कला


फिल्म ‘महाभोज’ हेरेपछि प्रचण्डको अपिल: आजको पुस्ताले एकपटक अवश्य हेरेर गहिरो भाव बुझून्

फिल्म ‘महाभोज’ हेरेपछि प्रचण्डको अपिल: आजको पुस्ताले एकपटक अवश्य हेरेर गहिरो भाव बुझून्

महाभोज फिल्म हेर्दै प्रचण्डलगायत नेता। तस्बिर : रत्न श्रेष्ठ/रासस


नेपालखबर
साउन ५, २०८२ सोमबार ६:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समयपछि आइतबार हलमा गएर फिल्म हेरेका छन्। 

पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार काठमाडौँको सिटी सेन्टर हलमा गएर ‘महाभोज’ चलचित्र हेरेका हुन्।

फिल्म निकै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लागेको उनले बताएका छन्। 

महाभोज हेरेपछि उनले लेखेका छन्, ‘त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। ‘यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ’ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ।’

यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यलाई प्रचण्डले मनदेखि धन्यवाद भनेका छन्। 

साथै उनले अगाडि लेखेका छन्, ‘आजको पुस्ताले यो चलचित्र एकपटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ।’

फिल्म हेर्न प्रचण्डसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वउपराष्ट्रपति वर्षमान पुन, नेताहरू पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङलगायत पनि गएका थिए।

दिनेश राउत निर्देशित महाभोजमा दुई पूर्वमाओवादी लडाकु शान्ति प्रक्रियामा आएर सहकारीमार्फत आर्थिक क्रान्तिमा अघि बढेको कथा छ। यो फिल्मलाई सहकारीपीडितले मन पराएका छन्। 

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad