तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र शव भेटिएकी महिला पहिचान भएको छ।
मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र मृत फेला परेकी महिला चिनिएको हो।
अन्दाजी २५–३० वर्षीया उनी व्यास नगरपालिकाकै वडा नम्बर १४ छाब्दी निवासी रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
घटनामा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
उनले भने, ‘लगभग सनाखत भएको छ, एकजनालाई अनुसन्धान गरिरहेका छौँ। पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ।’
अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रहरी नायब उपरीक्षक खाँणको भनाइ छ।
बोराभित्र हात बाँधिएको अवस्थामा ती महिलाको शव भेटिएको थियो। उक्त बाटो हिँडडुल गर्ने स्थानीयले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। रासस
Shares

प्रतिक्रिया