गण्डकी


सीतालाई पोखराको हावापानीमा सहज होला ठानेर यतै घर बनाउन चाहन्थे प्रचण्ड

सीतालाई पोखराको हावापानीमा सहज होला ठानेर यतै घर बनाउन चाहन्थे प्रचण्ड

वाशुदेव मिश्र
असार २८, २०८० बिहिबार १२:१८, पोखरा

कास्कीको हेमजा ९ (हाल पोखरा–२६ मिलनचोक) बाट महेश्वर पौडेल पत्नी हरिकलासहित दुई छोरी र एउटा छोरा च्यापेर २०१८ सालमा चितवन झरे। चितवन सुन्दरबस्तीको नयाँ घरमा बहिनी र भाइको हेरचाहको जिम्मा जेठी छोरी सीताकै काँधमा थियो।

तर २०२६ सालमा १५ वर्षकै उमेरमा  सीतालाई डोली चढाइयो। उनी कास्कीको लेवाडेबाट बसाइँ सरेर चितवन झरेका आफूभन्दा ६ महिना कान्छा पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी बनिन्। प्रचण्डले ‘भावनात्मक घर’ मा धुरी पाए। सीताले प्रचण्डलाई धुरीकै रुपमा ओत दिइरहिन्। 

२०७४ सालको चुनावताका प्रचण्डलाई केही शुभेच्छुकहरूले कास्कीबाट निर्वाचन लड्न सुझाए। एकातिर पत्नी बिरामी, अर्कोतिर ‘चलायमान’ चितवनको निर्वाचन क्षेत्र। प्रचण्डले शुभेच्छुकहरूको आग्रहलाई मनासिव ठाने।

पोखरा भ्रमणमा आएका बेला प्रचण्डलाई जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडेको एउटा जग्गा देखाइयो।  भूपी शेरचन राजमार्ग छेवैमा रहेको सो जग्गा पर्यटन व्यवसायी हरिध्वज तुलाचनको थियो। हिमाल देखिने, बाटोको नजिक र क्षेत्रफल पनि राम्रो भएकाले प्रचण्ड स्वयंले सो जग्गाप्रति रुचि देखाए। तर,पछि जग्गा किनिएन। उनी चितवनबाटै चुनाव लडे।

‘जन्मथलोसँग नाता पनि जोडिने र पोखरा आएको बेला बस्न पनि हुने ठानेर त्यो बेला अध्यक्षले जग्गाप्रति चासो देखाउनुभएको हो,’ माओवादीका एक नेताले भने,‘तर पछि कुरा अगाडि बढेन।’ ती नेताका अनुसार बिरामी सीताको मन बहलाउन र चिसो ठाउँमा बस्दा रोग निको हुन्छ कि भन्ने ठानेर पनि प्रचण्डले जग्गाप्रति चासो देखाएका थिए। पोखराको हावापानीमा सीतालाई सहज होला भन्ने उनले ठानेका थिए।

हाल हेमजामा बस्दै आएका सीताका भतिजा टीकाराम पौडेलका अनुसार खुला राजनीतिमा आएसँगै सीताको हेमजा आउजाउ बढेको थियो।

‘दुवै पक्षका नातेदार यतै भएकाले आएका बेला पस्न छुटाउनुहुन्नथ्यो, भेटमा सामान्य कुराकानी हुन्थ्यो। दिदीबाट भाइभारदार बनाउनुपर्छ भन्ने कुरा हुँदैनथ्यो। राष्ट्रकै लागि सोच्नुपर्छ भन्नुहुन्थ्यो,’उनले भने। त्यसो त जन्मथलो र ससुराली गाउँप्रति प्रचण्डको मोह पनि कम्ता चाहिँ थिएन। पछिल्लो समय पोखरा आउँदा अक्सर उनी जन्मथलो लेवाडे र ससुराली पस्न छुटाउँदैनथे।

असार १५ र १६ गते भएको मुख्यमन्त्रीहरूको भेलाको लागि पोखरा आएको बेला पनि उनी ससुराली पुगेका थिए। ‘उहाँ आउनुभएको थियो, यहाँ आएर आफन्तका नातिलाई काखमा लिनुभएको हो,’ टीकारामले भने। प्रचण्डको सचिवालयले त्यो दिन केही तस्बिर सार्वजनिक गर्दे प्रधानमन्त्रीले कास्कीको अन्नपूर्ण २ का स्थानीयसँग अन्तर्क्रिया गरेको बताएका थिए।

पछिल्लो चुनावमा पनि प्रचण्डलाई कास्की क्षेत्र नम्बर ३ बाट चुनाव लड्न आग्रह गरिएको थियो। तर, प्रचण्डले गोरखा रोजे। यही असार १५ गते  नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसहित पोखरा उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेको थियो। भेटको बेला महासंघका पूर्वअध्यक्ष मुल्मीले प्रचण्डसँग ‘जन्मथलोमा घर बनाउनुपर्ने’ सुझाव दिएका थिए।

प्रत्युत्तरमा प्रचण्डले मुस्कुराउँदै भनेका थिए,‘हो, त्यो बारे पनि सोच्नुपर्ने।’ तर, यहाँबाट फर्केको दुई हप्ता नपुग्दै उनले पत्नी गुमाएका छन्। पत्नी वियोगसँगै भावनात्मक घरको छानो उडेपछि अब सम्भवत: प्रचण्ड भौतिक घरबारे सोच्नेछन्।

त्यो अन्तिम भाइटीका 
‘दिदीको बिहे हुँदा म दुई वर्षको थिएँ, विहेको कुरा सम्झने कुरा भएन तर दिदी लगभग २०३७ सालसम्म चितवन घरमै बस्नुभयो, हामी आउजाउ गरिरहन्थ्यौँ, ’सीताका साहिँला भाइ हिमराज पौडेलले भने, ‘अघिल्लो वर्षको तिहारमा दिदीसँग टीका लगाएका हौँ। त्यो बेला पनि दिदीलाई सञ्चो थिएन। गएको वर्ष त दिदी अस्पतालमा हुनुहुन्थ्यो।’ 

उनका अनुसार त्यो सालको तिहारमा उनीहरू तीन दाजुभाइ नै दिदीसँग टीका थाप्न अस्पताल पुगेका थिए। उनीहरूका चारमध्ये माइला दाजुको निधन भइसकेको छ। सीता त्यो बेला पनि स्वस्थ थिइनन्। ‘बोल्न त्यति सहज थिएन। भाञ्जीहरूले हात समातेर लगाइदिनुभएको हो,’ उनले भने, ‘अरु जस्तै नर्मल स्वभाव थियो दिदीको। दिदीले भूमिगत हुने निर्णय गर्दा पनि हामी उहाँसँग नै थियौँ,’ पौडेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .