ad ad

कला


कोइलाको आगो (कथा)

कोइलाको आगो (कथा)

भोजराज रेग्मी मुखाले
असार ११, २०७८ शुक्रबार ११:११,

‘खै! यो पाराले किनार लाग्लाजस्तो देखिएन है, केही उपाय निकाल न हौ ल्यांग्रे मोरा हो!’– गुइँठेले दिक्दारी पोख्यो।

‘मधौरुले माड खाइदिए पो बेथा बिसेक हुन्थ्यो। हाम्रा बाउ र माउ नै मिल्न खोज्दैनन्, अनि क्यार्नु त नि! म त दिक्क भइसकेँ भन्या’– गोफ्लेले स्वाँट्ट चुरोट तानेर मास्तिर धूवाँ फ्याँक्यो ।

‘हाम्रै माउ पनि छाडा भएर यो भाँडभैलो भाको हो। घरमूली अलि कडा भए भन्दैमा रिसको झोँकमा छौँडा खेलाएरै हिँड्न त भएन नि! अरूका उलामालामा लागेर घरै भाँडेर छाडिन् माउले’, –लिखुरेले मनको वह पोख्यो– ‘अझ उनकै डाँको ठूलो!’

‘हामी एकाघरका जहान फुटेपछि बाक्लो दाल खाने त अलिदिन मात्रै हो बाबै! त्यसपछि त ऐलेसम्म हाम्लाई उल्क्याउने र काँधमा बोकेर थैथै गराउनेले थचार्दिन्छ भुइँमा। अनि खा बाबै केरा!’ –गुइँठेले भाइहरूलाई इख्याउने गरी तीतो पोख्यो।

‘त्यही त भन्या। अब एक झमट फेरि यी बूढाबूढीलाई एक्लै बात मार्न छोड्दिऊँ त, मन पलाइहाल्च कि!’ –घोइरेले अक्कल निकाल्यो।

अरूले पनि सही थापे।

मेलमिलापको वातावरण बनाउन नयाँ र रमणीय कोठा बन्दोबस्त गरे।

‘सङ्गीतले मन पलाउँछ। मधुरो आवाजमा धार्मिक भजन लाइदिनुपर्छ।’

‘हैन, रोमान्टिक गीत लाइदिनुपर्छ अनि पो मूड बन्छ त! तिमेरु कुरै बुझ्दैनौ।’

एकछिन तर्कवितर्कको दोहोरी चल्यो। यही कुराले फेरि अर्को लफडा होलाजस्तो लागेपछि दुवै धून बजाइदिने सर्वसम्मत निर्णय भयो।

बालाई फकाएर वार्तामा बसाउने जिम्मेवारी गुइँठेले पायो। माउलाई मनाउने ड्युटीमा घोइरे र जुठे खटिए।

बूढाबूढीलाई कोठामा हुलेर बाहिरबाट ताला ठोक्दिने, चियाखाजा, पानसुपारी झ्यालबाट दिने र वार्ताबाट सकारात्मक निष्कर्ष नआउन्जेल कुनै हालतमा दैलो नखोल्ने उर्दी सुनायो गुइँठेले।
सबैले पररर ताली बजाए ।
***

(भित्री कोठाको गोप्य दृश्य)
नक्कली भित्तोतिर फर्केर बसेकी छ। चङ्खे झ्यालबाट बाहिर हेरिरहेछ। दुवै चुपचाप छन्।

कोठामा पार्श्वसङ्गीत बजिरहेछ...

म त तिम्रो घनश्याम... तिमी मेरो राधा पियारी.....हाई...!!’
खोलावारि खोलापारि....पीपलु र वर....अ...अ...!!
हावा चल्यो पात हल्यो, माया वर...वर....!!’

धेरै बेर बित्यो, चाइँचुइँ छैन।

हल्का खोकी अघि लाएर चङ्खेको सानो बोली निस्क्यो– ‘धरहरा त यहाँबाट पो झन् काइदाले देखिँदो रै’छ ।’

नक्कलीले मुन्टो मात्रै घुमाएर पुलुक्क हेरी। चङ्खेले नक्कलीलाई घुरेर हे¥यो। एकछिन दुवैले हेराहेर गरे।

चङ्खेले पुराना दिन सम्झ्यो।
***

गाउँमै अर्मपर्म र मेलापात गर्दागर्दै चङ्खे र नक्कलीको माया बस्यो।

जिम्दारबाको आदेश र निर्देशनमा दुवैको लगनगाँठो कसियो।

चङ्खे अग्लो, खिरिलो र हिस्सी परेको। नक्कली डल्ली भए पनि निक्कै राम्री।

यिनको लोभलाग्दो जोडी देखेर दामलीहरू पनि डाहा गर्थे र जिस्क्याउँथे– ‘डण्डीबियोको जोडीले गाउँमा खुट्टै घुमायो नि गाँठे!’

‘डाह गरेर हुन्छ? हाम्रोजस्तो जोडी बाँधिन त खप्परमै लेखेर ल्याउनुपर्छ नि बाबै !’ –जिस्क्याउने र छेडखानी गर्नेलाई दिने जवाफ यस्तै हुन्थ्यो।

खानलाउनको दुःख थिएन। अलिअली ऋणपान भए पनि एकमानाको बन्दोबस्त थियो।

धर्मकर्मको चक्करमा लागेर थरिथरिका बाबाहरूको सत्सङ्गमा लागी नक्कली।

उसको रहनसहन बदलिँदै गयो। फुर्तीफार्ती ह्वात्तै बढेर गयो। घरव्यवहारमा पूरै बेवास्ता गर्न थाली।

बितेको बिग्रेको जति सप्पै दोष चङ्खेको टाउकोमा हाल्दिने। राम्रो जति घुमाइफिराइ आफैँले जस लिने।

यो सप्पै मेरो बाबाको आशीर्वादले हो भनेर गुड्डी हाँक्ने, कामको सिन्को नभाँच्ने।
***

‘लाटाले पापा हेर्‍याझैँ के क्वारक्वार्ती हेरिरा'को नि, कै'लै नदेखे जसरी!’ –नक्कलीले कर्के नजर लाउँदै थुतुनो बंग्याई।

‘हँ.....!!’ –चङ्खे झसङ्ग भएर सम्हालियो, ‘पुराना दिन सम्झेर एकहोरिएछु म त!’

‘उइलेका कुरा खुइले अब। ती दिन सम्झेर केही काम छैन अब! म जे भन्छु, खुरुखुरु मान्यौ भने घरव्यवहार सम्हालिन्छ, तिम्रा दिन पनि फिर्छन् नत्र भने....!’

चङ्खेको मन साह्रै विरक्तिएर आयो। घुम्दाघुम्दै आँखा नक्कलीका अनुहारमा गएर टाँसिए।

‘लौ! जुँगामुठेको सङ्गतले होला, छ महिनामै यो नखर्माउलीका त जुँगादाह्री नै आएछ नि झ्यापझ्याप्ती’ –चङ्खेको मनले भन्यो।

‘मेन कुरै, मर्मत फेरफार गरेर कामचलाउ भाको ज्यान खुस्किहाल्ला भनेको त झन् पो कथुरे भएछ! एकलौटी मोजमस्तीले होला लोइरे बूढोको त चुच्चे नाक पनि थेप्चिए छ नि, खुच्चिङ् !’ –नक्कलीको मन पनि के कम!
***

‘हैन, के यस्तो लुगा लाएर आकी तिमी? हैट्! मैले त ख्यालै पो नगरेको, यतिन्जेलसम्म।’

‘अब तिम्लाई मैले लगाको, खाको पनि मन पर्न छोडेपछि यस्तै हुन्छ।’

‘हुँदा–हुँदा अब त तिमी जेमा पनि निहुँ मात्रै खोज्छ्यौ। वानपिस लाएर आइरछ्यौ, अनि....?

‘साँच्चि! तिम्रो त्यो पाखुरामा केको दाग हो हँ? पैले त थिएन क्यार!!’

‘ट्याटु खोपेको पनि चिन्दैनौ? होलिवाइन बाबाको आशीर्वाद हो यो। अनि तिम्रो पनि त नाक बाङ्गो देख्छु, पैले त यस्तो थिएन नि?’

‘त्यही फुच्चे मोरो नागृता बाबु छ नि, किचकिच गरेर मार्न लाग्यो र काखमा राखेर फकाउँदै थिएँ, मोराले त तुर्क्याएछ। कान निमोठ्देको साँइदुवाले त मेरो नाकैमा टोकेर बाबुजी के कहबै भन्दै उल्टै धम्की दिँदै छ। दशा लाग्या बेला अनेक झन्झठ आइलाग्छ भन्या!’

‘खुच्चिङ! खितितिती...!’
***

(बाहिरको दृश्य)
‘हैन, वार्ता सुरु भाको तीन घण्टा भइसक्यो, आज टुङ्गो लाग्छ त? तपाईं के भन्नुहुन्छ? घोइरेजी!’ –एउटा घोर्ले स्यालले प्रश्न ग¥यो। कोरली, थोरे समेत अरुले पनि घेरिहाले।

‘सुन्दैनौ भित्रको खितितिती? भित्र रोमान्टिक मुडमा वार्ता भइरा’छ। पक्कै टुङ्गो लाग्छ।’

घोइरेको कूटनीतिक जवाफ सुनेर स्यालहरू तितरबितर भए।

(भित्रको दृश्य)
चङ्खेले हतास भावमा विषय प्रवेश गर्दै भन्यो–
‘भुराहरूले किचकिच गरेर मार्न लागिसके। अब यिनकै लागि भा’ पनि हामी नमिली धर छैन, बुझ्यौ?’

‘मलाई तिम्रो नाम, थर, अनुहार, लिङ्ग केही पनि मन पर्दैन। जबसम्म तिमीले मेरो माग पूरा गर्दैनौ तबसम्म मिल्ने गुन्जायस छैन’ - नक्कली कठोर देखिई।

‘तिम्रो नियतमै खोट छ, तैपनि भन न त तिम्रो खास माग चैँ के हो त?’ –चङ्खेले दलिनतिर नजर डुलाउँदै भन्यो।

नक्कलीले आफ्नै जिउको लुगा छामछुम गरी–
‘कहाँ राख्देर मुन्टिछ – छँडुलीले, हरायो कि क्या हो कुन्नि!’

झ्यालबाट बाहिरतिर चियाएर चिच्याई–
‘ए, झ्याउँकिरी! कता हाल्दिस् मेरो त्यो कागज? तुरुन्त मलाई दिइहाल् त, यहाँ तेरा बाउलाई देखाउन पर्‍यो रे क्या!’

बाहिर बसेर वार्ताको निष्कर्ष सुन्न आतुर भुराभुरी र एक बथान स्याल र फ्याउराहरू सल्बलाएर झ्यालतिर कुदे।

‘तिम्री प्यारी छोरी झ्याउँकिरी यहाँ छैन है। खुमलटारमा टिकटक बनाइरा’छे, तिम्रै कागज बोकेर’ –खुइलेले कुरो पुर्‍याएर जनाउ दियो।

‘गर्नु गरिछ, तिम्री छोरी नखर्माउलीले’ –नक्कलीले चङ्खेलाई कटाक्ष गर्दै भनी।

‘बनारसबाटै बोकेर ल्याको भुँडी यता आएर अनलोड गर्ने तिमी, अनि मलाई छेड हान्ने? हेप्नुको पनि हद नाघिसक्यौ तिमीले त!’

‘न्वारान त तिमीले नै गर्‍या हौ नि त’ –हितितिती गरेर हाँसी नक्कली।

‘उसबेला तिम्रो मायाले अन्धो थिएँ म। तिम्रै भरविश्वासमा न्वारान–पास्नी गर्दिएँ। ऐले आएर त्यसैले मेरा बाउको बिहे देखाइरा’की छ’ –चङ्खेले खुइय्य... गर्‍यो।

यत्तिकैमा नक्कलीको आइफोन करायो।

रिसिभ गरी– ‘प्रणाम जी! हाँ! चल रहा है!’

‘हाथ और बात निचे नही कर्ना! छोड्ना मत्! सम्झे ना? कोई भी फिकर नहीँ करो। तुम्हारे लिए मैं हुँ’ –उतैबाट फोन काटियो।

‘तिम्रा गोरुको बाह्रै टक्का किन भा रै’छ भन्ने कुरो त खरीदे बनियाँको फोनबाटै छ्याङ्गै भै’गो। अब मिलेर बस्ने कि छुट्टिने कुरोको टुङ्गो पनि आजै ऐलै गरिहालौँ। भुराभुरीहरू पनि दिक्कवाक्क भइसके’ –चङ्खे अल्लि कस्सियो।

‘तिम्ले भन्दैमा हुन्छ? तिम्रो टोपी मात्रै हैन, सुराल र कट्टु समेत फुकालेर पूरै नाङ्गै नपारीकन मेरो रिस मर्नेवाला छैन, बुझ्यौ? तिम्लाई मेरो पावर देखाउँछु र मात्रै आफ्नो बाटो लाग्छु’ –नक्कलीले रौद्ररूप देखाई।
***

(बाहिरको दृश्य)
एउटा फ्याउराले आफ्नो हातेघडी हेर्‍यो।

‘ओहो! राटिको साढे ९ बजिसकेछ । हैन, भित्रको वार्ता के हुँदै छ? अब त लास्टै ढिलो भो नि! ए, लिखुरेजी! झ्यालमा गएर यसो चाल बुझेर आउनोस् त!’ –नामअनुसारकै ज्यान देखेर फ्याउरोले हेपेर अह्रायो।

जीवनमरणको सवालको रूपमा हुँदै गरेको वार्ताको निष्कर्षको प्रतीक्षा र भोकतीर्खा समेतको थकाइले चूर भएको लिखुरेले फ्याउराको हेपाइ सहन सकेन, जाई लाग्यो। हात हालाहाल भो। वार्ताबाट बेपर्वाह जुठे झ्याउँकिरीको टिकटक हेर्दै थियो, फ्याउरे र लिखुरेको मिचाइमा पर्‍यो।

भित्रबाट अघि नै देखि ढोका ढक्ढकाई राख्या रै’छन्। सबै त्यतै ओइरिए।

नाकको पोरा फुलाउँदै बाहिर निस्केकी नक्कलीलाई एउटा घोर्ले स्यालले सोधिहाल्यो–
‘तपाईंहरू यत्राबेर निदाउनु भा’को थ्यो कि प्रेमालाप गर्दै हुनुहुन्थ्यो? अब मिल्ने हो कि छुट्टिने हो? तमाम भेडाबाख्राहरू जान्न चाहन्छन्।’

आफ्नो वानपिस घुँडामाथि उचाल्दै नक्कलीले खलक्कै खाउँलाझैँ गरेर भनी–
‘तँ जैरेलाई के खाँचो? मेरो गोरुको बाह्रै टक्काबाट म एक कौडी पनि छोड्दिनँ, बुझ्यौ? म भोलि नै माइत जान्छु, सल्लाह गर्छु। जे सल्लाह पाउँछु, त्यै अनुसार अगाडि बढ्छु।’

नक्कलीको जवाफबाट निराश बनेका भुरा र फ्याउराहरू अघि नै टाप कसिसकेको चङ्खेलाई खोज्न लागे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .