थियो र मृत्युको कारण के थियो भन्ने जान्न पाउने हाम्रो अधिकार हो।’

दुरा समाज कास्कीका सचिव नवराज दुराले अस्तालले मानवीय व्यवहार प्रदर्शन नगरेको र उल्टै पीडितलाई धम्क्याएको आरोप लगाए।

कोणसभामा बोल्दै मृतकका शुभेच्छुक पशुपति भट्टराईले स्थानीय प्रशासनले अस्पतालले गरेको लापर्वाही लुकाउन खोजेको र पीडितलाई झन पीडा दिएको आरोप लगाए। उनले न्याय नपाए अन्तिममा मणिपाल केन्द्रीत आन्दोलन गरिने चेतावनी पनि दिए। सो उपक्रममा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना पनि गरे।

मणिपाल घटनाको क्रममा सुरक्षा दिन पुगेका वडा प्रहरी कार्यालय बैदाकका डीएसपी वेद जोशी र सो घटनाको क्रममा डाक्टरलाई कुटपीट गरेर आएँ भन्दे भिडियोमा देखिएका प्रहरी निरीक्षक मदन श्रेष्ठलाई गृहमन्त्रालयको २४ घण्टे ठाडो आदेशमा प्रहरीको केन्द्रीय कार्यालय बोलाएर गृहमन्त्रीले यो घटना दबाउन खोजेको उनको भनाइ थियो।

दुवै पक्ष सडकमा आउँदा र मृतकका आफन्तले राजमार्गसहितका चोकमा कोणसभा गर्दा यहाँको यातायात पनि अस्तव्यस्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .