सन् ९० को दशकको झझल्को दिने आफ्नो पहिलो म्युजिक भिडियो ‘तिम्रो रुपले’ बाट चर्चा कमाउन सफल गायक सम्राट न्यौपानेले आफ्नो दोस्रो म्युजिक भिडियो ‘बान्नोमा’ सार्वजनिक गरेका छन्। नेपाल आइडल सिजन २ मा टप २० सम्म आफ्नो स्थान बनाउन सफल गायक न्यौपानेले उक्त रियालिटी शोमा आफ्नो गायन कलाले धेरैको मन जितेका थिए।
बान्नो शब्द नेपालको पश्चिम भेग तिर बोलिने बोलीचालीको शब्द हो जसको अर्थ पर्खाल हुन्छ। थिम्याटिक भर्सनको ‘बान्नोमा’ बोलको गीत बाध्यताले बिदेशिनु परेका लाखौँ नेपालीहरुमा समर्पित छ। म्युजिक भिडियोमा भर्खरै बिवाह गरेका एक मायालु नव विवाहित दम्पतिको कथा देख्न पाइन्छ। विवाह पश्चात जिम्मेवारी र दायित्व बढ्ने हुँदा श्रीमतीको दिमागले श्रीमान विदेश गए हुन्थ्यो भन्ने लाग्छ। उनले तेस्मा भोलिको सुन्दर भविश्य देख्छिन। तर दिलले भन्छ श्रीमान् विदेश नगए हुन्थ्यो।
विदेश जाने दिन निश्चित भए पछि तेसअघिको रात जुन श्रीमान श्रीमतीले छट्पट ,अनिदो र रोएर बिताउँछन् त्यो दृश्य भिडियोमा एकदम कारुणिक तरिकाले प्रस्तुत गरिएको छ। विदेश जानको लागि गरगहना बेच्नुपर्ने अवस्था, श्रीमतीले श्रीमानलाई एयरपोर्टमा बिदाई गर्दाकोअवस्थाका दृश्य सबै मन छुने छ। छुट्टिए पश्चात दुबैलेसँगै बिताएका सुन्दर पलहरु श्रीमतीले घरको बान्नोमा र श्रीमानले प्लेनको सिटमा बसेर सम्झना गरिएको देख्न सकिन्छ। साईली गीत पछिको यो म्युजिक भिडियोलाई एक उत्कृस्ट गीत मान्न सकिन्छ।
गीतमा स्वर र संगीत सम्राट न्यौपानेको रहेको छ भने सम्राट स्वयमले गीतको संगीत संयोजन गरेका हुन्। गीतका मनछुने शब्द सरोज केसीले लेखेका हुन्। भिडियोमा सम्राटका आफ्नै दाजु सौरभ न्यौपाने र भावना उप्रेतीको जिवन्त अभिनय देख्न सकिन्छ। पवन सुस्लिङ्गले छायांकन गरेको भिडियोलाई पवन स्वयमले सम्पादन गरेका हुन्। सौरभ न्यौपानेको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो।
गीत र भिडियोबाट आफु निकै आशावादी रहेको र दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको दुई दाजुभाई सौरभ र सम्राटले बताएका छन्।

प्रतिक्रिया