ad ad

गण्डकी


कर्जामा ब्याजदर बढाएको विरोधमा पोखराका उद्योगी/व्यवसायी सडकमा

सिंहदरबार घेर्ने चेतावनी
कर्जामा ब्याजदर बढाएको विरोधमा पोखराका उद्योगी/व्यवसायी सडकमा

नेपालखबर
फागुन ११, २०७९ बिहिबार २१:३८, पाेखरा

पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध सडकमै उत्रेर विरोध जनाएका छन्। 

पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायीहरु सडकमा ओर्लिएका हुन्। विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले पोखराको चिल्लेढुंगाका चोकमा एक घण्टासम्म प्रदर्शनग गरे।

कार्यक्रममा पोखरा र लेखनाथ क्षेत्रमा रहेका विभिन्न बस्तुगत संघ,यातायात व्यवसायसँग सम्बन्धित संस्था, प्याब्सन, एनप्याब्सनलगायतको सहभागिता रहेको थियो। 

विरोध कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले बैंकले कर्जामा गरेको ब्याजदर वृद्धिले उद्योगी/व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुगेको जिकिर गरे। उनले उद्योग/व्यवसाय बन्द हुनु भनेको अर्थतन्त्र धरासायी हुनु हो भन्दै यो समस्याप्रति राजनीतिक दलहरुको धारणा सार्वजनिक हुनुपर्ने माग गरे।

‘भूकम्प, बाढीपहिरोजस्ता विपत्ति अनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिन्छ भने व्यवसायीको समस्याका किन नखोज्ने?,’उनको प्रश्न थियो।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले विरोधलाई सांकेतिक अभियानको रुपमा व्याख्या गर्दै बैंकको ज्यादतिविरुद्धको आन्दोलन देशव्यापी बनाउने उद्घोष गरे।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जामा गरिएको ब्याज वृद्धि,धरपकड एवं मानसिक आतंकले सीमा नाघेकाले बाध्य भएर सडकमा आउनु परेको बताए। उनले लामो समयदेखि निजी क्षेत्रले बैंकले कर्जामा बढाएको ब्याजदर घटाउन माग गरिरहे पनि नसुनिएको जिकिर गरे। 

‘हामीले ऋणको किस्स्ता र ब्याज तिदैनौं भनेकै छैनौं। हाम्रो माग भनेको एकाएक र एकतर्फी रुपले बढाइएको ब्याज घटाऊ र ऋणको किस्ताको पुनर्तालिकीकरण गर भन्ने मात्र हो,’,उनले भने,‘ अहिले अवस्था ठीक छैन, हाम्रो व्यापार छैन। व्यापार हुनासाथ कर्जा तिर्छौं,समय देऊ भन्ने सामान्य माग पनि नसुन्ने सरकार देखेर हामी दुखित भएका छौं।’

उनले शान्तिपूर्ण आवाजलाई सुनिएन भने हामी काठमाडौं नै पुगेर आन्दोलन गर्ने चेतावनी पनि दिए।

‘ब्याजदर घटेन भने हामी बाध्य भएर व्यवसायको ताला–चाबी सरकारलाई बुझाउन बाध्य हुनेछौं,’उनले भने।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले विरोध कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिँदै आउँदा दिनमा गरिने सशक्त आन्दोलनको लागि तयार रहन आग्रह गरे।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .