आफ्ना दुईमहिने छोरालाई कलेजो दान गर्ने बैतडीका महेश अवस्थीको जीवनमा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ।
छोरा शिवांश अवस्थीलाई भारतको चेन्नईस्थित डा. रेला अस्पतालमा लगेर आफ्नो कलेजो प्रत्यारोपण गराई बचाउने बाबुको वास्तविक कथामा म्युजिक भिडियो बनाइएको हो।
संगीतकार कमला सापकोटाका शब्द/संगीत रहेको ‘जिन्दगी’ गीतमा चर्चीत गायक निशान भट्टराईको स्वर छ।
महेश अवस्थीको मर्मस्पर्शी र कहालीलाग्दो संघर्षको कथाले आफूलाई गीत लेख्न उद्वेलित बनाएको संगीतकार सापकोटाले बताइन्। उनले भनिन्, ‘गीतमा छोरालाई बचाउन बाबाले गरेको अकल्पनीय संघर्षलाई प्रस्तुत गरेका छौं।’
समाजलाई उत्प्रेरणा दिने गीतमा स्वर दिन पाएकामा गर्व लागेको गायक भट्टराईले बताए। उनले भने, ‘स्टुडियोमा यो गीत रेकर्ड गर्दा नै म निकै भावुक भएको थिएँ। शब्द र संगीत उत्कृष्ट रहेको यो गीत गाउन पाउनु मेरा लागि एउटा अवसर हो।’
गीत निशानको व्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतबाट आउने सम्पूर्ण रोयल्टी शिवांशको उपचारका लागि सहयोग गर्ने गायक निशानले घोषणा गरेका छन्।
गीतको संगीत संयोजन हेमराज थापाले गरेका छन् भने युवराज वाइवाले म्युजिक भिडियो निर्देशन गरेका छन्। निर्देशक वाइवाले भने, ‘यो मेरा लागि अहिलेसम्मकै फरक काम हो। त्यसैले कोरोना कहरका बेला पनि जोखिम मोलेर निःशुल्क रूपमा यो भिडियो तयार पारेका हौं।’
भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई फिचरिङ गरिएको छ।
लकडाउनअघि श्रीमती र छोरालाई भारतको अस्पतालमै छाडेर व्यवहार मिलाउन नेपाल आएका महेश अझै फर्किन पाएका छैनन्।
उनका छोरा शिवांश जन्मिएको १४ दिनदेखि बिरामी परेका थिए । नेपालमा एक महिनासम्म आईसीयूमा राखेर उपचार गर्दा पनि निको नभएपछि मध्यम वर्गीय महेशले छोरालाई भारतमा पुर्याई आफ्नो कलेजो दान गर्दै करोडभन्दा बढी खर्च गरेर बचाएका हुन्।

प्रतिक्रिया