संगीतको धुनले मान्छेको मात्र होइन, चिम्पाञ्जीको मुटु पनि पगाल्ने र संगीतको तालमा उनीहरु पनि नाच्न मन पराउने एक नयाँ अनुसन्धानले पत्ता लगाएको छ।
जापानमा वैज्ञानिकहरुले गरेको एक अनुसन्धानमा पियानोको धुनसँगै चिम्पाञ्जीले ताली बजाउने, खुट्टा हल्लाउने र कम्मर मर्काउने गरेको पाइएको थियो।
हालसम्म नाचलाई मानिसमा मात्र पाइने गुणको रुपमा लिइँदै आएको थियो।
तर, अनुसन्धानमा सामेल गराइएका सबै सात चिम्पाञ्जी नाच्न मन पराएका थिए।
यो खोजले हाम्रा पुर्खाहरु कसरी संगीतको तालमा नाच्न सुरु गरे भन्ने पत्ता लगाउन सहयोग गर्ने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्।
यो अनुसन्धान क्योटो युनिभर्सिटीमा गरिएको थियो। त्यहाँ सात वटा चिम्पाञ्जीलाई ६ दिनसम्म दुई–दुई मिनेटको ६ वटा पियानोको धुन सुनाइएको थियो।
ती कुनै पनि चिम्पाञ्जीलाई नाच्न सिकाइएको थिएन। तर, केही दिनपछि नै संगीत सुरु हुनेबित्तिकै चिम्पाञ्जीहरु संगीतको तालमा नाच्न थाले।
‘चिम्पाञ्जी पनि केही हदसम्म मान्छेजस्तै नाच्छन्,’ प्रमुख अनुसन्धाता डा. युको हत्तोरी भन्छन्।
पोथी चिम्पाञ्जीभन्दा भालेहरु धेरैबेरसम्म नाच्न मन पराउने अनुसन्धानमा देखिएको थियो।
यो रिपोर्ट प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित छ। एजेन्सी
प्रतिक्रिया