ad ad

गण्डकी


१५ सालका सांसदका छोरा जीतप्रकाश गण्डकीका अर्थमन्त्री

१५ सालका सांसदका छोरा जीतप्रकाश गण्डकीका अर्थमन्त्री

शुक्रबार अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका जीतप्रकाश आले।


वाशुदेव मिश्र
बैशाख २९, २०८० शुक्रबार २१:५८, पोखरा

२०७४ सालको प्रदेशसभा चुनावमा तनहुँ क्षेत्र नम्बर १ ‘ख’ बाट एमालेका किरण गुरुङ विजयी भए। उनले कांग्रेसका ध्रुव वाग्लेलाई १ हजार ४१६ मतले हराए। मुख्यमन्त्री नै दाबी गरेका किरणपछि पृथ्वीसुब्बा नेतृत्व सरकारमा दोस्रो बरियताका अर्थमन्त्री बने। 

२०७९ को चुनावमा भने उल्टो भयो। संघीय सांसद आँकेका किरण उम्मेदवार बनेनन्। उनको सट्टा सो क्षेत्रबाट एमालेले केदार सिग्देललाई उम्मेदवार बनायो।

कांग्रेसबाट जिल्ला सभापति जीतप्रकाश आलेले उम्मेदवारी दिए। आलेले १३ हजार ८६० मत पाए भने सिग्देलले १३ हजार २२० मा चित्त बुझाए।

संयोग कस्तो भने, गण्डकीमा कांग्रेस नेतृत्वको सरकार बन्दा सोही क्षेत्रबाट विजयी जीतप्रकाशले पनि अर्थमन्त्रालयकै जिम्मेवारी पाएका छन्।

तनहुँको सो क्षेत्र दुईपटकसम्म अर्थमन्त्री पाउने भाग्यमानी बनेको छ। 

त्यसो त, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गर्दासम्म जीतप्रकाश मन्त्री हुँदैछन् भन्ने कतै चुहिएन।

२०१८ पुसमा तनहुँको भिमाद नगरपालिका ५ मिछुर्लुङमा जन्मेका र जिल्ला सभापति रहेका जीतवप्रकाशको नाम अन्तिम समयमा सार्वजनिक भयो।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट एकमात्र सांसद रहेका राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने चर्चा चल्दा उनको नाम कसैले सम्झेन।

तर, मुख्यमन्त्रीलाई अर्थमन्त्रालयको जिम्मेवारी अर्थ बुझेकालाई नै थमाउनु थियो। त्यसमाथि नेपाली कांग्रेसका संस्थापन पक्षका एवं पुराना कांग्रेसी नेता पदमबहादुर आलेका सुपूत्रको पक्षमा केन्द्रीय सदस्य शंकर भण्डारीले पनि जोडबल गरे।

अन्ततः मनाङे बाहिरिँदा सालीन स्वभावका जीतप्रकाशले जीतको खुसी मनाउन पाए। 

जीतप्रकाशसँग अर्को संयोग पनि जोडिएको छ। उनी जन्मनुभन्दा तीन वर्ष अगाडि नै पिता पदमबहादुर आले नेपाली कांग्रेसको तर्फबाट सांसद भइसकेका थिए।

२०१५ सालको चुनावमा तत्कालीन क्षेत्र नम्बर १०२ बाट उम्मेदवार बनेका पदमबहादुरलाई कांग्रेस सभापति बीपी कोइराला, महामन्त्री श्रीभद्र शर्माहरूले नै टिकट दिएका थिए। उनले आफूलाई प्रमाणित गरे। सांसद चुनिए।

तर, राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेकाले उनी लामो समय सांसद हुन भने पाएनन्। बरु, जीवनभर पञ्चायतको तारो बने।

पिताको पथ समाउँदै कांग्रेसको राजनीतिमा होमिएका छोरा अहिले सांसदसँगै मन्त्री बनेका छन्। उनीसामु गण्डकीको आर्थिक सामथ्र्य बढाउने र समृद्ध प्रदेश बनाउने जिम्मेवारी आइलागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .