गण्डकी


भुल्न कठिन त्यो त्रासदी

भुल्न कठिन त्यो त्रासदी

दुर्घटनापछि यतीको जहाजको भग्नावशेष


रामबहादुर थापा
माघ ५, २०७९ बिहिबार १३:३०, गण्डकी

शिशिरको पारिलो घाममा छोरी सेक्दै थिइन्-  लक्ष्मी गिरी। बुधबार दिन घमाइलो भए पनि उनको मन छ्याङ्ग छैन। पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहेकी छैनन्।

आँखै सामुन्ने जहाज खसेको दुःखान्त दृश्यले उनलाई घरिघरी झस्काउँछ। मनमा अझै डरले घर गरेको छ। ‘सम्झँदा पनि कहाली लाग्छ- मुटु ढक्क फुल्छ’, ३९ वर्षीया गिरीले भनिन्, ‘घरमाथिबाट ढल्किँदै आएको जहाज एक्कासि बजारियो र आगो लाग्यो।’ 

माघे सङ्क्रान्तिका दिन बिहान गिरी आँगनमा ६ महिनाकी छोरीलाई दूध खुवाउँदै थिइन्। बुबा बेल पनि घरमै थिए। ठूली छोरी इरिस्ना साथीसँग खेल्न गइकी थिइन्। 

त्यही बेला ठूलो र डरलाग्दो आवाज लक्ष्मीका कानमा पर्‍यो। माथितिर हेर्दा जहाज घरमै छोइएला जसरी आइरहेको थियो। छिनभरमै जहाज गिरीको घरदेखि सय मिटरअघिको जमिनमा धसिँदै सेतीखोँचमा खस्यो। 

‘जहाज खसेपछि आगो लाग्यो, धुँवाको कालो मुस्लो निस्कियो, कता जाने, के गर्ने होसहवास गुमेजस्तो भयो’, उनले सुनाइन्, ‘काखकी छोरी लिएर बुबासँगै घरछेउको आलुबारीतिर भागेँ।’ जीवनमा पहिलोपटक यति ठूलो घटना देखेकी गिरीले अहिले कुनै सिनेमाको दृश्यझैँ लाग्ने गरेको बताइन्।

‘मुस्ताङतिर, जहाज दुर्घटनाबारे मोबाइलमा हेरिन्थ्यो, सुनिन्थ्यो’, उनले भनिन्, ‘अहिले आफ्नै आँखाअघि देखियो, सोच्दा पनि डर लाग्छ, हातखुट्टा काँप्छ।’ गिरी दुर्घटनालगत्तै घटनास्थल नजिक जान पनि सकिनन्। दिनैभर छोरीहरु साथमा लिएर घरभित्रै बसिन्। बिस्तारै डर मत्थर हुँदै गए पनि मन अझै हलुका हुन नसकेको गिरीको भनाइ छ। उनका छिमेकी पनि उक्त घटनाबाट त्रस्त छन्। 

घारिपाटन, नागबेली टोलकी सीता विक पनि जहाज खस्ने बेला घरमै थिइन्। बिहान मन्दिर गएर फर्केपछि परिवारमा खाना खाने सुरसार चल्दै थियो। अकस्मात् ठूलो आवाज आयो। त्यतिञ्जेल विकले जहाज हो भन्ने पनि पत्तो पाइनन्। 

‘भूइँचालो गएजस्तो भएको थियो, बाहिर निस्कँदा त जहाज खसेर आगो लाइसकेको रहेछ, वरिपरी धुँवाधुलो छाएको थियो’, उनले भनिन्, ‘होसै गुमेजस्तो, न बोल्न सक्ने, न खाने अवस्था भयो, घरैअघि भएकाले होला अझै पनि डर लाग्छ, यो घटना कहिल्यै बिर्सन नसकिने भइयो।’ विकको घरअघिको बाँसघारीलाई पछाडिको भागले लछार्दै जहाज खोँचमा खसेको थियो। माथिबाट खस्दा जहाज ठोक्किएको जमिन धस्सिएको छ। 

रुख र बुट्यान मासिएका छन्। आगलागीले घाँस र पत्कर नष्ट गरेको छ। जहाजका भग्नावशेष, यात्रुका जलेका लुगाफाटा र सामग्री छरपस्ट देखिन्छन्। दुर्घटनास्थल यसै उजाड र उराठलाग्दो छ। दुर्घटना भएको ठाउँ हेर्न आउने मानिस पनि उत्तिकै हुन्छन्। बाहिरकालाई घटनास्थल हेर्ने कौतुहल भए पनि आसपासका बासिन्दालाई भने त्यही ठाउँले त्रासदीपूर्ण घटनाको सम्झना गराइदिन्छ। पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले आफ्नो जीवनकालमा यति ठूलो बीभत्स दुर्घटना कहिल्यै नदेखेको बताए। 

‘जहाज खसेको १० मिनेटमै घटनास्थल पुगेको थिएँ, अवस्था दर्दनाक थियो, हेर्दाहेर्दै यात्रुहरु जले, जीवित उद्धारको प्रयास विफल भयो’, उनले भने। उद्धारमा सबै स्रोतसाधन लगाउँदा पनि कसैलाई बचाउन नसकिएको वडाध्यक्ष बानियाँले बताए। झाडीसहित खोल्साखाल्सी भएको गहिरो खोँचमा जहाज खसेका कारण उद्धार जटिल बनेको थियो। 

वडाको पहलमा दुर्घटनास्थल वरपरका बासिन्दालाई शुक्रबार मनोपरामर्श दिने तयारी भइरहेको वडाध्यक्ष बानियाँको भनाइ छ। 

‘दुर्घटनाले कसैलाई मनोवैज्ञानिक असर परेको हुनसक्छ, त्रास रहिरहेको हुनसक्छ’, उनले भने, ‘इच्छुक र आवश्यक परेका व्यक्तिलाई राखेर दुई घण्टा मनोपरामर्श दिदैँ छौँ।’ जहाज दुर्घटनाबारे सत्यतथ्य थाहा पाउन धेरै मानिस उत्सुक रहेको वडाध्यक्ष बानियाँले बताए।

‘के कारणले गर्दा जहाज दुर्घटना भयो होला भनेर मानिसहरु कुराकानी गरिरहेका भेटिन्छन्, अनेक खाले अनुमान लगाउँछन्’, उनले भने, ‘आशा गरौँ विमान दुर्घटनाको कारण पत्ता लाग्नेछ र फेरिफेरि यस्तो दुर्घटना हुनेछैन।’ 

दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका छन् भने एकजनाको खोजी तथा उद्धार जारी रहेको  कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए। उनका अनुसार फेला परेकामध्ये २२ शव पोखरामै शव परीक्षण गरी परिवारजनलाई बुझाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad