कारोबार


मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने

मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने

नेपालखबर
असार १०, २०७९ शुक्रबार १२:४०, काठमाडौँ

मधेश प्रदेशको धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ।

बीमा समितिले बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा यही असार ९ गते (हिजो) मुखियापट्टी मुसहरनिया गाउँपालिका, तुल्सीयाहीजब्दीमा आयोजना गरेको बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले त्यस्तो जानकारी दिएका हुन्।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका अध्यक्ष यादवले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने कार्यक्रम समावेश गरिएको र यसलाई आगामी बजेटमा राखेर कार्यान्वयनमा लैजाने जानकारी दिए।
उनले किसानहरूले अझै पनि कृषि तथा पशुपन्छी बीमा गर्न नपाएको र बीमा गरेका किसानले पनि दाबी पाउन नसकेको उल्लेख गर्दै गाउँपालिकामा बीमा कम्पनीका शाखा कार्यालयहरु विस्तार गर्न तथा बीमा दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो तुल्याउनका लागि आवश्यक व्यवस्था गर्न बीमा समितिसँग आग्रह गरे।

कार्यक्रमको सभापतित्व गर्नुहुँदै बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, महत्व, बीमा गर्ने तथा दाबी भुक्तानी पाउने तरिका, बीमाको पहुँच विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा जानकारी दिएका थिए।

निर्देशक लालले किसानहरुले गाउँपालिकामा नै सहज किसिमले कृषि तथा पशुपन्छी बीमा गर्न पाउने र बीमा दाबी भुक्तानी पनि विनाढिलाई समयमै पाउने व्यवस्था गर्न बीमा समिति प्रतिवद्ध रहेको उल्लेख गर्दै दावी भुक्तानी समयमै नपाए वा बीमा सम्बन्धी कुनै समस्या परे समितिलाई जानकारी गराउन आग्रह गरे।

कार्यक्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य तथा कर्मचारी, विभिन्न बीमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधि र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिरूका साथै कृषक, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad