तनहुँको भानु नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ।
बिहीबारदेखि सुरु नगरसभामा उपप्रमुख उमा गोतामेले आगामी आर्थिक वर्षका लागि उक्त अनुमाति बजेट प्रस्तुत गरेकी हुन्।
सार्वजनिक बजेटमध्ये सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १५ करोड ६५ लाख, सशर्त चालू अनुदान ३७ करोड आठ लाख, सशर्त पुँजीगत एक करोड ३९ लाख, विशेष अनुदान एक करोड ५० लाख, समपूरक अनुदान दुई करोड २० लाख, सङ्घीय राजस्व बाँडफाँटबाट १२ करोड ५७ लाख ६३ हजार आम्दानी हुने अनुमान छ।
प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण अनुदान एक करोड ८८ लाख, राजस्व बाँडफाँटबाट एक करोड २२ लाख १५ हजार, प्रदेश समपूरक एक करोड प्राप्त हुने नगरपालिकाको अनुमान छ।
नगरपालिकाले चालू आर्थिक वर्षको असार ८ गतेसम्म ५३ करोड ४३ लाख २१ हजार अर्थात् ५२.६९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। कूल खर्चमध्ये चालूतर्फ ३६ करोड ८३ लाख ४६ हजार ६१० र पुँजीगततर्फ १६ करोड ५७ लाख ७५ हजार रहेको नगरपालिकाले जनाएको छ।
नगरवासीलाई घरमै सेवा पु¥याउने र कर भुक्तानीलाई सरल, सहज र प्रविधिमैत्री बनाउन चालू आवदेखि नै मालपोत तथा सम्पत्ति कर मोबाइलबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए।
नौ स्थानीय तहको बजेट आज
जिल्लाका नौ स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि आज बजेट प्रस्तुत गर्ने भएको छ। जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकाले आज एकैसाथ बजेट प्रस्तुत गर्न लागेका हुन्। भानु नगरपालिकाले बिहीबार नै बजेट सार्वजनिक गरिसकेको छ।
जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकाले बजेट प्रस्तुत गर्ने गर्दछ। व्यासले एक अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। नगरपालिकाले आज पहिलो सत्रमा वार्षिक नीति तथा कार्यक्रम र दोस्रो शत्रमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो।
आँबुखैरेनी गाउँपालिकाले पनि बजेट, नीति तथा कार्यक्रम एकैसाथ प्रस्तुत गर्ने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो। जिल्लाका भीमाद, शुक्लागण्डकी ऋषिङ, बन्दीपुर, घिरिङ गाउँपालिकाले शुक्रबार एकैसाथ बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। देवघाट र म्याग्दे गाउँपालिकाले भने नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने आज बजेट प्रस्तुत गर्नेछन्।
जिल्लाका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ। चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत उक्त रकम विनियोजन गरेको अर्थमन्त्रालयले जनाएको छ। चार नगरपालिकाका लागि दुई अर्ब ४५ करोड ५७ लाख र छ गाउँपालिकाका लागि एक अर्ब ८९ करोड ३० लाख बजेट विनियोजन भएको छ।
भानु नगरपालिकाका लागि चालूतर्फ ५२ करोड ७३ लाख र पुँजीगततर्फ पाँच करोड नौ लाख गरी कूल ५७ करोड ८२ लाख, भिमाद नगरपालिकाका लागि चालूतर्फ ३९ करोड ६१ लाख र पुँजीगततर्फ चार करोड ९७ लाख गरी कूल ४४ करोड ५८ लाख, व्यास नगरपालिकाका लागि चालूतर्फ ७१ करोड ३९ लाख र पुँजीगततर्फ १४ करोड ३८ लाख गरी कूल ८५ करोड ७७ लाख र शुक्लागण्डकी नगरपालिकाका लागि चालूतर्फ ४८ करोड २३ लाख र पुँजीगततर्फ नौ करोड १७ लाख गरी कूल ५७ करोड ४० लाख विनियोजन भएको छ।
आँबुखैरेनी गाउँपालिकाका लागि चालूतर्फ २५ करोड ३४ लाख र पुँजीगततर्फ तीन करोड एक लाख गरी कूल २८ करोड ३५ लाख, ऋषिङ गाउँपालिकाका लागि चालूतर्फ ३२ करोड ८३ लाख र पुँजीगततर्फ एक करोड ८१ लाख गरी कूल ३४ करोड ६४ लाख, घिरिङ गाउँपालिकाका लागि चालूतर्फ २४ करोड ९६ लाख र पुँजीगततर्फ तीन करोड ८१ लाख गरी कूल २८ करोड ७७ लाख विनियोजन भएको छ।
देवघाट गाउँपािलकाका लागि चालूतर्फ २८ करोड ६४ लाख र पुँजीगततर्फ दुई करोड ८६ लाख गरी कूल ३१ करोड ५० लाख, म्याग्दे गाउँपालिकाका लागि चालूतर्फ २७ करोड ७९ लाख र पुँजीगततर्फ चार करोड ७४ लाख गरी कूल ३२ करोड ५३ र बन्दीपुर गाउँपालिकाका लागि चालूतर्फ २७ करोड ४९ लाख र पुँजीगततर्फ छ करोड दुई लाख गरी कूल ३३ करोड ५१ लाख बजेट विनियोजन भएको छ।
Shares

प्रतिक्रिया