इन्टरनेशनल इण्डियन फिल्म अवार्ड (आईफा) नेपालमा गर्ने मन्त्रिपरिषदको निर्णयपछि यो कार्यक्रम राजधानीको कुन ‘भेन्यु’ मा होला भन्ने विषयमा व्यापक चर्चा–परिचर्चा सुरु भएको छ।
यो कार्यक्रम सेनाको मुख्यालय भद्रकालीमा रहेको फुटबल मैदानमा गर्ने तयारी हुँदै गरेको समाचार बाहिर आएपछि यो विषयले जङ्गी अड्डामा समेत तरङ्ग सिर्जना गरेको छ।
समारोहको संयोजक गरिरहेको नेपाल पर्यटन बोर्ड ‘आईफा’ को टोलीले सम्भावित स्थानको अवलोकन गर्दा सैनिक मुख्यालयमा रहेको खेलकुद मैदान उपयुक्त ठहराएको बताउँछ। पर्यटन बोर्डका अधिकारीहरुका भनाईमा, समारोहका लागि ‘आईफा’ ले सो मैदानमा राख्न एउटा डोम ल्याउनेछ, जुन करिब ५ हजार मानिस अट्ने क्षमताको हुनेछ।
‘आईफा’ आयोजनाका लागि बनेको समितिका एक सदस्यका अनुसार, ‘आइफा’ सम्बद्ध उच्च अधिकारीहरु करिव दुई महिनाअघि नै काठमाडौंँ आएका थिए। तिनमा ‘आईफा’ प्रमुख कार्यकारी अधिकृत (सिईओ) उपाध्यक्ष, प्राविधिक टोली लगायतले काठमाडौँमा सम्भावित ३ स्थान अवलोकन गरेका थिए।
टोलीले अवलोकन गरेका स्थानहरु थिए, हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालय, भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा रहेको खेलकुद मैदान र टुँडिखेल।
यसको पुष्टि समितिका सदस्य एवं चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले पनि गरे। ‘हो, उहाँहरुले यी ३ स्थानको अवलोकन गर्नुभएको थियो’ उनले भने, ‘तीनमध्ये सेनाको मुख्यालयमा रहेको खेलकुद मैदान समारोहका लागि उत्तम हुने निर्णय सुनाउनुभयो।’
‘आईफा’ को संयोजन गरिरहेको पर्यटन बोर्ड र समितिको कुरा मान्ने हो भने समारोह सैनिक मुख्यालयमै गर्ने तयारी भइरहेको बुझ्न सकिन्छ। स्रोतका अनुसार यस विषयमा प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको कुरा मिलिसकेको छ।
तर, नेपाली सेनाका अधिकारी भने मुख्यालयमा आईफा समारोह गर्नेबारे आफूहरुलाई कुनै जानकारी नआएको बताउँछन्। यसबारे हालसम्म सैनिक अधिकारीहरुबीच कुनै छलफलसमेत भएको छैन।
स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार पर्यटन बोर्डको संयोजनमा सेना, ‘आईफा’ का प्रतिनिधि र बोर्डका सिईओ दीपक जोशीलगायतको टोलीसँग दुई महिनाअघि समारोहबारे छलफल भएको थियो।
एक सैनिक उच्च अधिकारी भन्छन्, ‘भिजिट नेपाल– २०२०’ लाई लक्ष्यित गरेर नेपालमा ‘आईफा अवार्ड’ गर्न लागेकाले सहयोग गरिदिन आग्रह गर्दै उहाँहरु आउनुभएको थियो। कुराकानी पनि भयो। तर, सैनिक मुख्यालयमा नै समारोह गर्नेबारे कुनै कुरा वा सहमति भएको होइन।’
ती अधिकारीका भनाईमा, त्यतिबेला टुँडिखेलमा समारोह गर्ने भन्नेबारे भने छलफल भएको थियो। ‘हामीले यस्ता कार्यक्रमहरु टुँडिखेलमा गर्दै आइरहेका छौँ भन्यौँ’ ती अधिकारीले थपे, ‘उहाँहरु पनि सकारात्मक हुनुभयो। र, हामीले पर्यटन प्रबद्र्धनका लागि गर्ने कार्यक्रममा सक्दो सहयोग गर्ने बतायौँ। भएको कुरा यत्तिमात्र हो।’
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने ‘आईफा’ समारोह सैनिक मुख्यालयमा गर्ने विषयमा आफू अनविज्ञ रहेको बर्ताए। यस विषयमा सेनाभित्र कुनै छलफलसमेत नभएको उनको दाबी समेत उनले गरे।
तर, दुई महिनाअघि आईफा र पर्यटन बोर्डको टोलीसँग छलफल भएको भने उनले स्वीकार गरे। ‘छलफल त भएको हो तर, मुख्यालयको खेलकुद मैदानमा नै समारोह गर्नेबारे कुनै सहमति भएको होइन’ उनले थपे, ‘बरु तपाईंले भनेजस्तै टुँडिखेलमा गर्ने कुरा मैले पनि सुनेको हुँ।’
मुख्यालयमा कार्यक्रम गर्न पहिले प्रस्ताव राख्नुपर्ने र त्यसपछि मुख्यालयले स्वीकृत गर्नुपर्ने बताउँदै पाण्डेले अहिलेसम्म यो प्रक्रिया नै सुरु नभएको जानकारी दिए।
उता सरकारद्धारा गठित समितिका जिम्मेवार सदस्य भने सिधै रक्षा मन्त्रालयबाट जङ्गी अड्डालाई उसको कम्पाउण्ड उपलब्ध गराउन निर्देशन दिने बताउँछन्। समितिका ती सदस्य भन्छन्, ‘रक्षा मन्त्रालय मार्फत् उहाँहरुको माथिल्लो तहमा कुरा भइसकेको छ। यदि समारोह नेपालमा भयो भने सेनाको खेलकुद मैदानमै हुन्छ, ढुक्क हुनुस्।’
प्रतिक्रिया