ad ad

गण्डकी


पर्या–पर्यटन : जलजलाका नयाँ गन्तव्यहरू

पर्या–पर्यटन : जलजलाका नयाँ गन्तव्यहरू

सुमनजङ्ग थापा
कात्तिक १७, २०७९ बिहिबार १८:५४, कुश्मा

सहरको भिडभाड र मन भुलाउन बनाइएका कृत्रिम संरचना छाडेर केही दिनलाई प्रकृतिमा रमाउँ भन्ने चाहनुहुन्छ? त्यसो भए तपाईंका लागि पर्वतको जलजला गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्छ। 

गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वका ठाउँ धेरै छन्। तर, ती गन्तव्यको सही पहिचान र उचित प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेका छन्। ‘जैविक विविधताले भरिपूर्ण र अनेकौँ प्रजातिका चराचुरुङ्गी, जनावर, रुखबिरुवा र क्षेत्र पर्या–पर्यटन तथा धार्मिक पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्य हो।’

पर्यावरणीय पर्यटनका लागि गाउँपालिकाले गन्तब्य पहिचानको काम पूरा गरिसकेको छ। कास्कीको बिरेठाँटीदेखि म्याग्दीको घोरेपानी, मोहरेडाँडा र पुनहिलसम्म जाने अन्नपूर्ण सर्किटको एक पदमार्ग यही जलजला क्षेत्रमा पर्छ। त्यस्तै माछामासु नखाने गाउँ, सुन्तलाको बगैँचाले ढाकेको गाउँ, मगर जातिको कला, संस्कृति र उनीहरुले सञ्चालन गर्ने पाहुना घर यस पालिकाका विशेषता हुन्। यहाँको कालञ्जर पहाड, ऐतिहासिक मल्लाज दरबार र दर्जन बढी हिमशृङ्खला अवलोकन गर्न सकिने फलामेडाँडासहितका गन्तव्य पर्यटकको पर्खाइमा छन्। 

‘कुश्माको अर्मादीदेखि सजिलै गाडीमा बनौँसम्म पुग्न सकिन्छ र त्यहाँबाट तीन वटा जिल्ला पर्वत, बागलुङ र म्याग्दीको सदरमुकामलाई टाउको नहल्लाई एकसाथ देख्न सकिन्छ’, बनौँका वडाध्यक्ष गौबहादुर पुनले भने, ‘यही बाटो हुँदै कालञ्जर पहाड पुगेर एकसाथ १० जिल्लालाई नियाल्न पनि सकिन्छ।’

कालञ्जर पर्वत

हिन्दू धर्मग्रन्थमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको क्षेत्र हो, ‘कालञ्जर पर्वत’। अहिले हम्पालको नामले पनि चिन्ने गरिएको छ। समुन्द्री सतहदेखि कालञ्जर पर्वत तीन हजारदेखि ३५ सय मिटरको उचाइमा छ। हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको हम्पाल क्षेत्रको धेरै भूभाग जलजला गाउँपालिकाको लेकफाँट र शालिजामा फैलिएको छ।

पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको यस ठाउँबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लुलगायत १६ भन्दा बढी हिमाल देख्न सकिन्छ। त्यति मात्र नभएर पर्वत बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङसहित १० जिल्लाको अवलोकन गर्न सकिन्छ। 

‘यस ठाउँमा फराकिलो र ठूलो दह छ, यहाँको पानीलाई एकीकृत गरेर ताल निर्माण गर्न सकियो भने पर्यटनको क्षेत्रमा समग्र जिल्लाले नै फड्को मार्ने देखिन्छ’, जलजला गाउँपालिकाका प्रवक्ता हरिविकास जीसीले भने, ‘जाडो मौसममा यस ठाउँ पूरै हिउँले ढाकिने हुँदा विदेशमा जस्तो हिउँमा खेलिने स्केटिङलगायतका खेल यहाँ खेल्न सकिन्छ। अन्य मौसममा चाहिँ डुङ्गा सयर गर्दै प्रकृतिको आन्नद उठाउन सकिन्छ।’

फलामे डाँडा 

पर्यटकको पर्खाइमा बसिरहेको गन्तब्य हो फलामेडाँडा। समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको सो ठाउँमा झण्डै १२ हेक्टर समथर जमिन छ। पहाडको टुप्पोमा समथर फाँट रहेको फलामे डाँडाबाट आँखै अगाडि हातैले छोइएला जस्तोे सेता हिमालका लोभलाग्दो दृश्य देख्न सकिन्छ। यहाँबाटसमेत धौलागिरि, अन्नपूर्ण, गुर्जा, निलगिरिलगायतका हिमाल र पहाडी भूगोलको मनोरम दृश्यले मनलाई आनन्दित बनाउँछ।

गर्मी महिनामा पनि चिसो वातावरण हुने भएको हुँदा छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँदेखि पर्यटकहरु यहाँसम्म पुग्ने गर्छन्। कच्ची सडकका कारण यात्रा केही असहज हुने गरेको पर्यटकहरु सुनाउँछन्।

‘मिलनचोकदेखि गाडीमा आउँदा जम्मा आधा घण्टाको बाटो हो’, स्थानीय सोम पुर्जाले भने, ‘कच्ची सडकले गर्दा डेढ घण्टा जस्तो लाग्ने गर्छ। बर्खामा चाहिँ गाडी गुड्न धेरै नै समस्या हुन्छ। अप्ठ्यारो बाटो हँदा समेत एक रात बस्ने र बिहान हिमाल हेर्ने गरेर पर्यटक आउने गर्छन्।’

अहिले यहाँ सामुदायिक पाहुनाघर सञ्चालनमा पनि ल्याइएको छ। करबाकेली पदमार्ग समेत रहेको हुँदा पुनहिल, घोडेपानी पुग्ने पाहुनालाई खान र बस्न सहजताका लागि स्थानीय बासिन्दाले सामुदायिक पाहुनाघर बनाएका हुन्। 

मल्लाज दरबार 

लामो समयदेखि खण्डहर जस्तै रहेको दरबार मर्मतसम्भार पछि रिसोर्टका रूपमा विकास भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आइपुग्ने गरेका छन्। नेपाली सेनाका तत्कालीन कर्णेल तेजबम मल्लले १९१८ सालमा मल्लाज दरबारको निर्माण गरेका थिए। अहिले उनका पनाति मुकुन्द मल्लले दरबारको पुर्ननिर्माण गरेका हुन्। 

‘मल्लाज गाउँ र मल्लाज दरबारका बारेमा देशभरि थाहा पाउन मद्दत पुग्ने भएकाले दरबारलाई रिसोर्टका रूपमा पनि विकास गरेको हुँ’, उनले भने। उनका अनुसार दरबारको ऐतिहासिक महत्व बचाइराख्न पनि रिसोर्ट सञ्चालनले थप सहयोग पुर्‍याएको छ। 

राणाकालमा राजा सुरेन्द्रविक्रम शाहले कर्णेल तेजबमलाई उल्लेखनीय कार्य गरेको भन्दै ‘त्यस क्षेत्रको राज्य गर्नु’ भनी करिब ५० रोपनी क्षेत्रफलको जग्गा विर्ताका रूपमा दिएका थिए। कर्णेल तेजबमले सोही समय करिब २२ रोपनी क्षेत्रफलमा यस दरबारको निर्माण गराएका हुन्। 

उनको मृत्युपछि पछिल्लो पुस्ता यहाँ बसेनन्। जनयुद्धको समय दरबारमा तोडफोडसमेत गरिएको थियो। त्यतिबेला नै दरबारभित्र रहेका खुँडा, तरबार, बन्दुक, ढाल गोलीगठ्ठालगायतका ऐतिहासिक एवम् पुरातात्विक महत्त्वका सामग्री चोरी भएको थियो। मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक यहाँ आइरहेको भेटिन्छन्। बेनी पुग्ने मुख्य सडकबाट ३० मिनेटको कच्ची सडकको यात्रापछि मल्लाज दरबार पुग्न सकिने भएकाले पनि मुस्ताङ हिँडेका पर्यटक एक रात दरबारमै बसेर बिहानीपख बाटो लाग्ने गरेका छन्। 

बराहताल

जलजला–२ पूर्णगाउँको एकान्त ठाउँमा रहेको बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ। करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि हिमाल छ। 

 जनैपूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ। यहाँ पूजाआजा र भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास छ। हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ। 

सदरमुकाम बेनीदेखि मल्लाज हुँदै करीब डेढ घण्टा उकालो हिँडेपछि बराहताल पुगिन्छ। यस ताल अंग्रेजी अक्षरको सी आकारमा फैलिएको छ। यस तालको पानी कहिल्यै नसुक्ने भएकाले गाउँलेले खानेपानी तथा सिँचाइका लागि प्रयोग गरिरहेका छन्।

‘यो ताल मानव निर्मित नभई प्राकृतिक हो। पछि तालको संरक्षण गर्न तारबार लगाउने काम भएको छ’, स्थानीय युवा नवीन जीसीले भने, ‘तालको बीचमा रहेको रुख र जल बराह देउताको मूर्तिमा पूजाआज हुँदै आएको छ। ताल क्षेत्रमा आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा यसको सौन्दर्य र विशेषता गाउँमै सीमित बनेको छ।’

बाँसर्खकको सुन्तला 

बाँसखर्कलाई सुन्तलाको पकेट क्षेत्रका रूपमा लिने गरिन्छ। सुन्तलाकै कारण समग्र पर्वतलाई सुन्तलाको जिल्ला समेत भनेर चिन्ने गरिन्छ। यहाँको सुन्तलाको माग देशभरबाट उच्च छ। ढिलो समयसम्म पनि बोटमा रहने मीठो स्वाद भएका कारण बाँसखर्कको सुन्तलाको माग बजारमा बढी हुने गरेको कृषक बताउँछन्।

‘अन्य ठाउँको सुन्तला पाकेर सकिने बेला यहाँको सुन्तला पाक्न सुरु गर्छ’, कृषि ज्ञान केन्द्र पर्वतका कृषि प्रसार अधिकृत विश्वास काफ्लेले भने, ‘१० मेट्रिकटन प्रतिहेक्टरभन्दा माथि सुन्तला उत्पादन हुन्छ।’

यहाँको मुख्य जीविकोपार्जनको आधार नै सुन्तलाखेती हो। वर्षमा झन्डै रु चार करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ। बाँसखर्कमा जम्मा दुई सय ६१ घर रहेकामा दुई सय बढी घरहरूले सुन्तलाखेती गरिरहेको जलजला गाउँपालिकाको भनाइ छ।

सुन्तला बेच्ने मात्र नभएर पर्यटनसँग पनि जोडन सकिने कुरा कुश्माका युवा पर्यटन व्यवसायी नरेन्द्र केसीले बताए।

‘सुन्तलाको बोटहरुको जंगल नै छ’, उनले भने, ‘अहिले व्यापारी गाउँमा आउने र सुन्तला खरिद गरेर लैजाने काम मात्र भाको छ। हामीले यहाँको सुन्तलालाई पर्यटनसँग जोड्न सकेका छैनौँ। विदेशमा हुन्थ्यो भने ‘सुन्तला पर्यटन’ भनेर हजारौँ पर्यटक भित्र्याइसकेका हुन्थे।’

माछा, मासु नखाने गाउँ 

माछा, मासु नखाने उपल्लो नाङलिवाङ गाउँमा धार्मिक तथा सांस्कृतिक पर्यटक भित्र्याउन सकिने सम्भावना देखिन्छ। यहाँका ४५ घरधुरीले माछा, मासु खान मात्र होइन पालेका समेत छैनन्। त्यति मात्र नभएर उनीहरुले लसुन र प्याज खान त परै जाओस्, खेतीसमेत गरेका छैनन्। 

पहिले ऋषिमुनीहरुले तपस्या गर्ने स्थल भएकाले यस गाउँलाई शालिग्रामधाम भनेर पनि चिन्निछ। धार्मिक तथा सांस्कृतिक महत्त्व जोडिएकाले धेरै वर्षअघिदेखि मासुविनाको सात्विक भोजन गरिरहेको गाउँलेको भनाइ छ। अन्यत्र ठाउँबाट विवाहबारी गरी यस ठाउँमा आएका बुहारीहरुले माछा, मासुदेखि प्याज लसुन सबै त्याग्नुपर्ने हुन्छ। आधुनिकतासँगै हुर्केका पछिल्लो पुस्ताका युवालेसमेत यस परम्परागत मूल्य र मान्यतालाई आत्मसात् गरेका छन्। 

स्थानीय हिन्दू धर्मभित्रको वैष्णव सम्प्रदायसँग नजिक छन्।

‘हिन्दू धर्म, संस्कृति र परम्परालाई नजिकबाट बुझ्न र अध्यन गर्न चाहनेहरुका लागि यस माछा मासु नखाने गाउँ धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ’, स्थानीय अग्रज डण्डपाणि उपाध्यायले भने। 

जलजला गाउँपालिकाले पर्यटकीय सम्भावना बोकेका गन्तव्यलाई राष्ट्रिय रूपमा चिनाउन म्याराथन दौड प्रतियोगिता राख्ने योजना बनाएको छ।

‘हाम्रोमा पर्यटकीय नयाँ गन्तव्य धेरै छन्, तर त्यसको प्रचार गर्न सकिरहेका छैनौँ’, गाउँपालिकाका अध्यक्ष राजु आचार्यले भने, ‘पर्यटनलाई सघाउन नेपालभरिका खेलाडीहरु ल्याएर म्याराथन दौड गर्दै छौँ, यसले राष्ट्रिय स्तरमै प्रचारप्रसारमा सहयोग पुग्छ भन्ने विश्वास छ।’ रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .