ad ad

गण्डकी


चालक निदाउँदा पोखरामा बस दुर्घटना

पीयूको दीक्षान्त समारोहमा सहभागी हुन आएका विद्यार्थी घाइते
चालक निदाउँदा पोखरामा बस दुर्घटना

वाशुदेव मिश्र
फागुन ७, २०७९ आइतबार २२:११, पाेखरा

चालकले मादक पदार्थ सेवन गरी बस चलाएकै कारण पोखरामा बस दुर्घटना भएको पुष्टि भएको छ। आइतबार दिउसो ४५ जना यात्रु बोकेको बस लेखनाथमा सडकबाट २५ मिटर तल खोल्सामा खसेको थियो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले चालकको पूर्ण लापरवाहीका कारण दुर्घटना भएको बताए। प्रारम्भिक अनुसन्धानबाट चालकले मादक पदार्थ वा नसालु पदार्थ खाएका कारण दुर्घटना भएको देखिएको उनले सुनाए।

‘प्रारम्भिक अनुसन्धानले चालकको पूर्ण लापरवाही देखिएको छ। उहाँको मेडिकल जाँच गर्छौं, रिपोर्ट के आउँछ,’ उनले भने,‘दुर्घटनामा ४५ जना यात्रु र चालक र सहचालक गरी ४७ जना घाइते भएका छन्।’ 

उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। प्रहरी चौकी नजिकै रहेकाले समयमै घाइतको उद्धार भएको उनले सुनाए।  

बसमा रहेका अधिकांश यात्रुहरु विद्यार्थी थिए। उनीहरु पोखरा विश्वविद्यालयको सोमबार हुने दीक्षान्त समारोहमा लगाउने गाउन लिएर पोखरा फर्कंदै थिए।

भैरहवाबाट दीक्षान्त समारोहमा भाग लिन आएका र बस दुर्घटनामा घाइते भएका सचिन केसीका अनुसार चालकले मादक पदार्थ सेवन गरेका थिए। बस चलाउँदै गर्दा चालक सुतेकाले दुर्घटना भएको हो।   

‘म डाइभरको साइडमा थिएँ। डाइभर पूरै झ्यापमा थियो। रक्सीको गन्ध आइरहेको थियो। सुरुमा बोली लर्बरिएको थियो। होंचोहोंचो भएकाले बोली त्यस्तै होला भन्ने लाग्यो तर त्यसो रहेनछ। भोला (सूर्तिजन्य पदार्थ) खायो, त्यसपछि मलाई उसले मापसे गरेको भन्ने थाहा भयो’, उनले भने,‘ एकछिनपछि ऊ गाडीमा यत्तिकै सुत्यो। सुतेपछि ऊ (संगीता क्षेत्री) चिच्यायो, ऊ चिच्याउँदै दाइ के गरेको? किन सुतेको दाइ? भन्यो । त्यति भन्न नपाउँदै गाडी कोल्टिइ सकेको थियो।’ 

सचिनका अनुसार गाडीले दुई–तीन बल्ड्याङ खायो। पल्टने क्रममा ड्राइभर  सचिन र संगीतामाथि परे। होसमा रहेका सचिन र संगीताले दुर्घटना भयो भन्दा पनि ड्राइभर उठेनन्। 

‘गाडी दुई–तीन बल्ड्याङ खाँदै पल्टियो। ऊ (चालक) पनि च्यापिएको थियो म पनि च्यापिएको थिएँ। दाइ उठ्नु न उठ्नु भनेपछि त्यो डाइभर हँ भन्दै उठ्यो उठेपछि लास्टमा हेर्नु त दाइ तपाईंले गाडी फाल्नुभयो भन्दा ऊ फेरि सुत्यो,’सचिनले घटनाको बेलिबिस्तार लगाए।

दुर्घटनापछि चालक बिजेश बास्तोला र सहचालक मनबहादुर कुमाल प्रहरी नियन्त्रणमा रहेका छन्।

  

दुर्घटनालगत्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पाठकले गाडी चढ्दा यात्रुहरुले चालकको अवस्थाबारे ख्याल गर्नुपर्ने बताएका छन्।  

चालको हाउभाउ हेर्न र उसले फरक व्यवहार देखाएको छ भने प्रहरी वा ट्राफिक प्रहरीलाई तत्काल फोन गर्न उनले यात्रुसँग आग्रह पनि गरे। घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .