ad ad

गण्डकी


फुटबल भइरहेकै मैदानमा हेलिकोप्टर झार्न दबाब दिएपछि...

‘सिभिल एभिएसनले रिलिज नगरेसम्म मैले हेलिकोप्टर उडाउन पाउँदिनँ’
फुटबल भइरहेकै मैदानमा हेलिकोप्टर झार्न दबाब दिएपछि...

रनेश डंगोलले अस्ट्रेलियाबाट हेलिकोप्टर उडाउने तालिम लिए


वाशुदेव मिश्र
माघ १२, २०७९ बिहिबार ८:१९, पाेखरा

रनेश डंगोलले अस्ट्रेलियाबाट हेलिकोप्टर उडाउने तालिम लिए। अमेरिका पुगेर थप ज्ञान हासिल गरे। पाइलट बनेसँगै १४ वर्षअघि उनी नेपाल फर्किए।

देश द्वन्द्वमा थियो। द्वन्द्वग्रस्त क्षेत्रमा हेलिकोप्टर लैजाने काम। जतिबेला जे पनि हुनसक्ने अवस्था! तर, उनले हिम्मत हारेनन्। दूरदराजका गाउँमा हेलिकोप्टर पुर्याए। नागरिकलाई सेवा दिए। 

२०७२ सालम भूकम्प गयो। उनी उद्धारमा खटिए।

‘भूकम्पको बेला धादिङबाट मैले धेरै मान्छेको उद्धार गरेँ, कतिको ज्यान बचाएँ–बचाएँ,’ नेपालखबरसँग उनले भने, ‘अघिल्लो वर्ष म्याग्दीमा बाढीपहिरो जाँदा उद्धारमा खटिने मै थिएँ, सेनाको हेलिकोप्टर जान नसकेको ठाउँमा उद्धारको लागि मै पुगेँ। कसैलाई ताकम, कसैलाई दरबाङ ल्याएँ।’

प्रभु एयरको हेलिकोप्टर उडाउने रनेशसँग दूरदराजका गाउँहरुमा पुगेको, संकटको बेला उद्धारमा खटिएका अनेकौं किस्सा छन्।

पेसा नै सही, उनले कैयौंको ज्यान बचाएका छन्। उनले सम्झेको पछिल्लो घटनाकै कुरा गरौँ न! करिब चार वर्षअघि वालिङमै करेन्ट लागेर एक व्यक्ति चार तलामाथिबाट खसे। अवस्था चिन्ताजनक थियो। हेलिकोप्टर गुहारियो।

संयोगले त्यहाँ हेलिकोप्टर लिएर पुग्ने पाइलट रनेश नै थिए। उनले घाइतेलाई काठमाडौंको ग्रान्डी अस्पताल पुर्‍याए। पाँच मिनेटमात्र ढिला भएको भए अवस्था जे पनि हुनसक्थ्यो। तर, समयमै पुगेकाले घाइते बाँचे।

उपचारमा संलग्न डाक्टरले रनेशको प्रशंसा गर्दै भने, ‘तपाईंले समयमै बिरामीलाई यहाँ ल्याइदिनुभयो र ऊ बच्यो, नत्र अवस्था जटिल थियो।’

वालिङ त्यही हो। गण्डकीको ‘गुलाबी सहर’सँगको त्यो साइनो अहिले दुर्घटनामा बदलिएको छ। त्यही गुलाबी सहर जाँदा कुटपिट बेहोरेका रनेश यतिबेला सुन्निएको अनुहार र आँखा वरपर नीलो घाउ लिएर हिँडिरहेका छन्।

माघ ५ गते उनी हेलिकोप्टर लिएर वालिङतिर जानुपर्ने भयो। एन–एएलएक्स हेलिकोप्टरमा विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी र सुशील थापा गरी चारजना यात्रु थिए। रनेशका अनुसार उनीहरुले मादक पदार्थ पिएका त थिए तर व्यवहार राम्रै थियो। पुरानो विमानस्थलमा यात्रुहरुको सुरक्षा जाँच भयो। उनी उडे।

आकाशमा पुगेपछि उनीहरुले वालिङमा जारी फुटबल हेर्न जान लागेको र आयोजक नै आफूहरु भएको बताए। यात्रुहरुले रनेशलाई आकाशबाटै आफ्नो घर, ठेक्कामा लिएको खोलाहरु देखाए र आफन्तलाई छतमा निस्केर हात हल्लाउन लगाए। अनि हेलिकोप्टर फुटबल भइरहेको मैदानमै झार्न दबाब दिए। 

‘मैले लास्टमा पनि फुटबल ग्राउन्डमा ल्यान्ड नगरौँ भनेको हो तर उनीहरुले केही हुँदैन भने,’ रनेशले घटनाको बेलिबिस्तार लगाउँदै भने, ‘त्यसपछि मैले मैदानको छेउमा जहाज ल्यान्ड गरेँ। ल्यान्ड गरेपछि प्यासेन्जरलाई झार्नुपर्‍यो। जहाजको इन्जिन अन नै थियो। त्यहाँ हावा आउँछ। पखेटा हुन्छ। यात्रुको सुरक्षाका लागि म हेलिकोप्टरबाट झरेँ। ४ जनामध्ये एकजना मसँगै फर्कनेवाला थिए। तीनजनालाई झारेपछि मैले उनीहरुलाई तपाईं उता जानुहोस्, म फर्कन्छु भनेको थिएँ। त्यत्तिकैमा मान्छेहरु आए र ड्याङ कि ड्याङ हाने। १५–२० जनाले, कसैले पन्च हाने, कसैले किक हाने। कुटाइबाट अहिले मेरो बायाँ आँखामा घाउ भएको छ। आँखा नै देख्दिनँ, धमिलो भएको छ, कान पनि राम्रोसँग सुनेको छैन। शरीर दुखेको छ।’

खासमा खेल हुँदै गरेको मैदानमा हेलिकोप्टर किन झारेको भन्दै उनलाई स्थानीयले हातपात गरेका थिए। रनेश घाइते भए। घाइते रनेशलाई फुटबल आयोजकहरुले तपाईं गइहाल्नुहोस् भने।

‘सिभिल एभिएसनको नियमअनुसार कफ सिरप खाँदा पनि उड्न मिल्दैन,’ रनेशले भने, ‘मैले घाइते भएकाले उड्न मिल्दैन भनेको त फेरि तपाईं उडिहाल्नुहोस् भनेर जोड गरे। ज्यान बचाउनु थियो। हेलिकोप्टरको इन्जिन स्टार्ट नै थियो। जसोतसो म पोखरा आइपुगेँ। मान्छेले भगवान् भन्थे, अहिले मैमाथि आक्रमण भयो।’

घाइते अवस्थामा हेलिकोप्टर उडाएको अभियोगमा नागरिक उड्डयन प्राधिकरणले अहिले उनीविरुद्माध कारबाही गरेको छ। उनलाई हेलिकोप्टर उडाउनबाट बञ्चित गरिएको छ।

‘सिभिल एभिएसनले ग्राउन्डेड गर्दिएको छ। तैँले घाइते भएर किन हेलिकोप्टर उडाइस् भनेको छ,’ उनले भने, ‘उसले रिलिज नगरेसम्म मैले हेलिकोप्टर उडाउन पाउँदिनँ।’

वालिङमा भएको घटनाले राष्ट्रिय चर्चा पायो। पाइलटलाई हातपात भएको भोलिपल्ट फुटबल आयोजक वालिङ युनाइटेड क्लब र प्रभु हेलिकोप्टरबीच सहमति गरियो। प्रभुका स्टेसन म्यानेजर सुजन जोशी र वालिङ युनाइटेडका अध्यक्ष लालबहादुर ज्वारचनबीच भएको सहमतिमा वालिङ नगरपालिकाका मेयर कृष्ण खाँण रोहवरमा बसे।

घाइते पाइलट रनेशको उपचार खर्च आयोजकले बेहोर्ने, हातपात गर्नेहरुको पहिचान गरी सार्वजनिक रुपमा क्षमायाचना गर्न लगाउने, खेल समापनका दिन रनेशलाई सम्मान गर्ने, हेलिकोप्टर भाडामा ल्याउने र हातपात गर्नेलाई क्लब स्वयंले कारबाही गर्ने सहमति गरियो।

घटनाप्रति दुवै पक्षले कुनै रिसइवी नराख्ने र सहमतिपछि कतै कुनै उजुरबाजुर नगर्ने बुँदा पनि सहमतिपत्रमा राखियो। तर, रनेशले कम्पनीले गरेको सहमतिमा असहमति जनाएका छन्। हातपात गर्नेविरुद्ध कानुनी कारबाही गरिनुपर्ने उनको माग छ।

‘म अस्पतालमा थिएँ, मेरो अफिसको मान्छेले गएर रनेश डंगोलको जतिपनि खर्च आउँछ, त्यो आयोजकले बेहोर्ने र मलाई सम्मान गर्ने भनेछन् तर यसमा मेरो सहमति छैन,’ उनले भने, ‘आक्रमण गर्नेविरुद्ध कारबाही गरिनुपर्छ, मेरो अफिसले गरेको सहमति आधिकारिक हैन, म पो पीडित हो त।’

ड्युटीमा भएको पाइलटलाई  हातपात गर्नु जघन्य अपराध भएको उनको जिकिर छ।

खेल भएको मैदानमा ल्यान्ड गर्न हुँदैनथ्यो र तपाईंंले स्थानीय प्रशासनसँग समन्वय नगरको भन्ने छ नि भन्ने जिज्ञासामा उनको उत्तर छ, ‘यात्रुको जोडबलले त्यहाँ झारेको हो, छेउमा। सामान्यतया हामी यात्रुले दिएको लोकेसनका आधारमै जान्छौँ र ठाउँ हेरेर ल्यान्ड गर्छौँ। मविरुद्ध जुन आक्रमण भयो त्यो गलत थियो र आक्रमणकारीलाई कारबाही हुनुपर्छ भन्ने मेरो माग हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .