कास्कीका एमाले र माओवादी केन्द्र आबद्ध विद्यार्थी संगठनहरुले संयुक्त मोर्चा बनाएर स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लड्ने भएका छन्।
उनीहरुबीच पोखरामा रहेका पृथ्वीनारायण क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, संस्कृत क्याम्पस, नर्सिङ र जनप्रियमा एमाले अखिललाई नेतृत्व दिने सहमति भएको छ भने इञ्जिनियरिङ अध्ययन संस्थान लामाचौर क्याम्पसको सभापति अखिल क्रान्तिकारीलाई दिने निर्णय सहमति गरिएको छ।
सहमतिमा एमाले कास्कीका इन्चार्ज कृष्ण थापा र माओवादी केन्द्र कास्की इन्चार्ज राजकाजी गुरुङ करणले हस्ताक्षर गरेका छन्। यो निर्णयसँगै राष्ट्रपति निर्वाचनमा फरक बाटो समातेका एमाले र माओवादीका विद्यार्थी कास्कीमा भने एउटै खेमामा आएका छन्।
‘विद्यार्थीको सहमतिलाई समर्थन गरियो, पृथ्वीनारायण क्याम्पसमा सचिव, फरेस्ट्रीमा दुई सदस्य, संस्कृतमा सचिवसहित केही पद, जनप्रियमा सचिव, नर्सिङमा केही सदस्य लिने र इञ्जिनियरिङ क्याम्पसको सभापति अखिल क्रान्तिकारीले लिने गरी सहमति भयो,’ माओवादी कास्की इन्चार्ज राजकाजी गुरुङ करणले भने, ‘विद्यार्थीको कुरो हो, यसले हाम्रो केन्द्रमा भएको गठबन्धनलाई असर गर्दैन।’
उनले नेपाली कांग्रेस कास्कीले समयमा निर्णय नगरेको र गएको स्थानीय निर्वाचनमा जस्तै माओवादीलाई बाहिर राख्ने सम्भावना रहेकाले पनि विद्यार्थीको आग्रह अनुसार एमाले अखिलसँग सहमति गरेको जिकिर गरे।
गएको स्थानीय चुनावमा माओवादीले पोखरा महानगरपालिका केही वडाध्यक्षको माग गरे पनि कांग्रेसले अस्वीकार गरेको थियो।
स्ववियु चुनाव कार्यतालिका अनुसार शनिबार मनोनयन दर्ताको कार्यक्रम छ। यता, पोखराको सबैभन्दा ठूलो पृथ्वीनारायण क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ।
Shares
प्रतिक्रिया