यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध सांगीतिक समूह लेकाली–परिवारको प्रस्तुति हुने भएको छ। यसका निम्ति लामो समयदेखि सामूहिक प्रस्तुतिबाट टाढा बसेका लेकालीका तीन सदस्यहरू नेपालयको ‘आर’शालामा जुटेका छन्। झण्डै आधा शताब्दी पहिलेका दिनहरू सम्झँदै गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ एक अर्काको स्वरमा स्वर मिलाइरहेका छन्।
लेकाली–परिवार विसं २०२४ सालमा स्थापना भएको सांगीतिक समूह हो। भोजपुरका दुई युवा गणेश रसिक र हिरण्य भोजपुरेको परिचय काठमाडौं आएपछि मात्र भएको हुन्छ। संगीतको रुचिले उनीहरूको सम्बन्धलाई बिस्तारै नजिक बनाउँदै लान्छ। शुरुमा ‘राल्फा परिवार’मा सक्रिय रहेका गणेश रसिक ‘राल्फा’बाट भरखरै बहिरिएका हुन्छन्। सामुहिक संगतले अघि बढ्ने सांगीतिक कलाकर्मीको मोहमा परेका ती युवाहरू अभावकै बीचमा पनि नयाँ सांगीतक गोरेटो कोर्ने प्रयत्नमा हुन्छन्। उर्मिला श्रेष्ठ काठमाडौं त्यौड टोलकी स्थानीय बासिन्दा हुन्छिन्। उनकै पुर्ख्यौली घर परिवार ती युवाहरूको जमघट थलो हुन्छ र त्यहीँ जन्मन्छ ‘लेकाली(परिवार’। लेकालीमा निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीन किशोरहरू पनि संलग्न हुन्छन्।
विसं २०२५ सालको अन्तिमतिर लेकाली परिवारले महेन्द्र पुलिस क्लबमा ‘छहाराको गीत’ शीर्षक दिएर आफ्नो औपचारिक शुरुवात गरेको थियो। कार्यक्रममा गाइएका ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’ ‘ए है है’, ‘काफल पाक्यो’, गीतहरूले निक्कै चर्चा कमाएका थिए। त्यही कार्यक्रमबाट लेकालीले आफ्नो छुट्टै पहिचान स्थापना गर्न थालेको हो। सोही कार्यक्रमको चर्चापछि लेकालीलाई रेडियो नेपालको द्वार पनि पहिलेको भन्दा खुकुलो हुन थाल्छ। यिनीहरूका गीत देशैभरि गुन्जन थाल्छन्। लेकालीले पनि ‘राल्फा’ले झैँ आधुनिक, प्रयोगवादी र लोक आधारित गीतहरू सृजना गर्ने गरेका हुन्छन्। लेकालीले पूर्वी पाहाडको लोक शैलीलाई आधार बनाएर बनाएका गीतहरू झण्डै लोकगीतकै रुपमा स्थापित हुन थाल्छन्। गणेश रसिकले बनाएको ‘रातो भाले’ र हिरण्य भोजपुरेले बनाएको ‘झाँक्री गीत’लाई कतिपयले अहिले पनि लोकगीत नै सम्झन्छन् तर त्यस्ता गीतहरू लोकशैलीमा सृजना भएका मौलिक गीत नै थिए।
विगतको सृजनाकर्मको दिनहरू सम्झाउँदा गणेश रसिक भन्छन्, ‘हामी गोठाले जीवन बिताएका मान्छे राजधानी टेकेपछि तिनै गोठाले शब्दहरूलाई भाकामा गाइयो, सुन्नेले लोकगीतकै दर्जा दिए।’
लामो समयपछि लेकालीको नाममा फेरि मञ्चमा उपस्थित हुन पाउँदा उत्साहित बनेकी उर्मिला श्रेष्ठ भोजपुरे र रसिकतर्फ इसारा गर्दै थप्छिन्– ‘उहाँहरूले बनाएका गीतहरूले लोकगीतकै स्तरमा लोकप्रियता हासिल गर्नुमा ती गीतभित्र रहेको सामाजिक यथार्थताको चित्रणले गर्दा हो जस्तो लाग्छ।’
परिचित हाँस्यशैलीमा हिरण्य भोजपुरे थप्छन्, ‘यो उमेरमा आएर हामीले रचेका गीतको चर्चा गर्नुभन्दा पनि पलेँटीमा गाउने बेलामा तिनका हरफ सम्झनै मुस्किल होला जस्तो भइसक्यो याहाँ! कागज नै हेर्नु पर्ने अवस्थामा पुगिसक्यो हाम्रो सम्झना शक्ति! तर हामीलाई नाम र पहिचान भने यिनै गीतले दिएका हुन् है!’
उबेला लेकालीमा संलग्न रहेका कति जना कलाकारले संसारबाट बिदा लिइसके। कति विदेशमा छन्। कति वृद्ध र अशक्त भइसके। आउँदो पलेँटीमा भोजपुरे, रसिक र उर्मिलाले विगतका तिनै सहयात्रीसँगको संगतलाई सम्झना गर्नेछन्। गीत गुञ्जाउने छन्।
‘हामीसँग कुनै बेला सहयात्री कलाकारहरूको लामो लस्कर हुने गर्थ्यो तर समयले धेरै कोल्टे फेरिसक्यो। अहिले हामी तीनजनामात्र स्टेजमा निस्कँदै छौं। सांगीतिक कार्यक्रम हुनेबेला त उहिले पनि उत्साह हुन्थ्यो अहिले पनि छ। पलेँटीको माहोलसँग परिचित भएकोले झन् उत्साह थपिएको छ‘ भोजपुरे भन्दै थिए।
‘लेकाली हाम्रो आरम्भ थियो। यात्रामा कति काम गर्न छुटेका हुन्छन्, कति बिटमार्न। अब हामी हाम्रा सृजनात्मक कर्महरूलाई बिटमार्दै छौं कि जस्तो लाग्छ। यो कार्यक्रम पनि त्यही क्रमको थालनी हो कि!’ रसिक भावुक बन्दै थिए।
‘हामी सामुहिक गायनमा अभ्यस्त, यत्रो वर्षपछि स्टेजमा आउँदैछौं। कस्तो हुने भन्ने डर पनि छ। पलेँटीको माया लाग्दो प्रस्तावले राम्रै हुन्छ भन्ने पनि लाग्छ।‘ आउँदो कार्यक्रम बारे उर्मिलाको टिप्पणी थियो।
लेकाली–परिवारको पलेँटीमा चर्चित गायिका मीना निरौलाले पनि गायनमा साथ दिनेछिन्। मीना पलेँटीसँग लामो समयदेखि संलग्न रहेकी गायिका हुन्।
‘पलेँटी मार्फत् लेकाली–परिवारलाई वर्तमान समयमा सुन्न र सुनाउन पाउनु एउटा ऐतिहासिक सांगीतिक घटना हो। लेकालीले अंगालेको सांगीतिक बाटो नेपाली संगीत संसारको पृथक बाटो थियो। यसपालीको पलेँटीको अनुभव लिन पाउनु भनेको संगीतको माध्यमबाट नेपाली समाजको अध्ययन गर्न पाउनु पनि हो भन्ठान्छु’ पलेँटी संयोजक आभासले भने।
यही महिनाको १३ गते शुरु हुने लेकालीसँगको पलेँटी ३ दिनसम्म चल्ने छ। कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले लेकालीको सांगीतिक यात्राको सेरोफेरोमा रहेर लेकालीसँग संवाद पनि गर्नेछन्।
कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा लेकालीलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन्।
शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त–शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ।
कार्यक्रममा सहभागी हुनका निम्ति अनलाइन, फोन र ईमेलबाट टिकेट बुक गर्ने सुविधा रहेको जानकारी प्राप्त भएको छ। यही अगष्ट महिनाको, ३०, ३१ र सेप्टेम्बरको १ तारिखमा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर।शाला’मा प्रस्तुत हुनेछ।

प्रतिक्रिया