ad ad

गण्डकी


पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

नेपालखबर
असोज ६, २०७९ बिहिबार ९:२९, काठमाडौँ

बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ।

ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ। गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ। झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताए। उनले गाउँपालिकाले अझै बढी पर्यटक भित्र्याउन झरना वरपर थप पूर्वाधार निर्माण गर्नुपर्ने बताए। 

चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक पर्यटक आउने गरेको घर्ती बताउँछन्।

“पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्, यसले स्थानीयलाई उत्साहित बनाएको छ”, उनले भने। 

वार्षिक करिब २२ हजार बढी पर्यटक भित्रिने गरेको भन्दै यस वर्ष लामो वर्षा हुँदा कम कम आएको उनले बताए।

“यस्तो ठाउँमा पर्यटक आउलान् भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थाले कि झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै बढीलाई भित्र्याउन सकिन्थ्यो होला”, घर्तीले भने। 

गुल्मीको भुवाचिदीबाट घुम्न आएका आकाश पौडेलले सामाजिक सञ्जालमा गाईघाट झरनाको फोटो देखेको र निकै सुन्दर लागेर घुम्न आएको बताए।

“यसभन्दा अगाडि मेरा साथीहरु घुम्न आएका थिए, उनीहरुले राम्रो राम्रो फोटो खिचेर लगेका थिए, मैले पनि सामाजिक सञ्जालमा धेरै फोटो देखेको थिएँ, त्यही भएर घुम्न आएको निकै सुन्दर रैछ झरना, निकै आनन्द आयो घुम्न”, उनले भने। 

ताराखोला गाउँपालिका–१ का अध्यक्ष यमबहादुर श्रीषले आगन्तुकलाई आकर्षित गर्न झरनाको फेदमा पौडिने पोखरी, त्यस वरपर बगैँचा र विश्रामस्थल निर्माण गरेको बताए।

“झरना आकर्षक छ, जनप्रतिनिधिका रुपमा आएदेखि यसको विकास र प्रवर्द्धनमा लागेका थियौँ, अहिले पनि लागिरहेका छौँ”, अध्यक्ष श्रीषले भने, “झरना वरपर बगैँचा निर्माण गरेका छौँ, फेदमा पौडी खेल्न मिल्ने पोखरी बनाएका छौँ, अन्य संरचना पनि बिस्तारै बनाउने तयारीमा छौँ।”

गत साउनमा ताराखोलामा आएको ठूलो बाढीले सडकदेखि झरना पुग्ने पुल बगाउँदा अहिले आगन्तुकलाई समस्या भएको छ। पुल निर्माणका लागि गाउँपालिकाले यस वर्ष रु २० लाख विनियोजन गरेको र प्रदेश सरकारसँग थप बजेट माग गरेर यसै वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने अध्यक्ष श्रीषले बताए। 

“बर्खामा पनि पर्यटकको आगमन उल्लेख्य थियो, साउनमा खोलाले पुल बगाइदियो, त्यसपछि झरना अवलोकन गर्न आउने आगन्तुकलाई समस्या भयो, अहिले फड्के हालेर वारपार गर्ने व्यवस्था त मिलाएका छौँ तर त्यो जोखिमपूर्ण छ”, अध्यक्ष श्रीषले भने, “यहाँ पुल निर्माणका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको छ, प्रदेश सरकारसँग पनि केही बजेट माग गरेर यसै वर्ष पुल निर्माण गर्ने योजना छ, जति सक्दो पर्यटकलाई भित्र्याउने प्रयासमा हामी छौँ।” रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .