अहिले गायक रामकृष्ण ढकाल चर्चामा छन्। तर कुनै गीतका कारण होइन।
प्रकाश सुवेदीको शो ‘रजतपट’मा उनले खुलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको सम्बन्धका कारण गायक ढकाल विवादमा फसेका हुन्।
खासमा जेनजी आन्दोलनका बेला नक्खु कारागारबाट बाहिरिने क्रममा रविले आफूले रामकृष्णले पठाएको गाडी चढेको बताएका थिए। त्यो कुरा गायक रामकृष्णले ‘रजतपट’ कार्यक्रममा स्वीकार गरेका हुन्।
पत्रकार सुवेदीसँग उनले आफूहरू मिल्ने साथी रहेको सुनाउँदै त्यसबेला रवि चढेको गाडी आफूले नै हाँकेको बताएका हुन्।
त्यही कुराले यतिखेर रामकृष्ण ढकाल सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा परेका हुन्।
यतिसम्म कि रामकृष्णले निर्माण गरेको डेब्यु फिल्म ‘मालती मंगले’लाई बहिष्कार गर्ने अभियान नै चलाइएको छ। यो फिल्म यही वैशाख २५ गते रिलिज गर्ने तयारी छ।
यसैबिच बुधबार फिल्म ‘मालती मंगले’को प्रिमियर समारोह थियो। जहाँ पुगे- पूर्वगृहमन्त्रीसमेत रहेका रवि पनि। अनि गरे- साथी ढकालको बचाउ।

लामिछानेले भने, ‘कसैलाई के भनेर रमाइलो लाग्छ, कसैलाई के भनेर रमाइलो लाग्छ। त्यसो भनेर रमाइलो मान्नेहरूलाई रमाइलो मान्न दिनुहोस्। एउटा मूर्धन्य कलाकार, जसले बाल्यकालदेखि आजसम्म संगीतको साधना गर्यो। आफ्नो आवाज, मेहनत र परिश्रमले संसारभरि नाम र प्रतिष्ठा कमाएको व्यक्तिलाई एउटा घटनाका आधारमा अपमानित गर्न पाउँदा कोही खुसी हुन्छन् भने उनीहरूलाई खुसी हुन दिनुहोस्, केही फरक पर्दैन।’
लामिछाने धेरै समयपछि फिल्मको प्रिमियरमा सहभागी भएका हुन्। साथै उनले रामकृष्ण ढकाल इतिहासले मेटाउन नसक्ने एउटा अमर नामसमेत भन्न भ्याए। र, फिल्म राम्रो बनेको प्रतिक्रिया दिए।
‘रामकृष्ण ढकाल भनेको इतिहासले मेटाउन नसक्ने एउटा अमर नाम हो। त्यस्तो अमर नाममा कसैले हिलो छ्याप्दा कसैलाई खुसी मिल्छ भने खुसी हुन् दिनुहोस्। र, एउटा कुरा- रामकृष्ण ढकाल एक घामले सुक्ने तलाउ होइनन्। रामकृष्ण ढकालले घाम, पानी, हुरी, झरी, आँधी सबै भोगेको छ। सानातिना घटनाले विचलित हुने रामकृष्ण ढकालको चरित्र होइन’, लामिछाने भन्दै थिए, ‘मैले धेरै पछाडि चलचित्र हेर्ने मौका पाएँ। यो चलचित्र निकै राम्रो छ। कमेडी पनि छ, इमोसनल पनि छ, कलाकारहरूको अभिनय तथा संवाद पनि राम्रो छ। मज्जाले हेर्नुहोस्।’
Shares

प्रतिक्रिया