ad ad

गण्डकी


मन्त्रालय घटाएका गण्डकीका मुख्यमन्त्री भागबन्डा मिलाउन काठमाडौंतिर

मन्त्रालय घटाएका गण्डकीका मुख्यमन्त्री भागबन्डा मिलाउन काठमाडौंतिर

नेपालखबर
माघ ९, २०७९ सोमबार १८:१३, पाेखरा

गण्डकीमा सातवटा मात्र मन्त्रालय बनाउने सहमति जुटाएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी सोमबार अपरान्ह काठमाडौं लागेका छन्।

पुस २५ गते तीनजना बिनाविभागीय मन्त्रीसहित शपथ लिएका अधिकारी शीर्ष नेतृत्वसँग मन्त्रालय बाँडफाटको सहमति जुटाउन काठमाडौं गएको उनी निकट स्रोतले बताएको छ।

काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। 

सत्ता गठबन्धनमा रहेका एमाले, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सातवटा मन्त्रालय बनाउने सहमति जुटेपनि कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न सकेको छैन। खासगरी एमालेले भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राख्न खोजेको छ भने माओवादी केन्द्र र राप्रपाले पनि सो मन्त्रालयमा दाबी गरिरहेका छन्।

ठूलो बजेट चलाउने मन्त्रालयको दाबीबाट माओवादी केन्द्र टसमस नहुँदा मन्त्रिपरिषद् बिस्तार र जिम्मेवारी बाँडफाट हुन सकेको छैन। यसैगरी मन्त्रालयको विषयमा पनि अझै सहमति नजुटेको स्रोतले बतायो।

सात मन्त्रालय कायम भएसँगै एमालेले ४, माओवादीले २ र राप्रपाले एउटा मन्त्रालय लिनुपर्ने एमालेको तर्क छ। माओवादीले भने थप मन्त्रालयको माग गरिरहेको छ।

‘यी सबै विषयहरु शीर्ष नेतृत्वलाई जानकारी गराउने र उतैबाट सहमति जुटाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने ध्येयले मुख्यमन्त्रीज्यू काठमाडौं जानुभएको हो,’उनी निकट स्रोतले भन्यो, ‘माथिबाट सहमति आउनासाथ सम्भवत्ः मंगलबार मन्त्रिपरिषद्ले पूर्णता पाउँछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .