ad ad

गण्डकी


अन्नपूर्ण आधार शिविरमा पदयात्राका लागि अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक

अन्नपूर्ण आधार शिविरमा पदयात्राका लागि अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक

वासुदेव पौडेल
भदौ १९, २०७९ आइतबार २०:५१, गण्डकी

कोरोना कहरका कारण दुई वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ। पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अस्ट्रेलिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन्। आगामी यामका लागि अग्रिम बुकिङ आउन थालेको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिए। 

पछिल्ला समय अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि बस्न खान उपयुक्त सुविधा सम्पन्न पूर्वाधार बनिरहेको बताउँदै उनले यहाँ आउने पर्यटक सहज रूपमा यस क्षेत्रको पदयात्रा गर्न सक्ने जानकारी दिए। चार दशक अघिसम्म यस क्षेत्रको पदयात्रा गर्न यहाँका भेडीगोठका साथै स्थानीयले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियाे। तर अहिले सुविधा सम्पन्न होटेल बनेको र बर्सेनि पूर्वाधार थपिने क्रम बढिरहेको उनले जानकारी दिए। हाल सिनुवाभन्दा माथि नयाँ सातवटा होटेल थपिइसकेका छन् भने अन्य चारवटा बन्ने क्रममा छन्।

अघिल्लो वर्षसम्म सो पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटल चलेकामा हाल ती स्थानमा होटलसहितका पूर्वाधार थपिएको पर्यटन व्यवसायी एवम् समाजसेवी ललित गुरुङले जानकारी दिए। अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० द्वारा विसं २०४३ देखि संरक्षण भइरहेको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार विगतमा प्रत्येक होटलमा छ का दरले एक सय ५६ कोठा थिए।

पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै उक्त क्षेत्रमा होटलको क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले चार वर्ष अघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको थियो। गाउँपालिका वडा नं १० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थप लगायत विषयमा अध्ययन गरेको थियो। सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए। अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो।

कोरोना कहर अघिसम्म पर्यटकको राम्रो चाप हुने गरेको यस पदयात्रा मार्गमा आगामी दिनमा पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशा गरिएको छ। उक्त क्षेत्रका पर्यटन व्यवसायी पनि पदमार्गलाई थप व्यवस्थित गर्नेतर्फ सक्रिय बनेका छन्। स्थानीय सक्रियतामा पदमार्गसँग जोडिएका धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षणलाई जोड दिँदै पदमार्ग क्षेत्रको दोभान र हिमालयको बीचमा पूजनीयम बराहको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको सचिव गुरुङले जानकारी दिए। 

अन्नपूर्ण पदमार्ग क्षेत्र र यहाँ आउने पदयात्रीलाई पुजनीम् बराहले रक्षा गर्ने विश्वासका साथ पदयात्रामा जाँदा र आउँदा फूल चढाएर हिड्ने प्राचीन परम्परा कायमै छ। कठिन भौगोलिक अवस्थितिमा समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा रहेको यहाँको मन्दिर निर्माणका लागि हालसम्म ५५ लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ। सेप्टेम्बर १५ बाट सुरु हुने यामका लागि अग्रिम बुकिङ फाट्टफुट्ट आउन थालेको ट्रेकिङ एजेन्सिज एसाेसिएसन (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए। 

आगामी दिनमा पर्यटनमा सकारात्मक आशा पलाए पनि बाटोघाटो तथा पर्यटकको बसाइ लम्ब्याउन सक्ने किसिमका पूर्वाधारको अझै कमी रहेको उहाँले बताए। बिग्रे भत्केका सडकमार्गका साथै उडानमार्ग सहज तथा सुलभ बन्न नसक्नु आदि अझै पनि चुनौतीका रुपमा रहेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .