ad ad

गण्डकी


पत्रकार महासंघ कास्कीको ‘पोखरा पत्रकारिता सम्मान’ लक्ष्मी हाउसलाई

पत्रकार महासंघ कास्कीको ‘पोखरा पत्रकारिता सम्मान’ लक्ष्मी हाउसलाई

नेपालखबर
असार १२, २०८० मंगलबार १९:४६, काठमाडौँ

नेपाल पत्रकार महासंघ कास्की शाखाले यहाँको प्रसिद्ध व्यापारिक घराना लक्ष्मी हाउसलाई सम्मान गरेको छ।

पत्रकार महासंघ कास्कीको ४७ औं स्थापना दिवसका अवसर पारेर ‘पोखरा पत्रकारिता सम्मान २०७८’बाट सम्मानित गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकीका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले लक्ष्मी हाउसका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई सो सम्मानपत्र र दोसल्लाले सम्मानित गरे।

महासंघ कास्की शाखाकी अध्यक्ष विमला भण्डारीका अनुसार पत्रकारिताको विकासमा योगदान गर्ने व्यक्ति वा संस्थालाई सो सम्मानबाट सम्मानित गरिन्छ। कोभिड–१९ का कारण रोकिएको सम्मान अपर्ण कार्यक्रम स्थापना दिवसको अवसरमा आयोजना गरिएको हो। लक्ष्मी हाउसले नेपाल पत्रकार महासंघको भवन निर्माणमा ठूलो आर्थिक सहयोग गरेको छ।

लक्ष्मी हाउसअन्तर्गत नेपालको लागि हुण्डाईको आधिकारिक बिक्रेता,सुजल फुड्स,सुजल डेरीलगायतका दर्जनौं उद्योग संचालित छन्।

लक्ष्मी हाउस पोखराका अध्यक्ष गणेश बहादुर श्रेष्ठले सत्यमा आधारित समाचार प्रक्षेपण गर्न पत्रकारलाई अनुरोध गरे। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राज्यले ध्यान दिनुपर्ने बताए।

‘नेपालमा जग्गा जमिन बाँझो छ, गोलभेंडादेखि प्याजसम्म विदेशबाट ल्याउनुपरेको छ, हाम्रो बाँझो जमिनमा गोलभेंडा,वनमा ओखर–स्याउ किन लगाउन सकिँदैन?,’उनले भने,‘ उत्पादन बढाउनतिर लागौं।’

गण्डकीका आर्थिक मामिलामन्त्री आलेले चाहिँ बजेट कसरी बनाउने भन्नेबारे प्रदेशमा अहिलेसम्म विधि नबनेको बताउँदै प्राथमिकतामा पर्नुपर्ने क्षेत्रले बजेट नपाउने अवस्था रहेको खुलासा गरे।

उनले लोकतन्त्रमा विश्वास गर्ने राज्यले आलोचना स्वीकार्ने बताउँदै पत्रकारलाई निर्धक्क भएर कलम चलाउन आग्रह गरे। सामाजिक सञ्जालमा आएका सूचनालाई स्रोत मानेर समाचार लेख्दा कुन समाचार सत्य र कुन समाचार असत्य हो भन्ने भ्रम पैदा भएको बताए।  

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् प्राध्यापक डा. सुरेश आचार्यले पत्रकार र पत्रकार महासंघको सदस्य फरक कुरा भएको बताए। उनले सबै पत्रकारहरु महासंघको सदस्य हुन्छन् भन्ने नभएको उल्लेख गरे।

यता,नेपाल पत्रकार महासंघ कास्कीले स्थापना दिवसको अवसर पारेर ‘पत्रकारितामा स्वार्थको टकराव’ विषयक दुईदिने कार्यशालासमेत आयोजना गरेको छ। कार्यशालामा युनिभर्सिटी अफ अटवा, क्यानाडाका प्राध्यापक डा. भानुभक्त आचार्य र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्य, पत्रकार वाशुदेव मिश्रले सहजीकरण गरेका संघका सचिव माधव बरालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .